१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

माओवादी नेता एवं ककनी गाउँपालिकाका अध्यक्षले प्रश्न गर्नेमाथि लाती हाने (भिडियोसहित)


-प्रशान्तजंग पाण्डे

१० साउन, नुवाकोट । नेकपा माओवादी केन्द्रका नेता एवं नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले आफूमाथि प्रश्न गरेको भन्दै आफ्नै पालिकाका एक युवामाथि कोठा थुनेर लाती हानेका छन । ककनी गाउँपालिकको वडा नम्बर ४ का शंकर लामिछानेले प्रश्न सोधेबापत गाउँपालिका अध्यक्षको लाती खानुपरेको हो ।

रानीपाैवा बजारमा पीडितको पक्षमा प्रदर्शन गर्दै एमालेका नेता कार्यकर्ता ।

फेसबुकमा सेयर भएको अध्यक्षको एउटा समाचारमा प्रतिक्रिया जनाउँदै लामिछानेले आक्रोशपूर्ण प्रश्न गरेका थिए । तर त्यसको बदलमा गाउँपालिका अध्यक्षले तेस्रो व्यक्ति मार्फत लामिछानेलाई गाउँपालिकाको कार्यालयमा बोलाएर लाताले हानेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ । लामिछानेमाथि कुटपिटका साथै परिवारनै सिध्याइदिने भन्दै धम्की दिएको जाहेरीमा उल्लेख छ ।

लामिछानेले आइतबार गाउँपलिका प्रमुखसहित तीन जनाको विरूद्धमा इलाकाप्रहरी कार्यालय ककनीमा जाहेरी दिएका छन । उनको जाहेरीमा लामाका स्वकीय सचिव राजकुमार नेपालीले समेत गालामा दुइ थापप्पड हानेको उल्लेख छ । लामिछानेले पीडकहरूलाई कानुन अुनसार कारबाही गर्न माग गरेका छन ।

प्रहरीसँग कुरा गर्दै एमालेका नेताहरू।

पीडितको पक्षबाट जाहेरी दिन सहयोग गर्न नेकपा एमालेका नेताहरू आइतबार प्रहरी कार्यालय पुगेका थिए । नुवाकोट एमालेका सचिव काशिराज अधिकारीको नेतृत्वमा एमालेका झण्डै एक सय भन्दा बढी नेता कार्यकर्ता प्रहरी कार्यालयमा पुगेका थिए । अधिकारीले दोषी पहिचान गरी कारबाही गर्न माग गरे ।

प्रहरी कार्यालयमै पुगेका राष्ट्रिय युवा संघ नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटाले जनप्रतिनिधिले यस्तो हर्कत गर्न थालेपछि जनता कोबाट सुरक्षित हुन्छ भन्दै प्रश्न गरे । उनले नागरिकलाई जनप्रतिनिधिले नै ज्यान मार्ने धम्की दिँदा युवा संघ टुलुटुलु हेरेर मात्र नबस्ने चेतावनी समेत दिए ।

लामिछानेको जाहेरी लिँदै इलाका प्रहरी कार्यालय ककनीमा निमित्त प्रमुख रहेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाले यही साउन १६ गते छलफलका लागि दुबै पक्षलाई बोलाइएको जानकारी दिए । उनले उजुरीको सम्बन्धमा दुबै पक्षलाई राखेर छलफल गरे थप पक्रिया अघि बढाइने बताए ।

ककनी गाउँपालिका वडा नम्बर १ अध्यक्ष चन्द्र लामा, एमाले ककनीका अध्यक्ष जनार्दन अधिकारी लगायत पनि जाहेरी बुझाउन चौकी पुगेका थिए । चौकी पुग्नुअघि एमालेका नेता कार्यकर्ताले गाउँपालिका अध्यक्ष लामाको विरूद्धमा नाराबाजी गरेका थिए । उनीहरूले नागरिक कुट्ने अध्यक्ष चाहिँदैन जस्ता नारा लगाएका थिए । त्यसको केहीबेरपछि माओवादी निकटको वाइसिएलका नेताहरू पनि चौकी पुगेपछि झडपको स्थिति बनेको थियो । गाउँपालिका अध्यक्ष लामा भने एमाले नेताहरू रानीपाैवा जाने सूचना पाएपछि काठमाडाैँ हिडेँका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७८, आईतवार २०:४६