१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १००औँ वर्ष, यस्तो छ सीको सन्देश


१७ असार, काठमाडाैँ । जुलाई एक तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १००औं वार्षिकोत्सव समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनमा सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण पूरा गर्ने घोषणा गर्नुभएको छ। सारा पार्टी तथा सारा देशका जनताको लगातार प्रयासमार्फत चीन सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण गरेर समाजवादी आधुनिक शक्तिशाली मुलुकको निर्माणतिर अघि बढिरहेको पनि उहाँले व्यक्त गर्नुभएको छ। यो चिनियाँ जाति, चिनियाँ जनता र चिनियाँ कम्युनिष्ट पार्टीको गौरव रहेको पनि उहाँले बताउनुभएको छ।

सुधार र खुलापन नीति लागू गरिएयता चिनियाँ कम्युनिष्ट पार्टीले आधुनिक राष्ट्रिय समाजवादी निर्माण कार्यमा व्यवस्थापन गरेर जनताको आधारभूत जीवनको प्रत्याभूति गर्ने र जनताको जीवन स्तरलाई सम्पन्नतामा पुर्याउने दुईटा लक्ष्यलाई साकार तुल्याउने आधारमा चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनमा पार्टीको स्थापना भएको १००वर्षमा आर्थिक समाजको अझै विकास, प्रजातन्त्रलाई अझै पूर्णता, वैज्ञानिक शिक्षामा थप प्रगति हासिल, सभ्यताको अझै समृद्धि, मेलमिलापयुक्त समाजको थप विकास र जनताको जीवन अझै राम्रो तथा सम्पन्न समाजको निर्माण गर्ने लक्ष्यको प्रस्तुत गरिएको थियो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण महत्वपूर्ण कार्यभारको रूपमा लिएर यस वर्षको आरम्भमा चीनले गरिबी उन्मुलनको कार्यभार पूरा गरेर हालै मापदण्डमा ९ करोड ८९ लाख ९० हजार ग्रामिण क्षेत्रका गरिब जनसंख्यालाई पूर्ण रूपमा विपन्नताबाट मुक्त गरिसकेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङका अनुसार चिनियाँ जनताले उठेर धनी हुँदै बलियो तथा विकासको महान परिवर्तन सिर्जना गरेको छ। साथै उहाँले जन गणतन्त्र चीनको महान पुनरुत्थान अपरिवर्तनीय ऐतिहासिक प्रक्रियामा प्रवेश गरेको व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार एक सय वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँहरुलाई नेतृत्व गर्दै सिर्जना गरेको सबै प्रयासको मुख्य विषय जन गणतन्त्र चीनको महान पुनरुत्थानलाई साकार तुल्याउनु हो। सी चिन फिङले सम्बोधनको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका पुराना पुस्तालाई महान सम्मान व्यक्त गर्नुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका कामरेड माओ च तोङ, कामरेड तङ स्याउ फिङ, कामरेड च्याङ च मिङ, र कामरेड हू चिन थाउले मुख्य प्रतिनिधिहरुका रूपमा चीन राष्ट्रको पुनरुत्थानका लागि ठूलो योगदान दिएका छन् भन्दै उहाँहरूलाई महान सम्मान व्यक्त गर्नुभएको छ।

आफ्नो भाषणमा उहाँले चिनियाँ क्रान्ति, निर्माण र सुधार, र चीनको कम्युनिष्ट पार्टीको स्थापना, एकिकरण र विकासमा ठूलो योगदान पुर्‍याउने क्रान्तिकारी तथा शहीदहरूको पुरानो पुस्तालाई पनि गम्भीरतापूर्वक सम्झना गर्नुपर्ने भन्नुभयो।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तर्फबाट सी चिन फिङले सम्पूर्ण देशका जनतालाई उच्च सम्मान पनि व्यक्त गर्नुभयो। हङकङ, मकाओ र थाइवानका सहोदर दाजुभाइहरुलाई हार्दिक अभिवादन पनि गर्नुभयो र चिनियाँ जनता र चीन देशलाई समर्थन गर्ने सबै देशहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

सी चिनफिङका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टी नभएमा नयाँ चीन नहुने र चीन राष्ट्रको महान पुनरूत्थान असंभव छ। इतिहास र जनताले चिनियाँ कम्युनिष्ट पार्टी छानेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सबै अडिग रहनुपर्छ।

उहाँले जोड दिनुभयो, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजको सबैभन्दा आवश्यक विशेषता हो, चिनियाँ विशेषतायुक्त परिपाटीको सबैभन्दा ठूलो श्रेष्ठता हो, पार्टी र देशको जग र जीवनरक्त हो। चिनियाँ कम्युनिष्ट पार्टीको चौतर्फी नेतृत्वमा अडिग रहेर वैज्ञानिक शासन, प्रजातान्त्रिक शासन र कानूनबमोजिम शासन गर्ने स्तरलाई माथि उकास्नुपर्छ।

महासचिव सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताले सक्रियताका साथ मानव जातिको सबै फाइदाजनक अनुभव सिक्दै सबै हितकर सुझाव र सद्भावपूर्ण आलोचनाको स्वागत गरेको भन्दै अहम्कारी प्रचार तथा आलोचनालाई अवश्य अस्वीकार गर्ने बताउनुभएको छ।

चिनियाँ विशेषतायुक्त समाजवादी चीन राष्ट्रको पुनरूत्थान साकार तुल्याउने सही बाटो भएको कुरामा पनि सी चिनफिङले जोड दिनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीले र चिनियाँ जनताले आफैंले छानेको बाटोमा दृढताका साथ हिँडैजाने र चीनको विकास गर्ने भाग्य आफ्नो हातमा दृढतापूर्वक राख्नेछ। मार्क्सवादी चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रको निर्माण गर्ने आधारभूत निर्देशित विचारधारा भएका कारण मार्क्सवादलाई चिनियाँकरण र युगकरणमा मिलाउनुपर्छ।

राष्ट्राध्यक्ष सीका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले सधैँ नै जनताको आधारभूत हितको प्रतिनिधित्व गर्दछ। चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँहरुलाई अलग बनाउने कुनै पनि कुचेष्ठा सफल हुने छैन। उहाँले जोड दिनुभएअनुसार चिनियाँ कम्युनिष्ट पार्टीले पूर्ण हृदयले जनताका लागि सेवा गर्ने आधारभूत सिद्धान्त लिँदै पूर्ण चिनियाँको साझा समृद्धिका लागि खास तथा प्रभावकारी प्रगति सिर्जना गर्नुपर्छ।

सी चिनफिङले चिनियाँ विशेषतायुक्त सेना बलियो विकासको बाटोमा अडिग रहेर जन सेनालाई विश्वको अग्रणी सेनाको रूपमा निर्माण गरी अझ बलियो तथा क्षमतापूर्ण र भरपर्दो उपायमार्फत राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, विकास हितको संरक्षण गर्नुपर्ने दोहोर्याउनुभयो।

उहाँले जन सेनाले पार्टी र जनतालाई अमूल्य उपलब्धि प्रदान गरेको छ र लाल भूमि र राष्ट्रिय गरिमाको संरक्षण गर्ने बलियो स्तम्भ भएको भन्दै क्षेत्रीय तथा विश्व शान्तिको संरक्षण गर्ने बलियो दल पनि रहेको कुरामा जोड दिनुभयो। चीनले शान्तिपूर्ण विकास मार्गमा अडिग रहेर नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण, मानव भाग्य समुदायको निर्माण, “बेल्ट एण्ड रोड” उच्च गुणस्तरीय विकासको साझा निर्माणलाई अगाडि बढाएर चीनको नयाँ विकासबाट विश्वलाई नयाँ अवसर दिनुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औँ वार्षिकोत्सव समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, चीन सधैँ नै विश्वशान्तिको निर्माणकर्ता, विश्वव्यापी विकासको लागि योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक हो। चिनियाँ कम्युनिष्ट पार्टीले सहयोग गरेर कुनै टकराव नगर्ने, खुलापनमा गएर बन्द नगर्ने, आपसी हितकर तथा जीतमा अडिग भएर कुनै शून्य-योगको खेल नखेल्ने र प्रभुत्ववादी तथा शक्ति राजनीतिको विरोध गर्नेछ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सतवार्षिकी समारोहमा पार्टीका महासचिव सी चिनफिङले सम्बोधन गर्दै भन्नुभएको छः चिनियाँ जनता न्यायलाई प्राथमिकता दिँदै अतिक्रमणको डर नमान्ने जनता हुन्। चिनियाँ राष्ट्र महान गौरव र आत्मविश्वास भएको राष्ट्र हो। चिनियाँ जनताले कहिल्यै पनि अरू देशका जनतामाथि दमन वा दास बनाउने गरेको छैन, पहिले पनि थिएन, अहिले पनि छैन र भविष्यमा पनि गर्ने सम्भावना छैन। साथै चिनियाँ जनताले पनि कुनै बाह्य शक्तिलाई आफूमाथि दमन वा दास गर्ने छूट दिने छैन। कसैले यसो गर्न खोजेमा १ अर्ब ४० करोड चिनियाँ जनताको रगत र शरीरबाट बनाइएको पर्खाल अगाडि विफल हुनेमा कुनै शंका छैन।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औं वार्षिकोत्सव मनाउने समारोहमा स्वयम क्रान्ति गर्ने चिनियाँ कम्युनिष्ट पार्टीले अरू पार्टीसँग भिन्नताको बावजुद दृढतापूर्वक, कर्तव्यनिष्ठ रूपमा देश निर्माण तथा भ्रष्टाचारी विरोधी कार्यलाई अघि बढाउने, पार्टीमाथि आक्रमण गर्ने भाइरसलाई हटाउने र नयाँ युगमा पार्टीको निर्माणमा प्रबर्द्धन गर्ने पनि सीले व्यक्त गर्नुभएको छ।

सी चिनफिङले थाइवान विषयको समाधान गरी मातृभूमिको सम्पूर्ण एकीकरणलाई व्यवहारमा उतार्नु नै चिनियाँ कम्युनिष्ट पार्टीले प्रयास गरिरहेको ऐतिहासिक कार्य भएको भन्दै राष्ट्रिय सार्वभौमिकता र भूभागको अविच्छिन्नतामा चिनियाँको दृढ अठोट, इच्छा र क्षमतामा कसैले वेवास्ता गर्नुहुँदैन भन्ने कुरा पनि उल्लेख गर्नुभएको छ।

उहाँले एक देश दुई प्रणाली, हङकङवासीले हङकङको प्रशासन गर्ने, मकाउवासीले मकाउको प्रशासन गर्ने, उच्च स्वतन्त्रतासमेत नीतिको सम्पूर्ण तथा सही रूपमा पालना गरी हङकङ र मकाउ विशेष प्रशासन क्षेत्रमा केन्द्रीय समितिको पूर्ण प्रशासन, विशेष प्रशासन क्षेत्रले राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने कानून तथा प्रणालीको पालना गरेर हङकङ र मकाउको दीर्घकालीन समृद्धि तथा स्थीरताको कायम राख्नुपर्ने दोहोर्याउनुभएको छ।

राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टीका सबै सदस्यलाई आव्हान गर्नुभएको छ:प्रारम्भिक विचारलाई मनमा राखेर कल्पनालाई द्दढ कायम राख्नुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टीको सिद्धान्तलाई व्यवहारमा उतार्दै सधैँ नै जनतासँग घनिष्ट सम्पर्क राख्नुपर्छ। चिनियाँहरु सँगसँगै कठिनाई पार गर्दै राम्रो जीवन सिर्जना गर्नका लागि प्रयास गर्दै जानुपर्छ। जसबाट पार्टी र जनताका लागि अझ ठूलो महिमा सिर्जना गर्नसकिन्छ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १३:४६