१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

कांग्रेसका वैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन एमाले बागमतीको माग


२९ जेठ, काठमाडाैँ । नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले नरोत्तम वैद्यलाई प्रदेश सभाबाट निलम्बन गरी तत्कालै ज्यान मार्ने उद्योग गरेको अभियोगमा मुद्दा चलाउन माग गर्नुभएको छ । वैद्यले लहडमा बोलेको नभई गम्भीर षडयन्त्र रहेकोले शक्तिशाली आयोग गठनको समेत माग गर्नुभएको छ ।

पोखरेलले भन्नुभएको छ, ‘विषय सामान्य होइन व्यक्तिले मात्र लहडमा बोलेको होइन। यसमा गम्भीरै षड्यन्त्र लुकेको छ। यसमा संलग्न सबै दोषीहरु पत्ता लगाउन एक शक्तिशाली आयोग बनाई तथ्य सत्य पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दैछु।’

बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वैद्यले प्रधानमन्त्री केपी ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफैँ बन्न तयार हुने अभिव्यक्ति दिएका थिए। नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।

पोखरेलले ओलीविरुद्ध गठबन्धन लागेका नेता तथा कार्यकर्ताले भौतिकरुपमा उहाँलाई सफ़ाय गर्न सक्ने सुचना पहिलेनै प्राप्त भएको दाबी गर्नुभएको छ ।
‘पार्टीका श्रदेय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धन लागेका केही दलका नेता तथा कार्यकर्ताहरुले राजनीतिक र वैचारिक रुपमा मात्र होइन भौतिक रुपमा उहाँलाई सफ़ाय गर्न सक्ने सुचना प्राप्त भइरहेको थियो। हामी त्यसलाई सुक्ष्म रुपले अध्ययन गरिरहेका थियौँ।’

पूर्व मन्त्री समेत रहनुभएका पोखरेलले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘हिजो काठमाडौंबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैधले बागमती प्रदेश सभाको बैठकको रोष्टममा उभिएर महात्मा गान्धिलाई नथुराम गोड्सले मारे झैँ केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भनेर बोलेका छन्।’

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार ११:१०