बृद्धभत्ता चोरी प्रकरणः नुवाकोट पञ्चकन्याका प्रशासकीय अधिकृतलाई मन्त्रालय तानेर निलम्बन गरिदैँ
२८ जेठ, काठमाडाैँ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका पदाधिकारीको मिलेमतोमा वृद्ध भत्ताको ५० लाख र राजस्व ३ लाख गरी कुल ५३ लाख चोरी भएको प्रकरणमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई निलम्बन गरेर मन्त्रालय तान्ने भएको छ । मन्त्रालयका उच्च अधिकारीका अनुसार चोरीमा संलग्नको पहिचान गर्न छानविन समिति समेत बनेको छ । चैतमा भएको चोरीको बारेमा मन्त्रालयले जेठ पहिलो सातामात्र जानकारी पाएको थियो ।
पञ्चकन्या गाउँपालिकाको वडा नम्बर २ बाट ५३ लाख रुपैयाँ चोरी भएको प्रकरणलाई लिएर मन्त्रालयले पुडासैनीलाई मन्त्रालयमा तानेर निलम्बन गरी थप अनुसन्धान गर्ने भएको हो । मन्त्रालय स्रोतले भन्छ चोरीमा गाउँपालिका प्रमुखको अप्रत्यक्ष रूपमा संलग्नता देखिएको र प्रमुख प्रशासकीय अधिकृतको धेरै कोणबाट कमजोरी देखिएको र घटना लुकाउन संलग्नता देखिएको जनाएको छ । स्रोतले भन्छ, ‘चोरीको घटनामा प्रमुख प्रशासकीय अधिकृतको धेरै कोणवाट कमजोरी देखिएको छ, उहाँलाई मन्त्रालयमा तानेर निलम्बन गरी कारवाही प्रक्रिया अघि वढाउँदै छौं ।’
पुडासैनीलाई आइतवार नै मन्त्रालयमा हाजिर निर्देशन दिइएको ती कर्मचारीले जानकारी दिए । ती कर्मचारीले पुडासैनीको रकम चोरीमा प्रत्यक्ष संलग्नता नदेखिएपनि रकम झिक्नेदेखि लिएर घटना लुकाउनेसम्मको प्रकृयामा प्रत्यक्ष संलग्नता देखिएको बताए । वडा कार्यालयबाट गत २४ चैतमा बृद्ध भत्ताको पैसा चोरी भएको थियो ।
‘सदरमुकाममा भएपनि बैंकमा खाता खोलेर पैसा राख्नुपर्छ । अहिलेसम्म किन खातामा राखिएन? भत्ताको ५० लाख र त्यसअघि २० लाख रुपैयाँ पालिकाको पैसा किन वडासचिवको खातामा राखियो ? नयाँ सचिवको खातामा रकम हालेपछि अधिकृतले सुरक्षामा किन ध्यान दिएनन् ? हाम्रो यसमा गम्भीर चासो छ,’ मन्त्रालयका ती अधिकारीले भने । प्रशासकीय अधिकृत पुडासैनी चारवर्षदेखि सो पालिकामा कार्यरत रहेका छन ।
यो पनि पढ्नुहोस्
–नुवाकोटको पञ्चकन्यामा गाउँपालिका प्रमुखकै मिलेमतोमा बृद्ध भत्ताको ५३ लाख चोरी
प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १९:३२