१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

केटु हिमाल चढेका निर्मल पुर्जा नेपाल पर्वतारोहण संघको सद्भावनादूत नियुक्त


२० माघ, काठमाडौँ । विश्वको दोस्रो उच्च शिखर माउण्ट केटु जाडो याममा आरोहण गरेर कीर्तिमान बनाएको नेपाली हिमाल आरोही निर्मल पुर्जालाई नेपाल पर्वतारोहण संघले सद्भावनादूत नियुक्त गरेको छ । मंगलबार बसेको संघको केन्द्रीय कार्य समितिको बैठकले २०२१ लागि आरोही पुर्जालाई सद्भावनादूत नियुक्त गरेको हो ।

पूर्जालाई संघले १ लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरेको छ । सद्भावनादूत नियुक्त पुर्जाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका हिमालका साथै नेपाल पर्वतारोहण संघको प्रचारप्रसार गर्ने छन् । संघले केटु आरोहण टोलीका १० जना नेपाली आरोहीलाई संघको १० वर्षको सदस्यता नवीकरण शुल्क मिनाहा गर्ने निर्णय गरेकाे महासचिव कुल गुरूङले बताउनु भयाे ।

निर्मल पुर्जाको नेतृत्वमा मिङ्मा डेभिड शेर्पा, पेमछिरी शेर्पा, गेल्चिन शेर्पा, पेम छिरी शेर्पा, दावातेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पाले जाडो याममा माउण्ट केटु आरोहण गरेर कीर्तिमान कायम गरेका हुन् । यसअघि सबैभन्दा छिटो ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरे पनि पुर्जाले कीर्तिमान कायम गरेका थिए । उनीहरुको टोलीलाई पाकिस्तानमा भव्य स्वागत भएको थियो । नेपाल आएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टोलीलाई स्वागत र सम्मान गरेको थियो ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार २१:४१