१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

भारतमा किसानहरुको प्रदर्शन एक हप्ता पुरा


१७ मंसिर, नयाँदिल्ली । भारतमा किसानहरुले गरिरहेको विरोध प्रदर्शनको सिलसिला बुधबार एक हप्ता पुरा भएको छ । सरकारले ल्याएको कृषि सम्बन्धी तीन ओटा कानुनको विरुद्धमा असन्तुष्टि जनाउँदै किसानहरुले प्रदर्शन गरेका हुन् । संसदको गत अधिवेशनबाट सरकारले पारित गरेको कानुनका विरुद्धमा उनीहरुले त्यति बेलादेखि नै असन्तुष्टि जनाउँदै आएपनि पछिल्लो केही समयदेखि आन्दोलन नै गर्न थालेका छन् ।

उनीहरुले केन्द्रीय राजधानी नयाँदिल्लीको निराकार संगम मैदानमा शुरु गरेको प्रदर्शन बुधबार एक हप्ता भएको हो । आन्दोलन चर्किदै गएपछि सरकारले आन्दोलनकारी किसानहरुलाई वार्तामा बस्न आग्रह गरेको थियो । सरकारको आग्रह अनुसार मंगलबार राती भएको वार्ता पनि विना निश्कर्ष सकिएको छ ।

मंगलबार रातीको वार्तामा सरकारी पक्षले मागहरुको सम्वोधनका लागि छुट्टै समिति बनाउन प्रस्ताव गरेपनि आन्दोलनरत किसानहरुले भने अस्विकार गरेका छन् । आन्दोलनकारीका प्रतिनिधिहरु तथा अगुवाहरुसँग भएको वार्ताले पनि सकारात्मक संकेत नदिएपछि आन्दोलन थप चर्किने र लम्बिने संभावना देखिएको छ ।

वार्ता सकारात्मक नभएपछि कृषि मन्त्री नरेन्द्र सिंह तोमरले भने वार्ता राम्रो भएको प्रतिक्रिया दिनुभएको छ । उनीहरुसँगको वार्ता यही डिसेम्बर ३ तारिख भोलि (बिहीबार) फेरी गर्ने तय भएको पनि उहाँले जानकारी दिनुभयो । “हामीले आन्दोलनरत किसानहरुका प्रतिनिधिहरुसँग निरन्तर कुराकानी गर्न खोजेका छौँ, तर उहाँहरु छुट्टा छुट्टै गर्न चाहनुहुन्छ, हामीलाई त्यसमा पनि समस्या छैन,” मन्त्री तोमरले भन्नुभयो ।

सरकारले किसान र उपभोक्ताकै हितका लागि कानुन ल्याइएको दावी गरेको छ भने किसानहरुले नयाँ कानुनले किसानलाई मर्कामा पार्ने दावी गरेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १३:४३