१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

न्यूजील्यान्डको मन्त्रिपरिषद विस्तार


१७ कात्तिक, वेलिङटन । न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गर्नु भएको छ । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफूलाई समलिङ्गी भएको भन्दै खुला रुपमा बताउने गर्नु भएको छ । उहाँलाई अर्थ मन्त्रालयको कार्यभार समेत दिइएको छ ।

बीस सदस्यीय मन्त्रिपरिषदमा महिला र माओरी समुदायका व्यक्तिलाई पनि राम्रो स्थान थिइएको छ । माओरी समुदायमा प्रचलित परम्परागत टाटु चिउँडोमा खोपेकी ननैया महुतालाई विदेश मन्त्रीको जिम्मेवारी दिइएको छ ।

गत अक्टोबरमा सम्पन्न आमचुनावमा ठूलो जनमत सहित विजयी हुनु भएकी आर्डेनले मन्त्रिपरिषदलाई बढीभन्दा बढी समावेशी बनाउने प्रयत्न गर्नु भएको छ । मन्त्रिपरिषद गठनका बारेमा राजधानी वेलिङटनमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री आर्डेनले न्यूजील्यान्डका लागि आगामी तीन वर्ष निकै चुनौतीपूर्ण रहेको बताउनुभयो ।

उहाँले विश्वका धेरै देशलाई समस्यामा पारेको कोभिड–१९ ले न्यूजीन्यान्डलाई पनि असर पार्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । नयाँ मन्त्रिपरिषदलाई जतिसक्दो समावेशी बनाउने क्रममा आफूले योग्यतालाई पनि विशेष रुपमा ध्यान दिएको उहाँले स्पष्ट गर्नुभयो ।प्रधानमन्त्री आर्डेनको दोस्रो कार्यकाल शुरु हुँदैछ । गत चुनावमा आर्डेनको लेबर पार्टीले ८७ प्रतिशत मतगणना भइसक्दा झण्डै ४९ प्रतिशत मत प्राप्त गर्नु भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार १५:२३