१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

-देवकी आचार्य

विकसित र सहरीकरणले ढपक्क ढाकिसकेको विश्व परिवेशमा अचानक सन् २०१९को डिसेम्बर महिनामा चिनको हुवान सहरबाट सुरुवात भएको कोरोना भाइरस डिजिजको विश्व स्वास्थ्य संगठनले “कोभिड–१९” को नाम दिएको जिवाणुले आज संसारलाई नै त्रसित र भयभित बनाएको छ । बस्तीबस्ती, गल्लीगल्लीमा कोरोनाको चर्चा छ, गाउँघर आतंकित छ । जाने र भाग्ने अवस्था कहि कतै नभएको अवस्था छ । जताततै कोभिडको त्रास छ । विश्वको कुनै पनि स्थान छैन होला जहाँ कोभिडको कुरा नभएको र अछुतो रहेको । आज विश्वमा २१५ देश र स्थानमा यसको महामारी फैलिरहेको छ । यसलाई विश्वव्यापी महामारीको रूपमा घोषणा गरिएको छ ।

कोरोना भाईरस श्वासप्रश्वासको माध्यमबाट मानिसको शरीरमा प्रवेश गर्दछ । संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भनि प्रमाणित गरिएको यस भाईरसका कारण आज विश्वमा करिब २ करोड ५० लाख भन्दा बढि संक्रमित र ८ लाख ६२ हजार भन्दा बढी मानिसको ज्यान गईसकेको अवस्था विद्यमान छ । संक्रमण भई निको हुनेको संख्या पनि १ करोड ८२ लाख भन्दा बढि नै रहेको छ । नेपालमा पनि यस भाइरसले निकै भयानक रुप लिन थालेको छ । आजसम्मको मितिमा यस जिवाणुका कारण संक्रमित हुनेको संख्या ४० हजार भन्दा बढि रहेका छन् भने हालसम्म २ सय जना भन्दा बढिको ज्यान समेत भएको छ ।

हालसम्म २० हजार भन्दा बढि मानिसहरू निको भएर घर फर्केको अवस्था पनि रहेको छ । अझै नेपालमा यस जिवाणुले भयावह रुप लिने आंकलन विद्वानहरूको रहेको भएता पनि हामीले तीनै तहका सरकार र जनताले आ–आफूबाट नै सावधानी अपनाउने र कोभिड अनुशासनलाई पूर्ण रूपमा पालना गर्ने हो भने यसले भयावह रुपमा फैलन पाउँदैन भन्ने कुरा चिन लगायतका कुनै समय उच्च जोखिमपूर्ण अवस्थामा रहेको राष्ट्रहरूले प्राप्त गरेको सफलताबाट पाठ सिक्न र सफलता कसरी प्राप्त गर्न सके भन्ने विषयलाई अध्ययन गरी सोही अनुसार हामीले पनि कोभिड अनुशासनलाई कडाईका साथ लागु गर्न सकियो भने छिट्टै सामान्य अवस्थामा फर्कन सकिन्छ भन्ने अनुमान गर्न सकिन्छ ।

कोरोना भाइरसका कारण मानिसको शरीरमा १००.४ फरेन हाइटसम्म ज्वरो आउने, रुघा खोकी लाग्ने, स्वासप्रश्वासमा समस्या आउने जस्तो लक्षण देखिन्छ । यस रोगबाट बच्नै सबैभन्दा राम्रो उपाए भनेको मनोबल उच्च र सर्तकता अनाउनु नै हो । आजसम्म पनि कुनै औषधि र खोपको निर्माण नभएका कारण आज धेरै मानिसहरूले ज्यान गुमाउन पुगेको अवस्था रहेको छ । सामान्य खालको जिवाणु भएता पनि यसले सिधै फोक्सोमा आक्रमण गर्ने भएका कारण यो रोग लाग्न नदिनकोलागि नै हामीले सतर्कता अपनाउनु पर्छ ।

ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहने र आफूलाई ज्वरो र खोकी लागेको छ भनेपनि अरु व्यक्तिबाट टाढा रहने र मास्कको प्रयोग उचित ढंगले गर्ने गर्नु पर्दछ । खोक्दा वा हाछ्यूँ गर्दा नाक र मुख टिस्यू पेपर, रुमाल वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने, रुमाललाई साबुन पानीले सफासँग धोई घाममा सुकाउने र साबुन–पानीले मिचिमिति हात धुने वा अल्कोहल भएको स्यानीटाईजरले हात सफा गर्ने गर्नु पर्दछ ।

भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने तथा भिडभाडजन्य कुनै पनि क्रियाकलाप नगर्ने । हात मिलाउनुको सट्टा टाँढाबाट नै नमस्कार गर्ने बानीको विकास गर्नुपर्दछ । हातको बाहिरी भागमा रहेको भाईरसबाट बच्नको लागि प्रत्येक दुई घण्टामा सम्भव भएसम्म साबुन पानीले २० सेकेण्डसम्म मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानीटाइजर प्रयोग गर्दा कोरोना भाइरसलाई नस्ट गर्न सकिन्छ ।

कोरोना प्रभावित देशबाट आएको व्यक्तिहरूमा माथिका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरुन्त जानु पर्दछ । घरैमा बस्दा परिवारका सदस्यहरूबाट १४ दिनसम्म छुट्टै आईसोलेसनमा बस्नु पर्दछ । यस भाइरसले पहिला घाँटी, स्वासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ । विस्तारै ती अङ्गलाई कोरोनाभाइरसले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या बृद्धि गर्न थाल्दछ । त्यसपश्चात शरीरमा गम्भीर असर पु¥याउन सक्छन् । त्यसैले हामीले आत्मबल र रोगसँग लडनसक्ने प्रतिरोधात्मक शक्तिको विकास गर्ने खालका खानेकुरा खाने र दैनिक सामान्य व्यायम गर्नु तथा आफूलाई व्यस्त राख्ने र अनावश्यक नकारात्मक कुरा नसोच्ने बरु सहरमा घरको छत वा बाल्कोनिमा निस्कने, संसारलाई नियाल्ने, गाउँघरमा हो भने खेतीपाती, करेसाबारी, पशुपालनमा समय व्यतित गर्ने गरी आफूलाई सम्भव भएसम्म व्यस्त राख्न सकियो भने नकारात्मक सोचबाट बच्न सकिन्छ ।

आफूलाई मानसिक रुपमा तन्दुरस्त राख्न सकिन्छ । गलत समाचार नसुन्ने, नहेर्ने, सकारात्मक र सत्य तथ्यमा आधारित समाचारहरू सुन्ने र हेर्ने गर्नु पर्दछ । सरकारले निर्माण गरेको नियम र कोभिड अनुशासनका पाठहरू आफूले पनि अबलम्बन गर्ने र अरुलाई पनि गर्न लगाउनको लागि विभिन्न तरिकाबाट सचेतना जगाउन सकिन्छ । यस्ता उपायहरू अपनाउन सकेको खण्डमा हामी यस्तो रोगहरूबाट लड्न सक्छौँ स्वस्थ रहन सक्छौँ र स्वास्थ्यका कारण आएको यस भयावह अवस्था र पीडाबाट मुक्ति प्राप्त गर्न सकिन्छ ।

आजको समयमा सहर धेरै मानिसहरूको आकर्षणको केन्द्र बनेको छ । सहरमा घना बस्ती र अत्यधिक मानिसहरूको बसोबास हुने भएका कारण एकले अर्कालाई चिन्ने र बुझ्ने तथा असहज परिस्थितिमा सहयोग गर्ने अवस्था रहेको छैन । यस्तो मानवीयता हराउँदै गएको सहरमा अझै कोभिड जस्ता जिवाणुले संक्रमण बढाईरहेको समयमा संक्रमित मान्छेलाई मनोबल बढाउने खालका सल्लाह सुझाव दिनुको सट्टा छिँ छिँ र दुर–दुर गर्ने परिपार्टी बढ्दै गएको कुरा विभिन्न घटनाबाट देखिएको छ ।

आज मान्छेमा मानवता हराउँदै गएको छ । मान्छे मर्दा मलामी नपाउने अवस्था भएको छ । नजिकबाट दुःख साटासाट गर्नु भन्दा टाढाटाढाबाट समवेदना प्रकट गर्न भन्दा नसकिने अवस्था त आयो नै त्यसमाथि पनि हामीलाई अस्वस्थ भएर मृत्यु र जीवनको दोसाधमा छटपटिरहेको अवस्थामा पुर्न जन्म दिनसक्ने स्वास्थ्य कर्मी माथि पनि दुव्र्यवहार गर्ने हाम्रो सोचले मानवीयता र हाम्रो सोच तथा व्यवहारलाई कहाँ पु¥याउला आंकलन गर्न नै नसकिने अवस्था आएको छ । मानिस मानिसबाट नै त्रसित, मानवताबाट नै त्रसित, समवेदना हराउन थालेको छ, आफन्त आफन्तबाट नै भयवित भई रोगबाट संक्रमित झनै मानसिक रोगबाट समेत ग्रस्त बनाउने खालको परिवेश सिर्जना भएको देखिन्छ । आफूलाई मन नपरेको मानिसलाई गाली गर्दा नै यसलाई चै कोरोना लागोस भन्ने खालका हाम्रो नकारात्मक सोचले समाज र सामाजिक भावनालाई तहसनहस बनाएका कुरा विभिन्न समाचारमा पढ्न पाइन्छ ।

सबैभन्दा पहिला हुवान प्राप्तमा पढ्न बसेका नेपालीहरूलाई नेपाल ल्याउने विषयमा कुरा उठ्दै गर्दा ती व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्नको लागि स्थान खोज्ने क्रममा धेरै स्थानका स्थानीयले आफ्नो आसपासको स्थानमा राख्न नदिए पछि भक्तपुरको खरिपाटीमा प्रधानमन्त्री आफैले दवाव दिएर बल्ल त्यहाँ राख्ने व्यवस्था मिलाईएको घटना, फ्रेबुअरीमा फ्रान्सबाट फर्केकी एक युवतीलाई कोरोना पुष्टि भएको भन्ने समाचार आउँदै गर्दा उनलाई मार्ने धम्कि दिएका घटना, मर्दा मलामी नपाएका घटना, आफ्ना आफन्तको दाहसंस्कार गर्न नपाएका घटना, अन्तिम श्रद्धाञ्जली दिन जान नपाएको अवस्था, पीडामा दुःख साट्न नपाएको अवस्था, त्यसमाथि पनि बानेश्वरको सिभिल हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मीको वासस्थानको विषयमा उठेका अमानवीय प्रश्न, विरगंज र चितवनमा पनि स्वासथ्यकर्मी माथि भएको अमानवीय व्यवहार लगायतका विभिन्न समय र परिस्थितिमा अग्रमोर्चामा बसेर अहोरात्रम खट्ने स्वास्थ्यकर्मी, सुरक्षा कर्मी, संचारकर्मी, जनप्रतिनिधि, नीति निर्माता लगायतका व्यक्तिहरू माथि हुने गरेको अमानवीय व्यवहार, नचाहिदा टिकाटिप्पणीले झनै असहज परिस्थिति सिर्जना गरिरहेको छ । त्यसमाथि पनि यही असहज तथा तनावपूर्ण परिस्थितिमा बालबालिका किशोरी र जातको आधारमा विभेद, असमानता, दुव्र्यवहार, हिंसा आदि जस्ता घटनाले मानवीयता र नैतिकतामा नै प्रश्न चिन्न खडा भएको छ ।

स्वास्थ्यकर्मी भनेका सबै मानिसलाई मृत्यु र जीवनसँग लडने क्रममा बचाउन र हामीलाई पुर्नजन्म दिनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने समूह हो । कोभिडको महामारी फैलिन नदिन स्वास्थ्यकर्मीहरूले मेरुदण्डको रूपमा सेवा प्रदान गरिरहेका हुन्छन् । यिनै कारणले गर्दा स्वास्थ्यकर्मीहरूमा मानसिक तनाव, थकानले, पेशागत कार्यदक्षताको दृष्टिकोणले पनि जोखिममा पर्न सक्दछन् । त्यसैले हामीले हाम्रो मानवीयता र अस्तित्वलाई नविसिई कसैप्रति आरोप र लाञ्छना लगाउनु भन्दा कोभिड अनुशासन पालना गर्नु सबैभन्दा उच्च सर्तकता रहन सक्छ ।

सबैमा मनोबल, उत्साह, सकारात्मक सोचको खाचो परेको अवस्थामा हुने गरेका अमानवीय र मानव अधिकारको नै हनन् हुने खालका नकारात्मक सोच र प्रबृतिले समाजलाई अझै रोगले भन्दा पनि सोचले विध्वशं बनाउनेछ । यसकुरामा मध्य नजर राखी हामीले पहिलादेखि नै रहेको हामी भित्रको मानवीय व्यवहारलाई यथावत राख्नका लागि कोभिड अनुशासन पालना गर्नु पर्ने अवस्था रहेको छ । हाल विश्वमा महामारीको रुप लिएको कोभिडका कारण हामी जो कोही पनि संक्रमित हुन सक्छौँ । रोगले जात, धर्म, लिङ्ग, वर्ग, स्थान, व्यक्ति, धनी, गरीब कसैलाई पनि छुट्याउँदैन । न त यसलाई देशदेशका सीमा नाका पार गर्न भिषा नै चाहिन्छ, न त कुनै ठूला देशका आडविक सन्त्रअस्त्रले नै रोक्न सकेको अवस्था छ । विज्ञानको यत्रो विकसित देशमा पनि यस जिवाणुको उपचारको एकिन औषधि निर्माण गर्न सकिएको अवस्था छैन । देशदेश बीचका बैमनस्यतामा पनि मानवीय व्यवहार, साथ र सहयोगको आवश्यकता सधै रहेको हुन्छ । यस्तो विषम परिस्थितिमा पनि हामीले हाम्रो मानवीयतालाई विर्सेर मानिस माथि मानिसले गर्ने व्यवहारलाई दानवता तिर डाल्ने हो भने किटाणुले निम्त्याएको महामारीलाई अझै अमानवीयताले विकराल अवस्था सिर्जना गर्दछ । त्यसैले हामीले यस अवस्थामा संक्रमणबाट बच्ने उपायहरूलाई कुनै कसर बाँकी नराखी अबलम्बन गरी मानवीय धर्ममा जुट्नु पर्ने अवस्था आएको छ ।

यस अवस्थामा घरमा नै बसिदिएर पनि हामीले आफू बची अरुलाई पनि बचाउनसक्ने अवस्था रहन्छ । त्यसैले अतिआवश्यक काममा बाहेक बाहिर ननिस्कौँ, अनावश्यक भिडभाड नगरौँ, अग्रमोर्चामा रहेर काम गर्नेहरूलाई सलाम गरौँ, मनोबल बढाउने खालका व्यवहार गरौँ, सम्मान गराैँ, सक्दो सहयोग गरौँ, रिस र आवेगमा कुनै पनि निर्णय नगरौँ, मानवीयतालाई मर्न नदिऔँ । यस्तो समयमा बालबालिका, किशोरकिशोरी, गर्भवती तथा सुत्केरी, नियमित औषधि सेवन गरिरहेका र अपाङ्गता भएकाहरूलाई विशेष ध्यान दिँदै कोरोना करहसँगै मानवीयताले कहीकतै पनि मानव अधिकारको हनन् भएको घटना सुन्न नपरोस् । सद्भाव, सत्विचार, सत्गुण, सत्मार्ग, संयमितता, सत्चरित्रता, सहासिता, सरलता र सकारात्मक सोचको विकास गराँै । यस महामारीमा आफू पनि बाचौँ अरुलाई पनि बचाअाैँ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार ११:२८