१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा


१७ भदौ, नयाँदिल्ली । संयुक्तराज्य अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भारत सरकारले जनाएको छ । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव अघि वा त्यसलगत्तै उक्त सम्झौतालाई अन्तिम रुप दिनेगरी वार्ता अघि बढेको छ । भारतका केन्द्रीय बाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले दुई देशबीचको व्यापार सम्झौताका सन्दर्भमा अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरसँग निकट सम्पर्कमा रहेको मंगलबार बताउनुभएको छ ।

अमेरिका–भारत रणनीतिक साझेदारी मंचको बैठकलाई सम्बोधन गर्दै मन्त्री गोयलले भन्नुभयो, “व्यापार सम्बन्धी पूरै प्याकेज लगभग तयार भइसकेको छ र यसलाई कुनै पनि समय अन्तिम रुप दिन सकिनेछ । भारतको विचारमा यो प्याकेजले दुबै मुलुकको जितलाई प्रतिबिम्बित गरेको छ ।”

मन्त्री गोयलले अगाडि भन्नुभयो, “मैले अमेरिकी व्यापार प्रतिनिधि लाइटिजरसँग विचारविमर्श गरेको छु । हामी दुबैबीच यो सम्झौता आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय चुनाव वा सोभन्दा अघि नै गर्न समझदारी बनेको छ ।

हामी भोलि नै यो सम्झौता गर्न पनि तयार छौं ।”उहाँले व्यापार सम्झौताले भारत र अमेरिकाबीचको रणनीतिक साझेदारीलाई अझ प्रगाढ र गहिराईमा लैजान मद्दत गर्ने बताउनुभयो । मन्त्री गोयलले दुबै मुलुकबीचको समझदारी अभिवृद्ध हुँदै गएमा आगामी दिनमा भारत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौताका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १५:१६