१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

त्रिविलाई लालकिल्ला बनाइयो भन्दा केदारभक्त माथेमा पनि काँग्रेस कार्यकर्ता थिए भन्ने नबिर्साै


-तपेन्द्रबहादुर शाही

विगत केही महिनायता त्रिभुवन विश्वविद्यालयका विविध पक्षका विषयलाई आधार बनाएर संचार माध्यममा समाचारहरु सम्प्रेषण भैरहेका छन । खासगरी विश्वविद्यालयअन्तर्गतका विभिन्न संकाय, संस्थान, अनुसन्धान केन्द्र, केन्द्रीय विभाग र क्याम्पसहरुमा नियमित रुपमा हुने नियुक्ति, शैक्षिक कार्यक्रमहरुको संचालन, विश्वविद्यालयको कार्यसम्पादन प्रक्रिया, पदाधिकारीहरुको भूमिका, परीक्षा संचालन, आंशिक शिक्षकहरुको सवाल, अनलाईन शिक्षा, अनुसन्धान कार्य र आर्थिक स्रोतहरुको खर्च प्रणालीका विषयमा बढता चर्चा भैरहेको छ ।

मुलुकको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालयको विषयमा विभिन्न तरिका र कोणबाट बहस भैरहनु र ती विषयका समाचार सञ्चार माध्यमहरुमा कभरेज हुन कुनै अस्वाभाविक प्रसंग पनि होइन । तथापि, विषयबस्तुहरुको जुन ढंगबाट ‘प्रस्तुतीकरण’ भैरहेको छ त्यसको शैली र लयलाई गहिरिएर विश्लेषण गरिनु पर्ने हुन्छ । त्यसको विश्लेषण समयसापेक्ष, वस्तुनिष्ठ र निष्पक्ष ढंगले गरिनु पर्ने हुन्छ । अन्यथा, एकातर्फी रुपमा आइरहने अन्तरवस्तुहरुले आम विद्यार्थी र अभिभावकहरुका बीचमा भ्रम र अन्योल सिर्जना गर्ने अवस्था उत्पन्न हुन जान्छ ।

त्रिभुवन विश्वविद्यालय नेपाल एउटा विशुद्ध प्राज्ञिक निकाय हो । कानुतः यो संख्या स्वायत्त निकायको रुपमा रहेको छ । त्रिभुवन विश्वविद्यालय संचालनका लागि निश्चित ऐन, नियम, कार्यविधि र स्थापित प्रणाली व्यवस्था गरिएको छ । उल्लेखित र मौजुदा कानुनी प्रावधानलाई लत्याएर कुनै पनि पदाधिकारी, कर्मचारी वा शिक्षकले मनोमानी ढंगले काम गर्नसक्ने अवस्था रहँदैन । अन्यथा, हुँदाको अवस्थामा सिधै कानुनी कठघरामा उभिन पर्ने हुन्छ । विगतमा त्यसरी कानुनी कठघरामा उभिएका र सजाय भोगेका उदाहरणहरु प्रसस्तै छन ।

जहाँसम्म विश्वविद्यालयका विभिन्न निकायमा नियुक्त हुने पदाधिकारीको सवाल छ– त्यसमा सकेसम्म वरिष्ठता र योग्यता र अनुभवलाई प्राथमिकतामा राख्नु पर्ने नै हुन्छ । अहिले भैरहेका नियुक्तिहरुमा उल्लेखित मापदण्डलाई धेरैहदसम्म पालना गरिएको पनि पाइन्छ । चाहे वर्तमान पदाधिकारी अाएपछि भएका नियुक्तिहरु हुन चाहे त्यसअघि भएका नियुक्तिहरु नै किन नहून निश्चित प्रकारको योग्यता नपुगेको व्यक्तिलाई त्रिविको कुनै पनि निकायमा नियुक्ति गरिएको छैन । कानुनतः त्यो सम्भाव पनि छैन । तथापि, कतिपय संचार माध्यमहरुमा वास्तविकतालाई अलिकति पनि नकेलाइकन नियुक्त भएका पदाधिकारीहरुलाई पूर्वएमाले, नेपाली काँग्रेस र पूर्वमाओवादी र मधेशवादी भनेर ट्याग भिराइदिदा समग्र विश्वद्यिालयको शैक्षिक वातावरणलाई धुमिल बनाउने काम गरेको छ ।

त्रिभुवन विश्वविद्यायमा सेवा गर्नका लागि एउटा निश्चित प्रतियोगितात्मक परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । यसको व्यवस्थापन त्रिवि सेवा आयोगले गर्ने गर्दछ । सेवा आयोगको परीक्षामा उच्चतम अंक प्राप्त गरी अध्यापनका लागि सफल भएका प्राध्यापक, सहप्राध्यापक वा उपप्राध्यापक वा प्रशिक्षक कुनै पार्टी विशेषको भनिनु न्यायसंगत होइन । विश्वविद्यालयमा प्रवेश भएका सबै शिक्षक–प्राध्यापकहरुले सम्बन्धित निकायका लागि पदाधिकारीहरु हैसियत राख्दछन ।

कुन पार्टीको सरकारमा हुँदा नियुक्त भयो भन्ने कुरालाई आधार मानेर व्यक्तिलाई पार्र्टीकरणको लेवल लगाउने प्रवृत्तिले सम्बन्धित व्यक्तिको मात्र होइन स्वयं विश्वविद्यायको अपमान गरेको हुन्छ । संगसगै आम विद्यार्थीमा पनि त्यसले नकारात्मक सन्देश प्रवाह गरेको हुन्छ । जसरी अहिले त्रिभुवन विश्वविद्यालयलाई लालकिल्ला बनाइयो भनेर खिल्ली उडाउन खोजिएको छ– त्यो सवर्था पूर्वाग्रहयुक्त प्रस्तुतीकरण हो । यसरी आरोप लगाउँदै जाने हो भने केदारभक्त माथेमा पनि काँग्रेसका कार्यकर्ता थिए भनेर अर्को पक्षले तर्क अगाडि सार्न अवस्था आउँछ । विश्वविद्यालय जस्तो गरिमामय संस्थामा यस्तो राजनीतिक दाग लगाउने अपसंस्कृति विकास गर्न अनुचित छ । वास्तवमा अहिले विश्वविद्यालयमा पठन पाठन र अनुसन्धानको संस्कृतिलाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा बहस हुन जरुरी छ ।

यतिबेला समग्र विश्व कोरोना भाइरसको संक्रमणको कारणले सिथिल बन्न पुगेको छ । यसको प्रत्यक्ष असर नेपालमा पनि परिसकेको छ । दिनुहँ ७०० देखि ८०० को संख्यामा संक्रमण देखिन थालेको छ भने मुत्यु हुनेहरुको संख्या पनि दिनहुँ ९ देखि १० जना पुग्न थालेको छ । एकप्रकारले भन्दा आम नेपालीको जनजीवन थप कष्टकर बन्दै गएको छ । जसले गर्दा लाखौं विद्यार्थीहरुको शैक्षिक भविष्य अन्योल बन्दै गएको छ । यस्तो अवस्थामा विश्वविद्यालयले केही नवीनतम् कार्यक्रम र अनुसन्धान गरेर आम जनतालाई आशावादी बनाउने रचनात्मक भूमिका निर्वाह गर्न सक्नु पर्ने अपेक्षा सबैको थियो । तर, त्यसतर्फ वर्तमान विश्वविद्यालयका पदाधिकारीहरुको पनि खास ध्यान–दृष्टि पुग्न सकेको पाइएको छैन । यसमा आवाज उठाउनु पर्ने बेला आएको छ ।

विश्वविद्यालयको कक्षा संचालनमा भौतिक उपस्थितिको पक्ष प्रभावकारी विधि हो । तथापि, कोरोना भाइरसको संक्रमण विस्तार भैरहेको वर्तमान सन्दर्भमा त्यो सम्भव हुने कुरा पनि भएन । बैकल्पिक शिक्षण विधिको रुपमा अनलाइन माध्यम अपनाउनु नै अहिलेका लागि बुद्धिमानी हुनेछ । त्रिभुवन विश्वविद्यालयले विगत पाँच महिनादेखि अनलाइन कक्षा प्रारम्भ गरेको छ । तर, अनलाइन माध्यमबाट भैरहेको कक्षा स्नातकोत्तर, एमफील र पीएचडीसम्मका कार्यक्रममा संचालन भैरहेको भए पनि स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीसम्म आइपुग्न सकेको छैन । यसका लागि ततकाल पहल अगाडि बढाइनु पर्ने हुन्छ । कोरोना भाइरस संक्रमणको अहिलेको अवस्थामा विश्वविद्यालयका लागि खुम्चीएर बस्ने समय होइन यो त नयाँ–नयाँ अवसर र सम्भावनाहरुको खोजी गर्ने बेला हो । यो समयलाई विश्वविद्यायले अवसरको रुपमा उपयोग गर्ने रणनीतिमा बनाउनु पर्ने हुन्छ ।

आजको विश्व संचार र प्रविधिको विकास एवं विस्तारका हिसावले निकै नै समृद्ध हुन पुगेको छ । इन्टरनेटको सञ्जाल विश्वव्यापी रुपमा फैलिसकेको छ । विश्वका बै मानिसहरु विश्वग्रामको रुपमा एकआपसमा जोडिएका छन । हाम्रो देश नेपाल पनि इन्टरनेटको यो सञ्जालबाट बाहिर छैन । यस्ता अवस्थामा अन्य देशका लागि डिजटिल प्रविधि र इन्टरनेटका माध्यमबाट शैक्षिक कार्यक्रमहरुको संचालन नयाँ नहुन सक्दछ तर नेपालले भने अब यसलाई शैक्षिक पठनपाठन र परीक्षा संचालनको सन्दर्भमा जीवनको अभिन्न अंग बनाउनु पर्ने आवश्यकता देखापरेको छ । यसतर्फ विश्वविद्यालयका पदाधिकारीहरुले बेलैमा उपयुक्त रणनीति बनाउन पर्ने हुन्छ । ताकी आम विद्यार्थीहरु अनलाइनको शैक्षिक कार्यक्रममा सजिलै जोडिन सकून ।

त्रिभुवन विश्वविद्यालयमा अनलाइन शिक्षाको सवाल उठदा आम विद्यार्थीहरुमा त्यसको पहँच छ की छैन भन्ने सवाल पनि उठने गरेको छ । यो सवाल आफै अनुचित पनि होइन । फेरि पनि अहिलेको बाध्यततालाई आत्मसात गर्नुको विकल्प छैन । यसका लागि विश्वविद्यायलको तर्फबाट एउटा विशेष अनुदानको कार्यक्रम बनाउनु पर्ने हुन्छ । अहिले त्रिभुवन विश्वविद्यालयको आंज्ञिक क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको संख्या खासै ठूलो छैन ।

अनलाइन शिक्षाका लागि विभिन्न देशी–विदेशी संस्था र सरकारले पनि आर्थिक सहयोग उपलब्ध गराइरहेको वर्तमान सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले आंज्ञिक क्यापसका सबै विद्यार्थीहरुलाई कम्युटर खरिदमा एक निश्चित प्रतिशत विश्वविद्यालयले उपलब्ध गराउने हो भने त्यो निकै गर्विलो आयाम हुने छ । वास्तवमा वर्तमान पदाधिकारीले अलिकति पहल गर्ने हो भने यस्तो प्याकेज असम्भव पनि छैन । कम्तिमा अनलाइन शिक्षाको आधारलाई बलियो बनाउन विश्वविद्यालयले विद्यार्थीहरुका लागि कुनै न कुनै रुपमा योगदान गर्नै पर्ने हुन्छ ।

यतिबेला विश्वद्यालयमा परीक्षा हुन नसकेको विषयले निकै चर्चा पाएको छ । परीक्षा भनेको विद्यार्थीहरुले अध्ययनबाट प्राप्त गरेको ज्ञान र सिपलाई मापन गर्ने र दीक्षित गराउने विधि हो । यसमा शैक्षिक गुणस्तर आयाम पनि रहेको हुन्छ । विश्वविद्यालयको शैक्षिक गुणतस्तमा असर नपर्ने गरी अब परीक्षा संचालन कार्यलाई विलम्ब गर्नु हुँदैन । अन्यथा, परीक्षाको अन्योलताले विद्यार्थीहरुको शैक्षिक भविष्यमा गम्भीर धक्का लाग्ने अवस्था सिर्जना हुन्छ ।

विद्यार्थीप्रतिको जिम्मेवारी बोधका लागि विश्वविद्यालयले परीक्षा संचालन कार्यलाई अबिलम्ब संचालन गर्नु पर्ने हुन्छ । यसैगरी अर्को सवाल भनेको अनुसन्धान हो । अहिले अनुसन्धान कार्य एकदमै कम भएको छ । अनुसन्धान गर्नु पर्ने विषय र सवालहरु प्रयाप्त हुँदा हुँदै पनि त्रिविले त्यसतर्फ खास भूमिका निर्वाह गर्न सकेको छैन । कोरोनाको सवालमा पनि धरै अध्ययन अनुसन्धानहरु गर्न सकिन्छ । कम्तिमा यतिबेला त्रिभुवन विश्वविद्यालय अहिलेको अवस्थामा पनि जागीरहेको छ है भन्ने सन्देश दिन जरुरी छ ।

त्रिभुवन विश्वविद्यालय भनेको हामी सबैको विश्वविद्यालय हो । त्रिभुवन विश्वविद्यालय यतिबेला विभिन्न प्रकारका समस्याहरु पनि जकडिएको भए पनि यसलाई सुधार गर्न सकिने आधारहरु र सम्भावनाहरु पनि त्यत्तिकै छन । विश्वविद्यायको बारेमा अनावश्यक ढंगले नकारात्मक सन्देश प्रवाह गरेर कसैलाई पनि फाइदा गर्दैन, त्यस्तो किसिमको गतिविधिले वास्तवमा आफैलाई पनि गिज्यारहेको हुन्छ । विश्वविद्यालयको सम्मान र इज्जतसंग देशको इज्जत र मर्यादा पनि जोडिएको हुन्छ । यस्तो पक्षलाई विचार र ध्यान–दृष्टिमा राखी विश्वविद्यालयको सुधारका लागि रचनात्मक र सिर्जनात्मक सुझाव एवं कार्यक्रमको आवश्यकता छ ।

(आरआर क्याम्पसका स्ववियुका सभापति शाही त्रिविको सिनेटर हुनुहुन्छ)

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार ०७:५१