१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

शहीद स्रष्टा परिचयकोश प्रकाशन हुने


९ भदौ, काठमाडौँ । नेपाल प्रज्ञा –प्रतिष्ठानले नेपालका विभिन्न राजनीतिक तथा सांस्कृतिक परिवर्तनको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने स्रष्टाका सम्मानमा ‘शहीद स्रष्टा परिचयकोश’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागबाट उक्त कोश तयार हुन लागेको हो ।

विभागका प्रमुख प्रा डा गोपीन्द्र पौडेलका अनुसार तेजविलास अधिकारी र राजबहादुर कुँवरको सम्पादनमा कोश तयार भइरहेको छ । कोशमा ‘मकैको खेती’का स्रष्टा प्रथम साहित्यिक शहीद कृष्णलाल अधिकारीदेखि जनयुद्धकालका शहीद कृष्ण सेन ‘इच्छुक’लगायत शहीद स्रष्टालाई समेटिनेछ । कोश यसै आर्थिक वर्षभित्र प्रकाशन गर्ने योजना रहेको प्राज्ञ पौडेल बताउनुभयो ।

नेपालमा १९९७ को विद्रोह, २००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ सालको जनान्दोलन, दशवर्षे सशस्त्र जनयुद्ध र २०६२÷०६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा स्रष्टाहरुको महत्वपूर्ण योगदान थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १४:१२