१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

शान्तिपूर्ण मार्गमा समाजवादतर्फ हिँड्ने एउटैमात्र राजमार्ग हो ‘जबज’


-अर्जुन पाण्डे 

नेपाल कम्युनिष्ट पार्टी एमालेको पाँचौं राष्टिय महाधिवेशन (२०४९) नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा अविस्मरणीय र एतिहासिक यसर्थ मान्नु पर्दछ कि यस अवसरमा नेकपा एमालेका तत्कालीन महासचिव क मदन भण्डारीले नेपाली क्रान्तिको कार्यक्रम बहुदलीय जनवाद प्रस्तुत गर्नु भयो र त्यो कार्यक्रम बहुसंख्यक कार्यकतर्ताको मतबाट पास भयो । यद्यपि जनताको बहुदलीय जनवादको खाका महासचिव भण्डारीले चौँथो महाधिबेशनमै तैयार पार्नुभएको थियो ।

बहुदलीय जनवादलाई तत्पश्चातका दिनमा नेकपा एमालेले आफ्नो पार्टीले लिने क्रान्तिको मार्गदर्शक सिद्धान्तका रुपमा ग्रहण गरेको हो । कम्युनिष्टहरुले परिकल्पना गरेको सर्बहारा बर्गको अधिनायकत्व स्थापना गर्ने जुन शास्त्रीय लक्ष थियो त्यसलाई आजको बदलिँदो विश्व परिवेश अनुरुप परिमार्जन गर्न जरुरी छ । वर्तमान विश्व परिवेश यस्तो छ जहाँ समाजवादको लक्ष पूरा गर्ने बाटो हतियारबन्द सशस्त्र संघर्ष सहज र संभव दुवै छैन । अब कम्युनिष्टहरुले पनि आफूलाई राजनीतिक प्रतिस्पर्धी खेलाडीको रुपमा उभ्याउनु पर्दछ ।

आवधिक निर्वाचनहरुमा जनअनुमोदित हुनु पर्दछ भन्ने मूल मार्ग निर्देश जनताको बहुदलीय जनबाद जबज ले गरेको छ । यो विचार आजको परिवेशमा कत्तिको शसक्त र सही छ भन्ने त नेपालमा सशस्त्र संघर्षको वलबाट समाजवादी व्यवस्थामा पुग्ने लक्ष लिएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले कथित जनयुद्ध त्यागेर हतियार विसाएको र शान्तिको बाटो अंगिकार गरेबाट पनि पुष्टि हुन्छ ।

अब आवधिक निर्बाचनद्धारा जनअनुमोदन नलिने राजनीतिक व्यवस्था स्थापना हुनु वा टिक्नु दुवैका निम्ति आन्तरिक र बाह्य वातावरण अनुकुल छैन । नेपालको धरातलीय यथार्थ अझ विशिष्ट प्रकृतिको छ । तत्कालीन नेकपा एमालेले यो सुझबुझ त्यतिबेलै गरिसकेको हो । यही राजनीतिक विचारले नै पूर्व नेकपा माओवादी र एमालेलाई नजिक ल्याइदिएको र पार्टी एकताको तहसम्म पुर्याइदिएकोमा दुइमत छैन । हाल यी दुई पार्टी एकता प्रकृयाका सम्पन्न गर्ने चरणमा पुगेका छन् ।

समग्र एकता प्रकृया टुंगिन अझै बाँकी रहेको, पार्टी अन्तरिम अवस्थामै रहेको आजको विशिष्ट अवस्थामा नेकपा पार्टी आन्तरिक कलहमा फस्नु दुर्भाग्य त छँदैछ साथै असामयिक पनि छ । यो विवाद फगत पदको निम्ति हो भन्ने प्रष्ट हुँदा हुँदै एकाथरीले यो सैद्धान्तिक मतभिन्नता हो भनेर विवादको औचित्य पूष्टि गर्न खोजेका छन् । यही आन्तरिक कलहका विचमा जनताको बहुदलिय जनवाद जबजलाई फेरी विवादको विषय बनाइएको छ । माओबादीहरु भन्ने गर्थे जबज संसदीय बाटो हो ।

अबको बाटो भनेको एक्काइसौं सताब्दीको जनवाद हो जुन जबज भन्दा अग्रगामी छ । तर त्यो अग्रगामी सिद्धान्त जबज भन्दा कुन आधारमा भिन्न छ ? वा जबजका कुन कुन कार्यक्रम पश्चगामी हुन ? यदि त्यसो हो भने, जबजले निर्धारित गरेका कुन कुन कार्यक्रम सैद्धानित्क रुपले बेठीक छन् ? अर्थात जबजले निर्दिष्ट गरेका नीति र कार्यक्रम भन्दा अग्रगामी कार्यक्रमहरु कस्ता हुन् ? त्यसको स्पष्ट खाका कतै छ त ? छैन । यही मेसोमा केहि दिन अघि नेकपाका अध्यक्ष क प्रचण्डबाट जनताको बहुदलिय जनवादको प्रवक्ता बन्न नसकिने भन्ने अभिव्यक्ति आएपछि पुनः जबज सैद्धान्तिक बहसको सतहमा आएको हो ।

एकातिर जबज नमान्ने भन्ने आर्को तिर जबज भन्दा सारमा भिन्न, अग्रगामी कार्यक्रम प्रस्तुत गर्न नसक्ने अवस्थाले कतै एकता प्रकृयाको हलो यहीँ अडकिने पो हो कि भन्ने शंसय पनि जन्मिएको छ । जबजलाई मान्ने र यसलाई संसदीय भास ठान्ने दुवैको मिलन विन्दु जनताको जनवाद हुन सक्छ भन्नेहरु पनि छन् । तर यो केवल नामको लडाइँ हो भन्न हिचकिचाउनु पर्दैन किनकी जबज भन्दा नबीन व्यवस्थाका सैद्धान्तिक आधारहरु कहिँ भेटिएका छैनन् । यतिबेला नेकपाका आम कार्यकर्ता, शुभ चिन्तक र जनतामा पनि पुनः जबज बारे चासो बढेको छ । एकता महाधिवेशन सन्निकट रहेको आजको अवस्थामा नयाँ पुस्ताका नेकपा कार्यकर्ता तथा सचेत नेपाली जनतामाझ यो विषय बहसमा आउनु सान्दर्भिक पनि छ ।

के हो जनताको बहुदलिय जनबाद ?

कुनै पनि व्यक्ति, संघ संस्था, राजनीतिक पार्टीको सम्बन्धमा जब हामी कुनै दृष्टिकोण बनाउँछौं त्यो नै उसको पहिचान हो । जस्तो पहिचान छ, त्यस्तै दृष्टिकोण बन्दछ । पहिचान त्यस्तो चिज हो जुन उसले लिएको लक्ष, लक्ष सम्म पुग्ने रणनीति, कार्यक्रमहरु र समग्र अभियान संचालन गर्ने व्यक्तिको इतिहास, योग्यता, क्षमता, चरित्र र दृष्टिकोणले निर्धारित गर्दछ । खासमा राजनीतिक पार्टीहरु एउटा न एउटा दीर्घकालीन लक्ष लिएरै स्थापित भएका हुन्छन् । उनिहरु त्यही लक्ष र कार्यक्रमलाई जनता माझ पस्किन्छन्, जनताले मन पराए भने त्यसलाई साथ दिन्छन् नत्र दिन्नन् । यो एक सामान्य सिद्धान्त हो ।

तत्कालीन नेकपा एमालेले जननेता मदन भण्डारीद्धारा प्रतिपादित नवौं महाधिवेशन द्धारा अनुमोदन भएपश्चात नै जनताको बहुदलिय जनबाद जबज लाइ नेपाली क्रान्तिको कार्यक्रमको रुपमा अंगिकार गरेको हो । वास्तवमा जबज नयाँ ढंगको कम्युनिष्ट आन्दोलनको सुत्र मात्र नभएर राज्य व्यवस्था संचालन गर्ने समेतको विस्तृत योजना र समाजबाद तर्फको मार्गचित्र हो । यो यस्ता कार्यक्रमहरुको संयोजन हो जसले नेपाली क्रान्तिको प्रस्थान विन्दु पहिल्याउने देखि कहाँ सम्म पुर्याउने भन्ने लक्ष र योजना सहित व्याख्या गरेको छ । यो नै आजसम्मको बैज्ञानिक र यथार्थपरक प्रगतिशिल राजनैतिक व्यवस्थाको प्रस्तावित स्वरुप हो ।

जबजको विशेषताका रुपमा आत्मसात गरिने कार्यक्रमहरु र मूल राजनीतिक आर्थिक मान्यताहरु के के हुन् ? तीनको स्पष्ट बुँदागत व्याख्या गरिएको छ । जस्तैः संविधानको सर्बाेच्चता, बहुलबादी खुला समाज, शक्ति पृथकिकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलिय प्रतिस्पर्धा प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार अल्पमतको विपक्ष, कानुनको शासन, जनताको जनबादी व्यवस्थाको सुदुढिकरण, विदेशी पुँजी र प्रविधि, क्रान्तिको शत्रु र मित्र शक्ति, बामपन्थी एकता र पार्टी एकीकरण, रणनीति र कार्यनीति । त्यस्तै जबजका मूल कार्यक्रमहरुलाई हेर्दा यसमा वर्तमानमा जनताका जनजीविकाका सवालदेखि दीर्घकालिन योजनाहरु समेटिएका छन् ।

जबज का मूलभूत कार्यक्रम कस्ता छन् ?

१. नेपाली समाजको आजको चरित्र र अन्तरविरोधको बारेमाः देश अहिले अर्धसामन्ती र अर्ध उपनिदेशी छ । सामन्त तथा दलाल नेकरशाही पुँजी पति बर्ग र बैदेशिक एकाधिकार पुँजीवादले संपूर्ण श्रमजिवी जनता माथि निर्मम शाोषण उत्पीडन कायम गरेका छन् । यो शोषण समाप्त पार्न र सामाजिक मुक्ति र बैदेशिक एकाधिकार पुँजीवाद तथा साम्राज्यवादको शोषण समाप्त पार्ने राष्टिय स्वाधिनता हाम्रो बर्तमान क्रान्तिका अधारभूत कार्यभार हुन् ।

२. बर्तमान क्रान्तिको संवन्धमाः अहिले राष्टिय पुँजी र उद्योगको विकास सुनिश्चित गर्नु पहिलो अनिवार्य काम हो । तसर्थ हाम्रो बर्तमान क्रान्तिको सामाजिक आर्थिक चरण पुँजीवादी जनबाद हो । हाम्रो लक्ष जनताको जनबादको व्यवस्थाको स्पापना गर्नु हो । आज हामीसंग उपरोक्त कार्यभार पूरा गर्न मार्कसबाद लेनिनबाद बाहेक अर्को बैज्ञानिक बैकल्पिक विचार प्रणाली छैन ।

३. राज्य व्यवस्थाको संवन्धमाः संविधानलाइ सर्बोपरी राखेर राज्यका सबै अंगहरु संगठित र सन्चालन हुने, नेपाललाइ स्वतन्त्र सार्बभौम, धर्म निरपेक्ष, जनताको जनबादी गणतन्त्र घोषित गरिन, ( आज माओबादीहरु गणतन्त्रको हिमायति आफू मात्र भएको र अरु यसको हकदार हैनन् भन्ने ठान्दछन् । जबकी २०४९ वा त्यो भन्दा अघि नै गणतन्त्र नेकपा एमालेको घोषित कार्यक्रम थियो ।) त्यस्तै संविधान अनुरुप बहुलबादी खुल्ला समाज कायम गरिने ।

४. शासन प्रणालीः संविधानको मर्यादा भित्र सबै राजनीतिक पार्टीहरुलाइ राजकिय निकायहरुमा शान्तिपूर्ण ढंगले प्रतिस्पर्धा गर्ने स्वतन्त्रता रहने, आवधिक निर्वाचन, मानव अधिकारको प्रत्याभूति, विकेन्द्रिकरण साथै कानुनको शासन कायम गरिने ।

५. अर्थ व्यवस्थाः समाजबाद तर्फ संक्रमणको क्रममा जनबादी अर्थ व्यवस्थाको निर्माण गर्ने, साम्राज्यवादी शोषणका संपूर्ण आधारहरु ध्वस्त पार्दै मजदूर किशान तथा संपूर्ण जनताको हित खातिर उत्पादन व्यवस्था स्थापना गरिने । समग्रमा जनबादी अर्थ व्यवस्थाको आधारभूत चरित्र मिश्रीत अर्थतन्त्रलाइ अंगिकार गरिने, अर्थतन्त्रको विकाशमा निजी क्षेत्रलाइ पनि प्रोत्साहन गरिने, कृषिमा जग्गाको हदबन्दी, राष्टिय पूँजीको विकास, उद्योगमा सरकारको मूख्य संलग्नता, निजी क्षेत्रलाइ संरक्षण, निर्यात प्रवद्र्धन उद्योगको स्थापनामा जोड, विदेशी दलाल पुँजीपतीहरुको बजारमा रहेको एकाधिकारलाइ अन्त्य गर्न साना व्यापारीहरुलाइ प्रोत्साहन, सार्क स्तरीय पावर लाइनको स्थापना, जलश्रोतमा नेपाली जनताको अक्षुण्ण अधिकार सुनिश्चित गरिने ।

६. शिक्षा स्वास्थ र समाज कल्याणः सामन्तवादी संस्कृतिमा आधारित, पुरातनपन्थी विचार परिपर्तन गर्ने प्रगतिशील, जनवादी शिक्षा, अनिवार्य र निशुल्क माध्यमिक तहसम्मको शिक्षा, निशुल्क स्वास्थ सेवा, महिला, जनजाति तथा सबै तप्काका जनतामा विना कुनै भेदभाव गरि राज्यले समानताको प्रत्याभूति दिने ।

७. विदेश नीति संवन्धमाः असंलग्न स्वतन्त्र प्रगतिशिल विदेश नीति लाइन, भारत र चीन दुवै देशसंग पंचशीलका आधारमा संवन्ध विकास गरिने, समानता र पारस्पारिक लाभका आधारमा विश्वका सबै मुलुकसंग आर्थिक, सामाजिक, वाणिज्य संवन्ध विस्तार गरिने, संयुक्त राष्टसंघलाइ समर्थन गर्ने, विविध खाले नवउपनिवेशबादी शोषण, जातिभद, जनरंगभेदको विरोध गर्ने नीति लिइने ।

निश्कर्ष
जबजको व्याख्या भित्र समेटिएका उपरोक्त कार्यक्रमहरु र अंगिकार गरिने व्यवस्थाहरु हेर्दा यो आजको युग सापेक्ष छैन भन्नु पर्ने कुनै वस्तुगत आधार छैन । यदि छ भने त्यसको विकल्प के हो त ? उपरोक्त कार्यक्रमहरु पश्चगामी हुन् भने कुनचाहिँ पश्चगामी हुन् ? जबज मान्दैनौ भन्नेले भन्न सक्नु पर्छ । तसर्थ जबज नै आजको अग्रगामी बैज्ञानिक व्यवस्था हो । यो कसैले कुनै लहडमा ल्याएको नभै बृहत राजनैतिक बहस र प्रयोगको कसीमा समेत खरो उत्रिएको व्यवस्था हो ।

यो शान्तिपूर्ण मार्गमा समाजबाद तर्फ हिँड्ने नेपाली कम्युनिष्टहरुको वेद वा बाइबल हो भन्दा अत्युक्ती हुँदैन किनकी यसमा हरेक साना ठूला प्रश्नका उत्तर मौजुद छन् । जबजका हरेक बुँदाले इंगित गरेको यथार्थ हिजो जस्तो थियो आज पनि उत्तिकै वास्तविक छन् । समय क्रममा कुनै विषयमा थोरै फेर बदल आएको हुन सक्छ तर त्यो रुपमा देखिएको हो सारमा गुणात्मक भिन्नता आएको छैन । तसर्थ शसस्त्र आन्दोलनलाइ छाडेर निर्वाचन हुँदै समाज रुपान्तरणमा आएका कुनै पनि कम्युनिष्टले यसमा विमति जनाउनु पर्ने कुनै कारण देखिन्न किनकी गर्नु पर्ने जे हो, त्यो यही हो ।

हतियार विसाएर संविधानसभाद्धारा निर्मित संविधान स्विकारेका तत्कालिन माओबादीहरुले लिने भनिएको कुनै पनि नीति वा सिद्धान्तलाई यसले बाधा दिँदैन बरू झन स्पष्ट मार्ग चित्र नै प्रदान गर्दछ । माओबादीहरुले एक्काइसौं सताब्दीको जनबाद भनेर जसलाई भनेका थिए वा छन्, त्यो खासमा के हो ? त्यसको सैद्धान्तिक व्याख्या नभेटिएको अवस्थामा दुबैलाई मिलाएर निर्माण गर्ने भनिएको जनताको जनवाद कै पनि कुनै खाका सार्बजनिक बहसमा ल्याइएको छैन ।

तसर्थ जसले जे भने पनि जबज भन्दा गुणात्मक रुपले भिन्न क्यै आउने संभावना छैन । हाल नेकपा भित्र पार्टी विधी, पद्धतिका कुरा गर्ने कोठे गुट मिटिंग होस वा तारे होटलका भेला, त्यहाँ कुनै पनि नेताले जबज वा यसको बैकल्पिक व्यवस्था बारे बहस गरेको कसैलाई थाहा छैन । छ त केवल पदको भागबण्डा । ज्ञातब्य छ, एकता महाधिवेशनको तैयारी भैरहेको यो घडिमा जबजको बुँदागत बिमति राखेर सैद्धान्तिक बहस आजसम्म कसैले गरेका छैनन् र संभवतः गर्दैनन् पनि । तसर्थ अब नयाँ नाम जे दिए पनि स्वरुप जबज नै हुने हो । रह्यो आआफ्ना अहंकार । त्यसलाइ त्याग्नुमा सबैको कल्याण छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार ०९:४६