१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बामदेवले पार्टी फुटाउन नमान्दा पदको बार्गेनिङ गरिरहेको प्रचण्ड-माधव समूह पत्रकारको शरणमा


-अनुजकुमार श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूको पदको बार्गेनिङले सीमा नाघेको छ । जनताको चासो, चिन्ता र डर सबै छाडेर पदका लागि मरिहत्ते गरिरहेका नेकपाका शीर्ष नेताले यस्तो कोरोनाको महामारीमा पनि आफ्ना नागरिकका लागि सोच्न चाहेनन् बरू उनीहरूले कसरी आफ्नै पार्टीको सरकार ढाल्ने र कुर्सी कसरी बब्जा गर्ने भनेर कुरूपता प्रस्तुत गरिरहे ।

सरकार ढाल्नका निम्ति भएका अनेक प्रयास असफल हुँदै गएपछि कहिल्ये प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्ने कुरा व्यक्तिगत विचार त कहिले सरकार ढाल्न लागि परेका भारतीय भनेका हामी हौँ भन्ने शीर्ष नेताहरूको अभिव्यक्तिले कुण्ठाको राजनीति हाबी भएको सहजै अनुमान गर्न सकिन्छ ।

कहिले आफन्तलाई जागिर खुवाउन नपाएको त कहिले बद्नाम व्यापारीहरूको राज्यविरूद्ध हुने व्यापारिक स्वार्थ पूरा गर्न नपाएको झोँकमा मरिच चाउरिए झैँ चाउरिएर बसेका नेताहरू तीनै व्यापारी र भारतीय स्वार्थमा नेपालको इतिहासमै सबैभन्दा बलियो र सुबिधाजनक बहुमत भएको सरकार ढाल्नका लागि अनेक तिकड्म गरिरहेका छन । एकपछि अर्का तिकड्मबाट आफैँ नांगिदै गएपछि नेताहरू सरकार ढाल्ने प्रयास पदका लागि नभएको भन्दै प्रचार गरिदिन भनेर पत्रकारको शरणमा परेका छन ।

ठूला दैनिक पत्रिकामा नेकपाको रिपोर्टिङ गर्न खटिएका पत्रकार पनि गुटको इच्छाबिपरितको समाचार भन्दा बाहेक केही लेख्दैनन् । हुनत कतिपय सन्दर्भमा पुराना समाचारहरू पल्टाएर हेर्दा ती पत्रकारहरूलाइ पनि लाज लाग्दो हो । कहिले मन्त्रिपरिषद् बैठक नै आफ्नो समाचार मार्फत बोलाइदिने त कहिले आफ्ना आदर्शवान नेताहरूले गर्नुपर्ने काम नगरेकोमा त्यसको दोष समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई देखाउनमा उनीहरूको ठूलो मिहेनत देखिन्छ ।

बुधबार काठमाडौँको एक कलेज जुन विगतमा तत्कालीन एमालेको लोपोन्मुख गुटको उपमा पाएको माधवकुमार नेपाल समूहको भेला, बैठक र छलफल हुने गरेको थियो । सोही कलेजमा प्रचण्ड-माधव समूहले गुटका नाममा पत्रकारिता गरिरहेका पत्रकारहरूसँग फेससेभिङ गरिदिन बिन्ति चढाए । उनीहरूले आफूहरूले ओली सरकार ढाल्न प्रयत्नहरू गरिरहेको भए पनि त्यो पदका लागि नभएको भनेर समाचार लेखेर जनतालाइ सुसूचित गरिदिन अनुनय गरे ।

भेलामा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र तीनका मुख्य मन्त्रीहरूको विरूद्धमा प्रोपोगाण्डा सिर्जना गरेर भ्रम फैलाउँदै सरकार असफल भएको सन्देश दिन सहयोग गरिदिन भन्दै नेताहरूले याचना गरे । सोही भेलामा सहभागी केही पत्रकारले सो कुरा अस्वीकार गरे पनि ओली सरकार ढालेर नयाँ सरकार बनेपछि नयाँ नयाँ अवसर पाइन्छे भन्नेले शिरोपर गरेर व्यवहारमा उतार्न सुरू गरिसकेका छन ।

भेलामा प्रचण्ड केही मुड अफ भएर उपस्थित देखिएका थिए । उनको प्रस्तुती त्यति आक्रामक पनि थिएन । तर सधैँ कुण्ठाको भारी बोकेर हिड्ने वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टीको प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ बढीनै आक्रामक देखिएका थिए । उनीहरूले प्रधानमन्त्री ओलीका विरूद्धमा विष वमन नै गरेका थिए । कोही पनि पत्रकारलाई बोल्न नदिइएको उक्त भेलाको संयोजन विनोद चौधरीका बारेमा नकारात्मक समाचार आउँदा मनै अमिलो बनाउने नेकपाका एक केन्द्रीय सदस्यले गरेका थिए ।

नेकपाका उपाध्यक्ष बामदेव गौतमको अन्तिम समर्थन लिने प्रयास स्वरूप अध्यक्ष प्रचण्डले गरेको प्रयास असफल भएपछि उनी हतास मुडअफ देखिएका थिए । स्रोतका अनुसार उक्त भेटमा प्रचण्डले पार्टी फुट्दा कसलाई साथ दिनुहुन्छ भनेर प्रश्न गरेका थिए । पार्टी बिग्रह रोक्न भन्दै लिखित प्रस्ताव नै सार्वजनिक गरेका गौतमले तपाईरूको नियतसम्म बुझिसकेँ पार्टी फुटाउने गतिबिधिमा साथ दिन्न भनेपछि प्रचण्ड रन्थनिएका थिए ।

ओलीलाई सरकार र पार्टी दुबै ठाउँबाट सडकमा ल्याउन उनीहरूले गरेको यो प्रयास आम जनताले बुझिसकेका छन । कोरोनाले दिनहुँ नागरिक मृत्युवरण गरिरहेका छन । दैनिक सयौँको सख्यामा संक्रमितहरू समेत थपिइरहेका छन तर सत्तारूढ पार्टीका शीर्ष नेतालाइ कतिखेर सत्ता कब्जा गरेर विवादित व्यापारिहरूको स्वार्थपूर्तिमा काम गरौँ भन्ने भएको छ । यो कुरा नेकपाका शीर्ष नेताहरूको बोलि र व्यवहारमा स्पष्ट नै देखिइसकेको छ ।

नेकपाको एकता देख्न चाहने र समृद्ध नेपाल, सुखी नेपालीको चाहना राख्ने आम नागरिकको चाहना कुण्ठित गर्न नेकपाकै शीर्ष नेतृत्वबाट भैरहेको प्रयासका बारेमा जनताले राम्रैसँग ज्ञान हाँसिल गरेका छन । पदको बार्गेनिङ छाडेर नेताहरूले देश र जनताको बारेमा सोच्ने दिन कहिले आउला भन्ने आशा र अपेक्षा मलाइजस्तै धेरै नागरिकलाइ छ होला भन्ने लागेको छ । नेताहरूको पार्टी विभाजनमुखी गतिबिधि रोकेर नेकपा एक ढिक्का बनाउन पार्टीका कार्यर्ताले खबरदारी गर्न अब ढिला हुन थालेको छ । त्यसैले यसतर्फ सबैको ध्यान जानु जरूरी छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार २२:३५