२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच निर्णायक वार्ता आज, सहमतिको सम्भावना कति ?


२१ असार, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक वार्ता आज हुँदैछ । बिहान १० बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा दुइ नेताको बीचमा वार्ताको तयारी भएको छ। नेकपाको स्थायी कमिटी बैठक एजेण्डा बाहिर गएर सरकारविरूद्ध पार्टीका नेताहरूले नै विषवमन गरेपछि दुइ नेताको बीचको सम्बन्धमा समेत चिसोपना देखिएको छ ।

दुइ दिनअघिको पार्टी स्थायी कमिटी बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी फुटका लागि तयार रहन भन्दै नेताहरूलाइ निर्देशन दिएपछि नेकपा फुट्ने अड्कलबाजी भएको छ । यद्यपी दोस्रो पुस्ताका नेताहरूले अाफ्ना नेतृत्वलाइ सम्झाउने कोशिश गरिरहेका छन । नेकपा  गठनको २ वर्ष नपुग्दै फुटको संघारमा पुगेको छ । यो अवस्थाबाट बचाउनका लागि अध्यक्षद्धय आज निर्णायक वार्तामा बस्दैछन ।

सहमतिको सम्भावना कति ?

आज हुने निर्णायक वार्ताले ठोस सहमति गरेर पार्टीलाइ अझै एकजुट बनाउने विश्वास लिइएको छ । विगतको सहमति पूर्ण पालना गर्दै अघि बढ्ने सहमति हुने सम्भवना पनि उत्तिकै रहेको छ । नयाँ विकल्पका रूपमा मंसिर ४ मा भएको सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको म्यान्डेट बाहिर नगई सरकार चलाउने, प्रचण्डले अन्य नेतालाइ समेटेर पार्टी सञ्चालन गर्ने विषयमा छलफल हुन सक्ने बुझिएको छ ।

यद्यपी प्रधानमन्त्रीबाट ओलीलाइ हटाउने राष्ट्रपति विद्याभण्डारीलाइ महाअभियोग लगाउने र पार्टी फुटाउने गरी सम्पूर्ण तयारी नै भैसकेको भनिएका कारण प्रचण्ड समूहले समय कटाउनका लागि मात्र वार्तामा बस्ने मेसो गरेको हुन सक्ने आशंका पनि गरिएको छ । दुबै अध्यक्षले पार्टी फुटमा समेत जान सक्ने भन्ने नेताहरूलाइ कित्ता क्लियर गर्न अनुरोध गरिसेका छन ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार ०९:०७