१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

झम्सिखेलमा नयाँ सरकारको खाका बनेपछि प्रचण्डले स्थायी कमिटीमै भने फुटका लागि तयार रहनुस्


१९ असार, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिखेर गम्भीर संकटमा परेको छ । पटक पटकको संकटबाट केही महिनाका लागि राहत महशुष गर्दै आएको नेकपाले यसपटक फरक परिदृश्य ब्यहोरी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन जयन्तीको दिन मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा नयाँ नक्सा जारी गरे वापत भारतीय इशारानामा कतिपय मानिसहरू सरकार गिराउन लागि परेको भन्दै त्यस्तो प्रयास सफल हुन नदिने उद्घोष गरे ।

त्यसको लगत्तै प्रधानमन्त्री निवासमै भएको स्थायी कमिटीको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष ओलीको उल्लेखित भनाइको जवाफ दिँदै सरकार ढाल्न सक्रिय भारतीय भनेका हामी हौँ भनेर जवाफ दिँदै प्रधानमन्त्रीको राजिनामा मागे । सोही लयमा वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले पनि ओलीको राजिनामा माग्दै सरकार ढाल्न सक्रिय आफूहरू रहेको भन्दै स्वघोषणा गरे ।

गैरसरकारी संस्थाका नाममा करोडाैँ कुम्लाएकाहरूको समूहले सञ्चालन गरेको ललितपुरको झम्सीखेलमा रहेको एउटा रेष्टुरेन्टमा बसेर गुटको भेला गरेपछि उक्त समूह सरकार र केपी ओलीप्रति थप आक्रामक बनेको छ । स्रोतका अनुसार बुधबार राति उक्त रेष्टुरेन्टमा नयाँ पार्टी र त्यो पार्टीसहितको सरकारको खाका समेत तयार भएको छ । त्यसमा पूर्व एमालेको स्थायी असन्तुष्ट समूह र पूर्व माओवदीको समूह सहभागी भएको थियो । उनीहरूले ओली सरकार कुनै पनि हालतमा ढाल्ने र त्यसका निम्ति पार्टी फुटाउन परे त्यो पनि गर्ने भन्दै खाका तयार पारेका थिए ।

त्यही बैठकको बलमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रचण्डले गम्भीर घोषणा गरे । उनले पार्टी फुटका लागि यो स्थायी कमिटी एउटा प्लेटफर्म हुने देखिएको छ । तपाइहरू तयार रहनुस् । विगतदेखि नै प्रचण्ड निकटकाहरूले समाचार लेखाउने गरेका सञ्चार माध्यमहरूले समेत प्रचण्डको पार्टीको प्लेट फर्म बन्न सक्ने कोट उधृत गर्दै शुक्रबार समाचार प्रकाशन गरेका छन ।

उनले प्रचण्डको भनाइ यसरी उधृत गरेका छन, ‘पार्टी एकता गम्भीर संकटमा पर्यो । यो स्थायी समितिले पार्टी एकता पनि घोषणा गर्न सक्छ । यही स्थायी समितिलै पार्टी फुटको प्लेटफर्म निर्माण गर्न पनि सक्छ । अव कुन वाटो रोज्ने हाम्रा लागि गम्भिर विषय आईलागेको छ । अन्तिम पटक पार्टी एकताका लागि म आफै प्रधानमन्त्रीसँग वसेर पहल गर्छु ।’

केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै नछाड्ने अडान लिनु र प्रचण्डले नयाँ पार्टीको टिमनै तयार पारेर पार्टी एकताका लागि अन्तिम प्रयास गर्छु भनेर वार्तामा बस्नुले निकास निस्कने सम्भना कमजोर बनेको छ । यद्पी शुक्रबार दिउँसोसम्ममा नेकपाका दोस्रो पुस्ताका नेताहरूले प्रयास गरेर अध्यक्षको बीचमा सहमति गराउन सक्ने सम्भावना जिवित नै छ ।

यही बीचमा शुक्रबार बिहानै प्रचण्ड समूहले नयाँ पार्टी र नयाँ पद बाँडफाँडको तयारी गरेकोतर्फ संकेत गर्दै नेकपाको राष्ट्रियसभा दलका मुख्यसचेतक खिमललाल भट्टराइले भनेका छन ‘केपी ओलीलाई हटाएर आफुहरु कोही प्रधानमन्त्री, कोही अध्यक्ष, कोही राष्ट्रपति, कोही उप प्रधानमन्त्री बन्ने गरी जुन मोर्चाबन्दी र घेराबन्दी भैरहेको कुरा बाहिर प्रकटीकरण भैरहेको छ । यसले नेताहरुको कद घटाईरहेको छ ।’

उनले अघि थपेका छन ‘पदीय भागवण्डाको लागि आफ्नै सरकार ढाल्ने र आफ्नो जमीनको रक्षाको लागि भारतसंग लडिरहेको एउटा कमाण्डरलाई हटाएर आफुहरु एउटा तुच्छ पदमा पुग्ने कुरा कसरी जस्टीफाइ हुन्छ ? केपी ओलीका तमाम कमजोरी होलान् तर उनी भन्दा असल, क्षमतावान र ईमान भएका नेताहरु अरु छन् भनेर जनताले पत्याईहाल्ने स्थिती अहिले छैन ।’

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार ०९:१५