२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कोरोना संकटलाई अर्थतन्त्रको नयाँ गोरेटो बनाउने अवसरमा रुपान्तरण गराैँ


-शोभाकान्त पौडेल

सन् २०१९ को डिसेम्बर अन्त्य तिर बाट चीनको हुवान शहरबाट सुरु भएको कोरोना भाईरसको महामारी हाल विश्वव्यापी बनेको छ । एकातिर मानव समुदायमा मानवको दुःखद मृत्युले पिडा र सन्त्रास थपिरहेको छ भने अर्कोतिर विश्व भरीनै लकडाउनका कारण उद्योग धन्दा, व्यापार व्यावसाय, यातायात, शिक्षा लगायतका सबै क्षेत्रहरु पूर्ण प्रभावित बनेका छन् । यो महामारी फैलिने क्रम जारी छ । यसको प्रभाव कहिलेसम्म, कति जनसंख्यामा, कतिले ज्यान गुमाउनु पर्ने र रोग नियन्त्रणको स्थायी विधि के हुने भन्ने अन्योल कायमै छ ।

यो महामारीको असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ । सबै मुलुकका अर्थतन्त्रका शुचाङ्कहरुमा गिरावट देखिन थालेको छ र यसका कारण विश्व अर्थतन्त्र मन्दिमा धकेलिएको छ । अन्तराष्ट्रिय व्यापार र विश्वव्यापी आपुर्ति श्रृङ्खलामा बाधा पुग्न थालेको साथै सबै उद्योग धन्दा, व्यापार व्यावसाय, कलकारखाना बन्द भएसँगै विश्वव्यापी व्यरोजगारी समस्या उक्लिदै गएको छ ।

विश्वव्यापी रुपमा आएको यो संकटमा कृषिजन्य उपभोग्य वस्तुमा समेत अन्य मुलुकसँग परनिर्भर रहेको नेपाल समेत यसको सिकार बन्नु स्वभाविक छ । हाम्रो अर्थतन्त्रका प्राथमिकताका क्षेत्रहरु उर्जा, पर्यटन, कृषि लगायत अन्य क्षेत्रहरुमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । उपभोगमा कमि हुँदा अर्थतन्त्र चलायमान नहुनु, बेरोजगारी बढ्नु, गरिबिको संख्या बढ्नु तथा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न निजि तथा सरकारी क्षेत्रहरुबाट गरिएका लगानीमा अनिश्चितता बढ्नु तथा पर्यटन उद्योग, व्यापार, सेवा, यातायात र कृषि क्षेत्र सबै यसको सिकार भएका छन् ।

कोरोनाको सन्त्रास र लकडाउनका कारण हालसम्म करिब ५०० अर्व रुपैयाँको नोक्सानी एवं १२० अर्वको राजस्व गुमाईएको अनुमान गरिएको छ । साथै वैदेसिक रोजगारीमा गएका युवाहरुबाट करिब ८ देखि १० लाख युवा नेपाल फर्किने र पर्यटन एवं उत्पादनमा आधारित उद्योगहरुमा यसको असर २ वर्ष सम्म रहने अनुमान गरिएको छ ।

यो विशेष परिस्थितीमा विगतबाट पाठ सिक्दै हामीले हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भर एवं सुदृण अर्थतन्त्रको रुपमा विकास गर्न जरुरी छ । विगतमा पनि हामीलाई धेरै पटक समस्याहरु पर्दै आएका हुन् । भुकम्प, नाकाबन्दी, उर्जा संकट, पटक पटकका नेपाल बन्द तथा विभिन्न समयमा हुने राजनैतिक परिर्वतन जस्ता समयमा भएका आर्थिक क्षतिलाई हामीले रिकोभरि गर्दै आजको दिन सम्म आउँन सफल भएका हौं । २०७२ सालको विनासकारी महा भुकम्पबाट प्रभावित नेपालको अर्थतन्त्रमा केहि सुधारको लक्षणहरु विस्तारै देखिदै गएकोमा अहिलेको यो महामारीले धेरै चुनौति थपेको छ ।

भनिन्छ विश्वमा यस्ता महामारीहरु विरलै आउँदछन् र हरेक महामारीले चुनौतिसँगै पछिल्ला दिनहरुका लागि धेरै अवसरहरु पनि सृजना गर्दछन् । अहिलेको यो परिस्थितीमा अर्थतन्त्रको जानकार राख्ने सबै सरोकारवालाहरुले भोलिको अर्थतन्त्रलाई कसरी लैजाने र आत्मनिर्भर सुदृण अर्थतन्त्रको नयाँ गोरेटो बनाउने भन्ने विषयमा गहन अध्यायनका साथ अगाडि बढ्नु जरुरी छ । हाल कोभिड १९ (कोरोना भाईरस) को लकडाउनको कारण हाम्रो अर्थतन्त्रका सबै अंगहरु गतिहिन अवस्थामा छन् यस अवस्थाको सदुपयोग गर्दै हाम्रो अर्थतन्त्रका सबै अंगहरुको सहि अध्यायन र विश्लेषण गरौं । कुन अंगको गति कति छ, कुन चाही अंगमा समस्या छ, कुन चाहिलाई औषधी उपचार गर्नु छ र कुन चाहीलाई परिवर्तन गर्नु छ, त्यसको गहिरो अध्यायन गरौं । यस्तो चुनौतिपुर्ण समयलाई अवसरको रुपमा परिणत नगरी फेरी हामी पुरानै शैलि सहित परनिर्भर अर्थतन्त्रलाई बोकेर अगाडि बढ्न सक्दै सक्दैनौं ।

गत वर्षको आकडालाई हेर्दा हाम्रो मुलुकको जम्मा बजेट १६ खर्व जतिको छ । यसमा ८ खर्व जति रेमिटेन्सबाट, २ खर्व ५० अर्व पर्यटनबाट, १ खर्व ६० अर्व वैदेसिक सहायताबाट प्राप्त हुन्छ । आयातमा १४०० अर्व रुपैया खर्च हुँदा निर्यात मात्र १०० अर्व पनि हुन सकेको छैन । हाम्रो राजस्व संकलन आयातमुखि छ ।

यसरी अर्थतन्त्रमा आँउने पैसाले उपभोग्य वस्तु खरिद गर्ने र उक्त वस्तुहरुको खरिदबाट राजस्व संकलन गरी अर्थतन्त्रको मुल अंग संचालन गर्ने गरिएकोमा यो महामारीले प्रभाव पारेका क्षेत्रहरुको सहि मूल्याङ्कन गरी राहात प्याकेजको घोषणा एवं कृषिको आधुनिकिकरण सहित स्वदेस फर्कन चाहने युवाहरुका लागि युवा लक्षित कार्यक्रम र राजस्वलाई आयतमुखि नभई उद्योग एवं निर्यातमुखि बनाउने योजनाका साथ अगाडि बढ्न सक्नु पर्दछ ।

हालको विश्व परिस्थितिमा सरकार र हामी सबै नागरिक संयम एवं मितव्यायी हुँदै तत्काल अत्यवस्यक वस्तु बाहेक विलासी वस्तुहरुको आयतमा प्रतिबन्ध लगाउने, प्रतिष्पर्धात्मक क्षमताका क्षेत्रहरुको खोजी गर्ने, नागरिकलाई उत्पादनमुखी बनाउने, यहि उत्पादन, प्रशोधन र विक्रि वितरण गर्न सकिने र निर्यात जन्य वस्तुहरुको पहिचान गरी सरकारका प्राथमिकताका क्षेत्रहरुमा परिवर्तन गर्दै र निजि क्षेत्रलाई थप प्रोत्साहित एवं व्यवस्थित बनाउने कार्यक्रमहरुका साथ अगाडि बढेमा पुरानो संरचनालाई भत्काउँदै नयाँ संरचनाको निर्माण अवस्य हुन्छ । यसले नै हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भर र सुदृण बनाउँछ जुन अर्थतन्त्र भोलिको विश्व अर्थतन्त्रसँग दरीले गरी अगाडि बढ्न सक्छ ।

पाैडेल वालिङ उद्योग वाणिज्य संघको अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार ०९:५६