२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

नेकपालाई अनुरोधः आम जनताले विश्वास दिएको सरकारप्रति घृणा फैलाउने काम नहोस्


-मोहन पाण्डेय

कोभिड १९ (कोरोना भाइरस) रुपी महामारीले सिङ्गो संसार आक्रान्त छ । यसकै कारण विश्वको अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगिसकेको छ । आइ.एल.ओ.ले महामारीका कारण विश्वभरिमा सवा १ अर्वको रोजगारी प्रभावित हुन सक्ने जनाएको छ । नेपाल पनि यसबाट अछुतो छैन । महामारीबाट सिर्जित कारुणिक दृश्य र सम्भावित भयावहले हामीलाई यो शिक्षा दिएको छ कि हामी सुरक्षित हुन हामी आँफै सतर्क बन्नु पर्दछ । साथै उक्त महामारीका विरुद्ध सिङ्गो देश एकढिक्का भएर भिड्नु अहिलेको तात्कालिक आवश्यकता पनि हो । तर विडम्बनाको कुरो शताब्दीको सबैभन्दा ठूलो मानव जातिमाथिको महामारीका विरुद्ध सिङ्गो संसार लडिरहँदा देशको सबैभन्दा ठूलो सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा सरकारको नेतृत्व परिवर्तनसम्बन्धी विषयले प्राथमिकता पाएको छ । जुन विषय अत्यन्तै असान्दर्भिक महसुस भैरहेको छ । यस्तो लज्जास्पद चित्र आम नेपालीहरुले टुलुटुलु हेरेर बस्न बाध्य छन् ।

केही दिन अघि सरकारद्वारा जारी गरिएका दुई अध्यादेशले नयाँ तरङ्ग सृजना गरे । जुन पार्टी भित्र र बाहिर चर्काे आलोचना पछि सरकारले फिर्ता लिईसकेको छ । राष्ट्रिय राजनीतिसँग सरोकार राख्ने विषयवस्तु पार्टी भित्र राम्रोसँग छलफल नै नगरी सरकारले एकल निर्णय गर्नु राम्रो होइन । तर अध्यादेश फिर्ता भई एक ढंगले समाधान भैसकेको विषयवस्तुलाई मुख्य आधार बनाएर पार्टी र सरकारको नेतृत्वबाट केपी ओलीलाई हटाउने सम्बन्धमा नेकपा सचिवालयको बैठकमा बहस केन्द्रित हुनु युक्तिसंगत देखिदैन ।

करिव दुई तिहाई बहुमत प्राप्त सत्ताधारी पार्टीको सचिवालयको बैठकका एजेण्डा विद्यमान महामारीका विरुद्धको लडाइमा सिङ्गो शक्ति र उर्जा उपयोगका लागि हुनुपर्ने हो । तर अहिले यो विषयवस्तुलाई नै ओझेलमा पार्ने गरी सत्ता परिवर्तनलाई महत्व दिएको भान हुन्छ । जुन अहिलेको अवस्थामा विल्कुलै सुहाउने कुरा होइन । आज हामीले विदेशबाट नेपाल फर्कन चाहेका लाखौँ युवाहरुलाई आफ्नै गाउँ बस्तीमा रोजगारीको अवसर सृजना गर्ने तर्फ चिन्तन गर्नु पर्नेछ । सँगसँगै महामारीबाट पीडित व्यक्ति, क्वारेन्टाइन र आइसोलेसनमा बसेका जनसमुदायलाई मलहम पट्टी लगाउनु पर्ने बेला छ । महामारीलाई परास्त गर्दै आर्थिक रुपमा समृद्धि प्राप्त गर्नका लागि गाउँवस्तीमा युवाहरुलाई संलग्न गराई कृषि क्रान्ति गर्ने तर्फ चिन्तन मनन गर्नु पर्ने टड्कारो आवश्यकता छ । महामारीले आक्रान्त पारेको बेला शक्तिशाली ‘सचिवालय’ बैठकमा महामारी नियन्त्रण र यसले पारेका नकारात्मक असर न्यूनीकरण गर्ने विषयले प्राथमिकता पाउनु सबैभन्दा उपयुक्त हुन्छ । त्यसैले सचिवालयको ध्यान अत्यावश्यक विषय भन्दा फरक विषयमा केन्द्रित हुनु लज्जास्पद विषय हो । साथै निहित स्वार्थ प्रेरित ढंगबाट संचालित केही मिडियाबाट आफ्नै नेता, पार्टी र सरकारका विरुद्ध भैरहेका अनर्गल प्रचारबाजीलाई नियन्त्रण गर्न नसक्नु नेकपा नेतृत्वको ठूलो कमजोरी हो । संकटको अवस्थामा मानवीय संवेदनासँग खेलेर आफ्नै नेता, पार्टी र सरकार विरुद्ध प्रहार जारी राख्ने यस्ता हर्कतहरु कदापि क्षमायोग्य हुन सक्दैनन् । यस विषयमा नेकपा नेतृत्व सजग र सतर्क हुनु जरुरी छ ।

राम्रो काम गर्नेलाई जनताले स्यावासी दिन्छन् भन्ने प्रसस्त उदाहरण हाम्रा अगाडि छन् । मनमोहन अधिकारी नेतृत्वको नौ महिने शासनले जनताबीच मीठो छाप छोड्यो । त्यसैको प्रतिफलस्वरुप तत्कालिन नेकपा एमाले दोश्रो स्थानीय निकायको निर्वाचनमा पहिलो बन्न सफल भयो । अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी ओलीले खेलेको भूमिका र राजनैतिक स्थिरताको आशामा आजको नेकपालाई नेपाली जनताले झण्डै दुईतिहाइ बहुमत दिएका हुन् । जनताको यो अमूल्य उपहार समृद्ध नेपाल निर्माण तथा स्थायित्व र दीर्घकालीन शान्तिका लागि हो । जुन केही घरेलु र वाह्य तत्वलाई चित्त नबुझेको स्पष्ट देखिन्छ । त्यसैले यो बलियो पार्टीको भविष्यलाई छिन्नभिन्न पार्न हरतरहरले खेल्नेहरु हिजो देखि नै निरन्तर लागिरहेका छन् । अस्थिरता सृजना गर्न चाहनेहरुले पार्टीमा किचलो ल्याउन साम दाम दण्ड भेद लगायतका अनेक तिकडम र षडयन्त्र गर्न पनि पछि पर्दैनन् । पार्टी नेतृत्वले यो राम्ररी बुझ्नु जरुरी छ । त्यस्ता षडयन्त्रको गोटी बनेर कोही कसैले क्षणिक मनोरञ्जन लिन खोज्छ भने त्यो पछिल्लो निर्वाचन मार्फत् नेपाली जनताले व्यक्त गरेको भावना र मर्म विपरित हुन्छ । त्यस्तालाई इतिहासले कहिल्यै माफी दिने छैन ।

काम गर्ने क्रममा गल्ती कमजोरी हुनु मानवीय स्वभाव हो । असल राजनीतिज्ञले आत्माआलोचना गर्दै गल्ती सच्याउनु पर्दछ । समाधान भैसकेको विषय उठान गरी समय र परिस्थितिको गाम्भिर्यतालाई कम आकलन गर्दै बेमौसममा राजनीतिक दाउपेचको मुद्दा बनाइनु उचित मान्न सकिदैन । आज संकटको घडीमा महामारी विरुद्ध जुध्नेहरुलाई उत्प्रेरित गर्दै काँध थाप्नु पर्नेमा असहयोग गर्ने प्रवृत्ति मौलाएको छ । यस्तो गलत संस्कृतिको विकास भविष्यका लागि समेत प्रत्युत्पादक हुन सक्छ । यस्ता गतिविधिले हामी कसैको पनि भलो गर्दैन ।

सचिवालयमा भएका नेताहरुको विगतको त्याग र संघर्ष उच्च कोटीको छ । लामो समयदेखि पार्टीमा योगदान दिएका प्रशस्तै नेतागण पार्टीले सुम्पने जुनसुकै जिम्मेवारीका लागि योग्य हुनुहुन्छ । त्यस्ता व्यक्तिका लागि उचित समयमा उचित मूल्याङ्कन हुनुपर्छ र हुन्छ भन्ने हाम्रो विश्वास हो । तर लोकले नै लाज मान्ने गरी कुबेलामा निर्वस्त्र हुने छूट कसैलाई छैन । यसले नाच्ने, नचाउने लगायत सिङ्गो पार्टीलाई नै धरासायी बनाउँछ भन्ने पनि बुझ्नु जरुरी छ ।

यसरी देशलाई नै अस्थिरमा धकेल्ने विषय सचिवालयको बैठकको एजेण्डा बन्नु अत्यन्तै दुःखद हो । आज त महामारी विरुद्ध विजय प्राप्त गर्न एकीकृत पहलकदमी लिनु र महामारी पश्चात् आर्थिक उन्नतिका लागि के गर्ने भन्ने वृहत् योजना तर्जुमा र सोको कार्यान्वयनमा लाग्नु पर्ने हो । यस्तो बेलामा सत्ता परिवर्तन तर्फ होइन सरकारलाई झन् बलियो र उत्तरदायी बनाउनु पार्टी सचिवालयको मूख्य कर्तव्य हो । त्यसैले, यस्ता अप्रासाङ्गिक विषयवस्तुलाई चटक्क छोडेर सरकारलाई सफल बनाउन पार्टी सचिवालयले भूमिका खेल्नु उपयुक्त हुन्छ ।

आगामी सचिवालयको बैठकले सरकार बचाउने वा ढाल्ने एजेण्डा खारेज गरोस् । विगतका दिनमा पार्टी अध्यक्षहरु लगायत सचिवालयका सदस्यहरुका तर्फबाट भए गरेका सबै कमी कमजोरीहरु प्रति आत्माआलोचित हुँदै आगामी दिनमा फेरि यस्ता गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गरियोस् । बैठकले शक्ति, सत्ता र पद सम्बन्धी छलफल महामारीको अन्त्य नभएसम्म कुनैपनि कोणबाट नउठाउने कसम खाओस् र महामारीसँग जुध्न एकताबद्ध भएर लड्ने प्रतिबद्धता व्यक्त गरोस् । त्यस्तै, एकले अर्काेलाई कसरी लडाउने भन्ने कुचिन्तनलाई त्यागी सिङ्गो पार्टीलाई एक ढिक्का बनाएर कोरोना महामारीलाई परास्त गर्ने खालको नयाँ कार्यक्रम ल्याउन सरकारलाई सहयोग गरोस् । कोरोना महामारीका विरुद्ध जोडदार रुपमा कसरी लडाइँ गर्ने ? ठूलो आर्थिक संकटको सामना र न्यूनिकरण कसरी गर्ने, विदेशमा भएका नेपाली नागरिकहरु नेपाल फर्किसके पछि तिनीहरुको कसरी ब्यवस्थापन गर्ने, रोजगारीका अवसर कसरी सृजना गर्ने, सबै किसिमको बेथितिबाट देशलाई कसरी मुक्त गर्ने भन्ने विषयमा घनिभूत छलफल गरोस् । दैनिक ज्यालादारीमा काम गर्ने र न्यून आम्दानी हुने वर्गलाई लक्षित गरी विशेष राहत प्याकेजको व्यवस्थाका लागि सरकारलाई आवश्यक परामर्श प्रदान गरोस् ।

अन्त्यमा, फलामे पिंजडामा समेत गरीे लामो जेल जीवन व्यतीत गरेका कमरेड केपी ओली, १० वर्ष लामो ऐतिहासिक जनयुद्धको नेतृत्व गरेका कमरेड प्रचण्ड तथा बादल, लामो समयसम्म कठोर भूमिगत जीवन व्यतीत गरेका राजनैतिक परिवर्तन अगुवाहरु कमरेड माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोख्रेल एवं विष्णु पौडेल लगायतका त्यागी नेताहरु अटाएको सचिवालयमा यस्ता तुच्छ कुराले प्रश्रय पाउन सुहाउँदैन ।

त्यसैले, सैद्धान्तिक र वैचारिक मत भिन्नताविहीन स्वार्थप्रेरित राजनीतिक दाउपेचको पूर्ण अन्त्य होस् । हजारौँ सहिदको बलिदानले निर्मित व्यवस्थाप्रति र आम जनताले विश्वास गरेर निर्वाचित गरेको सरकारप्रति घृणा फैलाउने काम नहोस् । कम्युनिष्टप्रति देखिएको नेपाली जनताको आशा र भरोसा सदा अक्षुण्ण राख्न पार्टी र सरकारले भूमिका खेलोस् । विगतको त्याग, संघर्ष र बलिदानद्वारा निर्मित नेताहरुको छविमा कालो दाग लाग्न नदिइ आगामी निर्वाचनमा जनता सामु शीर ठाडो पारेर मत माग्न जान सक्ने नैतिक धरातल कायम गर्न नेताहरु सफल होउन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक पूर्णरुपमा सफल होस् । शुभकामना ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार २१:५९