१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मुस्ताङको मुक्तिनाथमा धार्मिक पर्यटकको चापमा बृद्धि


२ जेठ, बागलुङ । मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ ।मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् । नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको भ्रमण गरेका छन् । फागुन र जेठ पनि पर्यटकीय याम हो ।

सन् २०१८ को अप्रिलमा मुक्तिनाथ घुम्ने बाह्य पर्यटकको संख्या नौ हजार १०५ रहेको छ । सबैभन्दा बढी आठ हजार ५५६ पर्यटक भारतीय रहेका छन् ।

मुक्तिनाथ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । बाह्यको तुलनामा दोब्बर आन्तरिक पर्यटकले मुक्तिनाथको भ्रमण गरेको बताइएको छ । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख तुलसीप्रसाद दाहालले जेठ अन्तिमसम्म मुक्तिनाथमा पर्यटकको चाप बढ्ने बताएका छन् ।

दैनिक सयौं बाह्य पर्यटक मुक्तिनाथ आइरहेका छन्, आन्तरिक पर्यटकको पनि घुइँचो भएको दाहाले बताए ।
मुक्तिनाथ, रानीपौवास्थित ‘स्रेने गेष्ट हाउस’ का सञ्चालक रामहरि फुयाँल बास बस्ने पर्यटक बढेको बताउँछन् ।
जोमसोमका होटल व्यवसायी अनिता शेरचन पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढेको बताउँछिन् ।
एक्याप जोमसोमका प्रमुख दाहालका अनुसार म्याग्दीहुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको संख्या सबैभन्दा बढी छ । यस्तै, मनाङहुँदै थोरङ्लापास भएर मुस्ताङ छिर्ने पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ । मुस्ताङ छिर्ने अधिकांश पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । सूचना केन्द्रका अनुसार वर्षेनी मुक्तिनाथ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ ।

गत वर्ष कूल ४६ हजार ६७५ बाह्य पर्यटकले मुक्तिनाथ घुमेका थिए । सन् २०१८ मा उक्त संख्या थप बढ्ने अनुमान गरिएको छ । मुक्तिनाथ नपुगी अन्य मार्गबाट उपल्लो मुस्ताङको लोमान्थाङ लगायतका गन्तव्य घुम्ने पर्यटक पनि छन् । गतवर्ष ५२ हजार बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १४:३३