१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोरोना रोकथामका लागि सरकारको तयारी उत्कृष्ट छ, हामी नागरिक सयंमित भएर घरभित्रै बसाैँ


-रूपेश खतिवडा 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको राजनीतिक प्रतिनिधि संस्था हो । यो दुईवटा ठुला कम्युनिस्ट पार्टीहरुको एकता पछि निर्माण भएको एकिकृत पार्टी हो । यसले आज “सुखी नेपाली, समृद्ध नेपाल “को नारा अघिसारेर सरकारको नेतृत्व गरिरहेको छ । यस पार्टीले अङ्गिकार गरेको बाटो सहि छ । हामीसँग कुनै नीति र विचार को समस्या छैन ।

पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो । जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवादको सन्दर्भमा आगामी महाधिवेशनसम्म छलफल गरि निश्कर्षमा पुगिनेनैछ । अहिलेको न्युनतम कार्यक्रम जनताको जनवाद हो र यो समाजवाद उन्मुख छ । मुख्य रुपमा यसको कार्यन्वयनमा कुशलता र दृढता पूर्वक लाग्ने कुरा नै हो।

अब वर्तमानको महत्वपूर्ण विषयमा प्रवेश गरौं । अहिले हाम्रो सामुन्ने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)वाट सम्पूर्ण मानव आक्रान्त भइरहेको छन् । यसबाट प्रत्येक नागरिकलाई बचाउनुपर्ने तत्कालको चुनौती र कार्यभार नेकपा र सरकारसँग रहेको छ । यस काममा पार्टी नेतृत्व कार्यकर्ता र सबैतहका सरकार अल्मलिनु हुदैन । साथै पार्टी र सरकारकोविरुद्ध विपक्षी र प्रतिक्रियावादीहरुले फैलाएका भ्रमबाट पनि अल्मलिनु हुदैन ।

आफुले हिडेको बाटो वा वैचारिक आस्थाप्रति आशा, उत्साह तथा आत्मविशवास जगाउनुको सट्टा “यो पार्टी र सरकार ठीक बाटोमा हिडेन”, “सबै नेताहरु स्वार्थी, कुलिन र भ्रष्ट भए” आदि जस्ता कुराहरू सामाजिक सञ्जालमा पोष्ट गरेर भ्रम फिजाउँन र प्रतिक्रियाको आत्मरतिमा रमाउने कुराले पार्टी र सरकारलाई सहयोग पुग्दैन । साथै नयाँनयाँ उत्साह र आशा अनि एकताको सन्देश जागृत गराउन सकिदैन । अहिले त हामी सम्पूर्ण एक भएर हाम्रो सामू मृत्युको दुत बनेर आएको कोरोना भाइरसलाई परास्त गर्नुको विकल्प छैन ।

सरकारले डे वानदेखि संयमित भएरै सीमित स्रोतले भ्याएसम्मका उपायहरु खोजी गरि हामी नागरिकका लागि काम गरिरहेको देखिरहेका छौंँ । जहासम्म स्वास्थ्य सामाग्री खरिदको बिषय छ चाडो खरिद गरि सेवा प्रवाह गर्ने उद्देश्यले एउटा सम्झौता गर्यो तर भेन्डर कालोबजारी पर्यो । तत्कालै सम्झौता रद्द गरि अर्को विकल्पका लागि सरकार लाग्यो । हमीलाई छिटो भन्दा छिटो स्वास्थ्य सामाग्री चाहिएको छ । तर कमिसन नपाएर रन्थनिएर त्यसैको बिरोधमा न्वारदेखिनको बल लगाइरहेका एक थरीका मान्छेहरू ।

विश्वमै मानवजाती नै लोप नै हुने हो कि भन्ने डर सिर्जना भैरहेको प्ररिप्रेक्षमा हामी भने अनावश्यक हल्ला र भ्रम फिजाएर नागरिकलाई कसरी उत्तेजित बनाउन सकिन्छ भनेर लागिरहेका छाैँ जुन सर्वथा गलत हो । स्वास्थ्य सामाग्रीको विषयलाई लिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल माथि भएको जतिपनि प्रहार छ त्यो एक दिन सत्यका सामू निरीह हुनेछ । र प्रहार गर्नेहरूले पश्चाताप गर्नुपर्ने छ । अलिकति पनि खराब नियत नभएका मन्त्री माथि प्रहार गर्नका लागि जो जहाँबाट लागेका छन तिनको पनि इतिहासमा कुनै दिन हिसाबकिताब अबश्य नै हुनेछ ।

विश्व परिवेश हेर्ने हो भने नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले जति गरेको छ त्यो एकदम उत्कृष्ट काम गरेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले देखाएको अग्रसरता र यस्तो विषम परिस्थितिमा पनि मन्त्रीले दैनिक १८ घण्टा भन्दा बढी खटेर जे गरेका छन त्यो हाम्रो स्वास्थ्य र भविष्यका लागि हो । त्यसकारण हामीले यो समयमा स्वास्थ्य मन्त्रालय र मन्त्रीको मनोबल बढाउनका लागि रचनात्मक सुझाव दिने हो न कि राम्रो नियतले गरेका काममा दुर्नियत खोज्दै हिड्ने ।

पुरै देश एक ढिक्का भएर कोरोनाविरूद्धको लडाइँमा होमिएको छ । यही सन्दर्भमा भएका सर्वदलीय बैठकदेखि अन्य छलफलमा र विपक्षी दलका नेताहरूले समेत सरकारी कदमको खुलेर प्रशंशा गरेका छन । तर केही विचाैलियाहरू भने विपद्को माैका छोपेर कमाउन नपाएको रिस स्वास्थ्य मन्त्रालय र मन्त्रीमाथि थोपर्ने जवर्जस्ती प्रयास गर्दैछन ।

यो कठिन परिस्थितिमा सबैलाइ मिलाएर अघि बढाउँदै काम गर्नु कम्ति चुनाैतिपूर्ण छैन यद्यपी मन्त्री ढकालले सहजै काम अघि बढाइरहनु भएको छ । स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ भने स्वास्थ्यकर्मी र चिकित्सकका लागि बीमा र भत्ताको समेत व्यवस्था गराउने निर्णय मन्त्रिपरिषद्बाट गराउनु भएको छ । कुनै अवस्थामा कोरोनाले महामारीको रूप धारण गर्यो भने त्यसको उपचारका लागि अस्पतालहरू तयारी अवस्थामा राखिएको छ । यो विपद् पूर्वको राम्रो तयारी हो ।

विपक्षी त विपक्षी नै भइगए सरकार आफैँ चलाएको जसरी कहिले “सिधा कुरा “त कहिले बाङगा कुरा गरेर चौँथो अंगको बेइजत गर्नेहरू अहिले विभिन्न व्यपारीहरूको स्वार्थमा चिप्पिलिरहेका छन । यो परिस्थितिमा पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हो तर कसरी हुन्छ सरकारको तयारी नै विफल पाराैँ भनेजस्तै गरी लागेको देखिन्छ ।

कोरोनाको त्रासका बीचमा सरकारले गरेको काममा खोट खोजेर अहिले निहुँ खोज्ने सञ्चार माध्यम भनाउँदा डिजिटल भिडतन्त्रले पछि पश्चातप व्यहोर्नुपर्नेमा कुनै शंका छैन । त्यसकारण अहिले समयमा सरकारले दिएको नीति निर्देशनको पूर्ण पालना गर्दै कोरोनाविरूद्ध लडाैँ । राजनीतिक प्रतिस्वपर्धा वा अरू केही गर्न परे हामी पनि मैदानमै छाैँ । कोरोनापछि खुलेर भिडाैँला । अहिले सबै नागरिक लकडाउनको पूर्ण पालना गरी घरभित्रै बसाैँ । #stay home safely and happily.#

(खतिवडा नेकपा मोरङको सचिवालय सदस्य तथा स्कुल विभागको प्रमुख हुनुहुन्छ ।)

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार १२:२८