१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोरोनाबारेको भ्रामक समाचार, बालबालिका र हाम्रो दायित्व


-तिलोत्तम पौडेल

बालबालिका भनेका बालबालिका नै हुन् । बालबालिकालाई बालपनमा नै रमाउन दिनु पर्दछ । कहिलेकाही हामीले भनेको जस्तो सबै कुरा बालबालिकाले गरिदिउन भन्ने चाहाना राख्दछौँ । तर ती सबै कुरा पूरा गर्न गा¥हो छ । साथीहरूसँग खेल्ने घुलमिल हुने, जिज्ञासु, धैर्यतामा कमी, अस्थिर देखिनु, चंचलता देखिनु, बालपनको स्वभाव र व्यवहार हुन् । तसर्थ उनीहरू एकै स्थानमा लामो समयसम्म बसिराख्न रुचाउँदैनन् । हामी वयस्कहरूले बालबालिकालाई राम्रो धैर्यवान भएको देख्न खोज्दै गर्दा हाम्रो विगतका जीवनका आफ्ना भोगाइ, सिकाइ र वर्तमान समयमा आएको उतारजढाव तथा विज्ञान र प्रविधिलाई पनि हेर्नुपर्दछ ।

अहिले विश्वका अधिकांश देशहरू नोबेल कोरोनाको असरबाट पीडित र प्रभावित छन् । यसको संक्रमण विश्वका सम्पन्न देशहरू– चिन, अमेरिका, इटाली, स्पेन, जर्मन, फ्रान्स, जापान जस्ता देशहरूमा नै सबैभन्दा बढि जोखिममा रहेको जानकारी हामीले पाईरहेका छौँ । विश्वस्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्कअनुसार विश्वमा ७ लाख ३७ हजार ५ सय ७७ जना (लेख लेख्दासम्मको तथ्याङ्क) व्यक्तिहरू संक्रमित भएका छन् भने ३४ हजार ९ सय ९८ जनाको मृत्यु भईसकेको छ । २०१९ डिसेम्बरबाट सुरु भएको यो कोरोना संक्रमणबाट तीन महिनाको अवधीमा पहिलो २ महिनामा भन्दा पछिल्लो चरणमा यसको प्रभाव व्यापक रुपमा फैलनु विश्वको लागि ठूलो चुनौतिको रूपमा खडा भएको समाचारहरू हेर्न हामी विवस छौँ ।

नेपाल सरकारले पनि सुरुवातिका दिनहरूमा कोभिड १९ लाई प्राथमिकतामा राख्न खोज्दा खोज्दै पनि केही व्यवहारिक र प्राविधिक व्यवस्थापनमा केही कमी भएको देखिन्छ । तर पछिल्लो चरणमा नेपाल सरकारले आम जनताको जीवन सुरक्षालाई मध्य नजर राख्दै सीमाका नाकाहरू बन्द गर्नेदेखि हवाइ र सडक यातायातमा रोक, शैक्षिक संस्थाहरू बन्द सहितका सम्पूर्ण देशलाई नै लक डाउन गर्ने लगायत अस्थायी कोरोना अस्पताल, आइसोलेसन र क्वारेनटाइनको व्यवस्था सहित विदेशबाट आएका सम्भावित व्यक्तिहरूको खोजिनिती र आवश्यक मेडिकल किटहरूको व्यवस्थापन जस्ता कार्यलाई तिब्र गतिमा अगाडि बढाइरहेको छ । तीनै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट अत्यन्त प्रशंसनीय र उत्तरदायीपूर्ण कार्य अगाडि बढाई राखेको देखिन्छ । शैक्षिक संस्था बन्द भैरहेको र नयाँ शैक्षिक सत्रपनि सुरु नभै सकेको अवस्थामा बालबालिका घर परिवारमानै छन् । परिवार बाहिर सुधार गृह, बालगृहका बालबालिकालाई पनि परिवारको जिम्मा लगाउने प्रयत्न राज्यले गरिरहेको छ ।

तथापी दिउसो भरी काम गरी बेलुका चूलो बोल्ने परिवारदेखि आर्थिक सम्पन भएका सबै जात, भाषा, धर्म, लिङ्ग, वर्ष, उमेर र क्षमता भएकाहरूको एउटै सवाल बनेको छ । विश्वनै प्रताडित बनेको कोरोना भाइरसबाट आफू र परिवार कसरी जोगिने भन्नेमा नै केन्द्रित छ ।
विभिन्न काम व्यवसाय अध्ययनको सिलसिलामा देश भित्र र बाहिर रहेकाहरू एकै घरका सदस्यहरु कोरना विरुद्ध लड्न जम्मा भएको अवस्थामा हाम्रो बालबालिकालाई कसरी सुरक्षित ढङ्गबाट राख्ने भन्ने विषय राज्य र परिवारको दायित्व भित्र पर्दछ । रोग लाग्न भन्दा अगाडि रोग लाग्नबाट जोगिन उपाय खोज्नु र सुरक्षित हुनु सबैभन्दा राम्रो कुरा हो । तर पनि हाम्रो पूर्व तयारीमा जहिले पनि कमी नै हुने गर्दछ । बाटो, घाटो, पूल, कूलेसो, ठूला–ठूला भवनलाई मात्र विकास देख्ने हाम्रो सोचले गर्दा समयमा शिक्षा र स्वास्थ्यमा आवश्यक सचेतना, कार्यमा लगानी गर्न हिच्चकिचाउने कारण गर्दा अहिले स्वास्थ्य क्षेत्रमा आवश्यक इकोमेन्ट र किटहरूको अभाव छ ।

हामीहरूले हाम्रो बानी व्यहोरा व्यक्तिगत सरसफाईलाई बेवास्ता गरी राज्यलाई दोष थुपारिदिने र आलोचना गर्ने बानी नै भईसकेको छ । स्वास्थ्य र सरसफाईको सन्दर्भमा नागरिक संघसंगठन, विकासका साझेदार संस्थाहरू, संयुक्तराष्ट्र संघीय निकायहरूले पनि आ–आफ्नो ठाउँबाट कामहरू विशेषत सचेतनाका कामहरू गर्दै आईरहेका छन् । त्यसलाई अझै संवेदनशिल, दिगो बनाउँदै राज्यले निरन्तरता दिने पाठहरू यस्ता प्रकोपहरूले हामीलाई सिकाएको छ । नागरिक संघसंगठनहरू र साझेदार संस्थाबाट प्रशिक्षित बालक्लव, युवाक्लव, महिला समूह, किशोरकिशोरीहरूको समूहहरूले अन्य सरोकारवालाहरुसँग मिलेर आज कोरोना विरुद्ध अभियानमा आ–आफ्नो ठाउँबाट राज्यको निर्णय कार्यान्वयनमा सघाई पु¥याईरहेका सामाजिक सञ्जालबाट देख्न पाइन्छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी, अति आवश्यक कुरा उपलब्ध गराउने व्यवसायीहरू तथा यस्तो परिस्थितिमा रातदिन खटिने कर्मचारी तथा सहयोगी संघसंस्थाहरू धन्यवादका पात्र हुन् । यस्तो समय हामीले बालबालिकालाई कसरी जोगाउने भन्ने सन्दर्भमा विशेष ध्यान दिन जरुरी रहन्छ । उनीहरूलाई कोरना र यसको लक्षण र बच्ने उपायको बारेमा बालमैत्री भाषा, खेल, छलफल, कुराकानी, चित्रको माध्यमबाट वयस्कहरूलाई प्राप्त आधिकारिक सूचनाको आधारमा प्रष्ट पार्नु पर्दछ ।

बेलाबेला हात धुने, सिकाउने र सानासाना बच्चाहरू घर भित्र बाहिर हातले टेकेर समेत खेल्ने भएकोले हात सफा राख्नु र उनीहरूलाई छुनुपूर्व सधैं अभिभावकले हात सफा गर्नु पर्दछ । किशोरावस्थाका बालबालिकालाई कोभिड १९ सम्बन्धी स्पष्ट जानकारी प्रदान गर्दै उनीहरूलाई सफा रहन र उनीहरूका माध्यमबाट साना–साना भाई बहिनीलाई सिकाउन समेत प्रोत्साहित गर्नु पर्दछ । बालबालिकाको आवाज सधैं सुन्नुस र उनीहरूले भनेका कुराहरू कती तथ्यमा आधारित छन् । कति गलत छन् अभिभावकले थाहा पाउनु पर्दछ ।

उनीहरूलाई गलत तथ्यतिर जानबाट जोगाउदै किशोरावस्था संवेदनशिल हुने हुँदा उनीहरूमा कोभिड १९ प्रति गलत र डरलाग्दा भ्रमित सामाचार सामाजिक संजालबाट आएका गलत जानकारी लगायत चित्र, टेलिभिजनमा देखाउने डरलाग्दा तस्विर आदिका कारणले उनीहरूको मनमा कहिले काही डर त्रास उत्पन भई मनोसामाजिक समस्या पनि पर्न सक्छ । त्यस तर्फ चनाखो हुन जरुरी छ । त्यसैले अभिभावकले बालबालिकामा सहि र सत्य सन्देश प्रवाह गर्नु पर्दछ । मनोसामाजिक समस्यालाई सम्बोधन गर्न नसकेमा बालबालिकाले नकारात्मक बाटो लिन सक्ने भएकोले उनीहरूको दैनिकीमा परिवर्तन जस्तै खाना नखाने, एक्लै बस्ने तथा सुत्न डराउने, एकोहोरिएर बस्ने, झर्कने, रिसाउने जस्ता व्यवहारमा परिवर्तन जस्ता कुरा देखिएमा बालमनोबैज्ञानिकसँग छलफल गर्नुपर्दछ ।

सरुवा रोग तथा भाइरसबाट सर्ने कुनै पनि रोगबाट सबै भन्दा धेरै पीडित र प्रभावित बालबालिका हुने गर्दछन् तसर्थ कोभिड १९ ले बालबालिकालाई कुन अवस्थासम्म प्रभाव पर्दछ भन्ने विषयमा अहिलेसम्म आधिकारिक अनुसन्धान नभएता पनि यसबाट उनीहरूलाई पहिलो प्राथमिकतामा राखेर संरक्षण गर्नु हरेक अभिभावक तथा सरकारको दायित्व हो । बालबालिका, गर्भवती महिला र जेष्ठ नागरिकहरूलाई यो समयमा बढि ध्यान दिन जरुरी छ । कुनै पनि रोग नआएको समयमा पनि मौसमी रुघा खोकी, ज्वरो, एलर्जीबाट पहिला बालबालिका, गर्भवती महिलाहरू नै प्रभावित हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।

प्राय साना बालबालिकाले खेल्ने, उफ्रने, गर्दछन् त्यस समयमा लड्न र घाउचोटपटक लाग्न पनि सक्छ त्यस्तै जुनसुकै कुरा मुखमा हाल्ने, औला मुखमा हाल्ने, नाक कोट्याउने र आँखा मिच्ने, पानी खेलाईराख्ने गर्ने गर्छन । यसलाई न्यूनिकरण गर्न अभिभावकले सधैं ख्याल राख्दै बालबालिकालाई सफा राखिदिनु अति आवश्यक छ ।

सामान्यतया बालबालिका आफूलाई मनपर्ने व्यक्तिको नजिक जाने, अंगालो मार्ने, किस खाने अर्थात माया गर्ने, हात मिलाउने मन पराउने गर्दछन् । उनीहरूलाई खानेकुरा केही दिएमा छिटो झ्याम्मिने गर्दछन् । तसर्थ बाहिरका मानिसहरूसँग बालबालिकालाई टाढा राख्न जरुरी छ । कोरना भाईरसबाट आफूले र परिवारलाई जोगाउनको लागि महŒवपूर्ण कुरा भनेको संक्रमित व्यक्तिको सम्पर्क पुग्नबाट रोक्नु र घरमानै बस्नु नै हो । बालबालिका जिज्ञासु, उत्साहित अस्थिर हुने भएकोले एकै ठाउँमा बस्न रुचाउँदैनन् तसर्थ उनीहरूलाई व्यस्त राख्न अभिभावकहरूले निश्चित दुरी कायम राखी समय प्रदान गर्नु नै हो । उनीहरूलाई विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयबाट जारी गरेको सत्य र उपयुक्त खालका सन्देशहरू पटक–पटक बुझिने गरी सुनाउने गर्नु पर्दछ ।

अभिभावक बाहिर आपतकालीनका लागि जाँदा समेत बाहिर बालबालिका लिएर जानु हुँदैन । उनीहरूलाई विशेष घरमा नै क्यारम बोर्ड, लुडो, चेस, बाघचाल, पजल, ब्लक गेम वा यस बाहेकका घरमा नै उपलब्ध हुने स्थानीय स्रोतसाधनबाट बन्न सक्ने सामाग्रीबाट खेल खेल्न प्रोत्साहित गर्नुपर्दछ । रुटिङ बनाई विगतको कक्षामा पढेका कुराको समीक्षा र अब नयाँ कक्षामा जाँदा पढ्नुपर्ने सम्भावित कुराहरू, राम्रो अक्षर लेख्न सिकाउने, हिसाब गर्न सिकाउने गर्न सकिन्छ ।

उनीहरूसँग खेल्दा खेलाउँदा हाम्रो धर्म संस्कृति, विगतका वयस्कका अनुभवहरू कथाको रुपमा भन्न सकिन्छ । घरभित्रै उमेर र क्षमता अनुसार हाजिरी जवाफ, हिज्जे पनि गर्न सकिन्छ । बालबालिकालाई चित्र बनाउन, बाल गीत, कविता, लेख्ने कार्यमा प्रोत्साहित गर्ने, स्थानीय स्रोत सामाग्रीबाट सानोसानो घरहरू, बनाउने, डोरी, चुंगी, गुच्चा खेल्ने, योगा तथा शारीरिक व्यायममा प्रोत्साहित गर्नुपर्दछ । बालमैत्री सचेतना मूलक फिल्महरू पनि देखाउन सकिन्छ । ट्राफिक नियम, अपाङ्गता भएका, दृष्टि विहिनहरूलाई सहयोग गर्नुपर्दछ । सानोलाई माया, ठूलालाई आदर गर्ने, हजुर तपाईं भन्ने कुरा पनि सिकाउने बुझाउने उपयुक्त समय हो । लकडाउन र यो विद्यालय बन्दको समयलाई सदुपयोग गर्न बालबालिकालाई आफ्नो काम आफै गर्नुपर्दछ ।

घरको काममा पनि हामीले सहयोग गर्नुपर्दछ भन्ने दिशानिर्देश पनि गर्न सकिन्छ । हाम्रो रीतिरिवाज अनुसारको खानाहरू, बनाउने, आफूले खाएको भाडा सफा गर्न लगाउने, कपडा पट्याउने, घर सरसफाई गर्न, सर्टको टाक, जुत्ताको तुना, पुस्तकहरूमा कभर हाल्ने, जनप्रतिनिधी, राष्ट्रप्रमुखको नाम सोध्ने, उमेर र क्षमता अनुसार कलर चिन्ने, किताबहरू मिलाउने, स्वास्थ्य र सरसफाईको विषयमा सँगसँगै सिकाउने र उनीहरूलाई व्यस्त राख्नुपर्दछ । यस्तो समयमा सञ्चार माध्यम, फेसबुक, अनलाईन मिडिया, समाचारहरू सबै बालबालिकामैत्री छैनन् । कतिपय सञ्चारमाध्यममा आएका भ्रामक, पुस्टी नभएका, अनुमानका आधारमा आएका हुन्छन् । यस्ता विषयले यस्ता विषयले बालबालिकालाई मनोसामाजिक समस्या सिर्जना हुनसक्ने र बढि मोबाइल टिभी हेर्दा आँखा पनि कमजोर हुने भएकाले त्यसबाट जोगाउन जरुरी छ ।

बालबालिकालाई घर कम्पाउण्ड करेसाबारीहरू देखाउने, तरकारीहरू रोप्नपर्छ । बाहिरको खानेकुरा भन्दा हरियो सागसब्जी गेडागुडी खानुपर्दछ यीबाट भिटामिन पाईन्छ भन्ने कुरा घरमानै बुझाउने समय पनि हो । यतिमात्र हैन नेपाल सरकार शिक्षा मन्त्रालयले तथा रेडियो टि.भि. बाट पाठ्यक्रम सम्बन्धी कार्यक्रमहरू प्रसारण भएमा त्यस्ता कार्यक्रमहरू पनि बालबालिकालाई देखाउन सुनाउन जरुरी छ ।

हामीले घरमा बालबालिकालाई समय दिन सकेमा र बाहिरी हिडडुल, भेटघाट बन्द गरेमा बालबालिकालाई संक्रमणबाट बचाउन सकिन्छ । बालबालिका बाहिर निस्कदा समुहमा खेल्दा कोरानाको संक्रमणसँग सँगै हिंसा, दुव्र्यवहारसँगै लड्न चोटपटकबाट पीडित हुन पनि पर्न सक्छन् त्यसतर्फ ध्यान दिन जरुरी छ । हामीले यति प्रयत्नका बाबजुद पनि बालबालिकालाई रुघा खोकी, ज्वरो, वा हिंसा, दुव्र्यवहारमा परेमा स्वाथ्यकेन्द्रमा लैजाने, उपचार गर्न र सम्बन्धित स्थानीय तह र सुरक्षा निकायलाई खवर गर्नुपर्दछ ।

हामी सबैले समन्वय र सहकार्य गरी लकडाउनको पालना गरी यो समय बालबालिकासँग विताउन सकेमा हाम्रो बसाईं उपलब्धी मूलक हुनेछ । यो समयमा सकारात्मक पारिवारिक शिक्षा मार्फत बालबालिकाको मानसिक सामाजिक विकास गर्दै अधिकार जिम्मेवारीको कुराको समेत जानकारी दिदै कोरोनासँगै सबै प्रकारका हिंसा दुव्र्यवहारबाट हाम्रा वर्तमानका हिस्सेदार भविष्यका हाम्रा उत्तराधिकारीहरूलाई संरक्षण गर्ने दायित्व हामी सबैको हो ।

लेखकः बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च र किशोरी अधिकारका लागि राष्ट्रिय सञ्जालका संयोजक हुन ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलवार १०:२२