१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रसुवाका दुई व्यक्ति होम क्वारेन्टाइनमा


१७ चैत, रसुवा । विदेशबाट आएका दुई रसुवाली काठमाडौंँस्थित होम क्वारेन्टाइन बसेका छन् । गत हप्ता फ्रान्सबाट आएका ती दुई नागरिक रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं ५ क्षेत्रका बासिन्दा भएको र उनीहरूको नाम भने बताउन नमिल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार आउन सक्ने महामारीप्रति सजग रहँदै सरकारको निर्देशनमा द्रुत रूपले व्यवस्थापन गरिएका क्वारेन्टाइन तथा आइसोलेशन वार्डमा भने कुनै पनि व्यक्ति आएका छैनन् । रसुवाका अग्लाअग्ला स्थानमा जडित रिपिटर टावरले विकट गाउँमा समेत सञ्चार सुविधा पुगेका कारण आफ्नै घरको आँगनमा बसी मोवाइलबाट प्राप्त इष्टमित्रलाई बाहिर नजानू र घरमा कुनै मानिस पनि आउन नदिनू भन्ने सरकारको सन्देश पालना भइरहेको लाङ्बु गाउँका समाजसेवी छेसाङदावा तामाङले जानकारी दिनुभयो ।

फाइल फाेटाे

सुरक्षा अङ्गसमेत परिचालन भएको तथा स्थानीय गाउँपालिकाबाट राम्रो सहयोग भइरहेको गतलाङका पेम्बा तामाङले बताउनुभयो । दुई सय ९४ घर बस्ती रहेको पर्यटकीय क्षेत्र लाङटाङमा पनि कोरोना भाइरसबाट जोगिन घरदैलामै दिइएको प्रशिक्षणबाट लाङ्टाङवासी सचेत भइसकेको बताउँदै गोसाइँकुण्ड ४ का वडाध्यक्ष सुप्पा तामाङले लाङ्टाङमा कार्यरत नेपाली सेना र नेपाल प्रहरीको सहयोग उल्लेखनीय रहेको बताउनुभयो ।

हिमाली पदयात्राका लागि आएका पर्यटक लाङटाङ क्षेत्रमा दुई जना मात्र भएको र अन्य आआफ्ना देशतर्फ फर्किसकेका छन् । समुद्री सतह देखि तीन हजार ९०० मिटर क्षेत्रको उचाइमा अवस्थित पर्यटकीय क्षेत्र लाङ्टाङको क्याङ्जेन अहिले सुनसान रहेको पनि अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

चीनबाट कोरोना भाइरस शुरू भएको र रसुवा जिल्ला सीमामा भएका कारण पर्न सक्ने विपद्लाई ध्यानमा राखी जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयबमोजिम दुई सयभन्दा बढी क्वारेन्टाइन एवं ३५ शय्या क्षमताको आइसोलेशन वार्ड तयारी हालतमा रहेको पनि प्रजिअ भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार ०९:१३