१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सरकारलाई आलोचना होइन प्रशंशा र हाैसलाको आवश्यकता छ


-देवराज अर्याल

यतिबेला समग्र विश्व नोबेल कोरोना भाइरस कोभिड १९ को महामारीमा फँस्न पुगेको छ । विश्वभरिमा कोरोना भाइरसको संक्रमण हुनेहरुको संख्या ७ लाखको हाराहारीमा पुगिसकेको छ भने यो रोगबाट मृत्यु हुनेहरुको संख्या यतिबेलासम्म ३० हजार नाघिसकेको छ । भाइरसबाट संक्रमण हुने र मृत्यु हुनेहरुको संख्या हरपल बढिरहेको छ । इटली, स्पेन, चीन, इरान, अमेरिका र फ्रान्सको मात्र सवाल होइन अहिले विश्वका १ सय ९९ देशमा कोरोना भाइरसको संक्रमण फैलिइसेको छ । के ठूला के साना, विकसित, अविकसित, अल्पविकसित, र अतिविकसित भनिने देशहरु पनि कोरोना भाइरसको माहामारीबाट मुक्त हुन सकेका छैनन । कोरोनाको माहामारीले समग्र विश्वलाई त्राहीमाम बनाउँदै लगेको छ । यसको अन्त्य अर्थात निर्मूलन कहाँ पुगेर कहिलेसम्ममा हुने हो– त्यसबारेमा अहिलसम्म कसैले केही भेउ पाउन सकेका छैनन् ।

विश्व स्वास्थ्य संगठनले सबैतिर कोरोना भाइरसको जोखिम बढेकोमा सचेत बनाउँदै आएको छ । नेपाल कोरोना भाइरस संक्रमणको दृष्टिकोणले उच्च जोखिममा पर्ने क्षेत्र हो । नेपालको उत्तरी क्षेत्रमा चीन रहेको छ भने दक्षिण, पूर्व र पश्चिममा भारत रहेको छ । चीन र भारत दुबै देशहरुमा अहिले कोरोना भाइरसको संक्रमण फैलिएको छ । यसैगरी नेपालीहरु अहिले रोजगारी, अध्ययन र विभिन्न पेशा व्यावसायको खोजीका लागि भारत र चीन मात्रै होइन विश्वभरि नै पुगेका छन । नेपालमा अन्तर्राष्ट्रिय आवात जावातको प्रक्रिया बाक्लो रुपमा हुने गरेको छ । यद्यपि केही दिनयता अन्तर्राष्ट्रिय आवात–जावतको क्रमलाई पूर्णतः बन्देज गरिएको छ । तथापि त्यसअघि नै भाइरस संक्रमित देशबाट नेपाल भित्रिएका मानिसहरुको संख्या हुँदै नभएको अवस्था होइन । यस अर्थमा पनि नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छँदैछ । विश्व स्वास्थ्य संगठनले यही तथ्लाई मध्यनजर गरी समयमै सचेत र सजग बनाउँदै आएको हो । कोरोना भाइरसको संक्रमण पुष्टी भएका नेपालका ५ वटा घटनालाई विश्लेषण गर्दाखेरी पनि यो तथ्य स्पष्ट हुन आउँछ ।

कोरोना भाइरसको शुरुवात चीनबाट भएको भए तापनि अहिले चीनले यो जोखिमलाई लगभग नियन्त्रणमा लिइएको दावी गरेको छ । पछिल्लो समयमा चीनमा कोरोना भाइरसबाट संक्रमण हुने र मर्नेको संख्यामा उल्लेखनीय हिसावले न्यूनीकरण भएर गएको छ । यद्यपि दक्षिणको छिमेकी देश भारतमा भने कोरोना भाइरसको संक्रमण हुने र मृत्यु हुनेको संख्यामा बृद्धि हुँदै गैरहेको छ । भारतमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या ९ सय रहेको छ भने मृत्यु हुनेको संख्या १९ कटिसकेको छ । यता हाम्रो देश नेपालमा भने अहिलेसम्ममा ५ जना मानिसमा कोरोनाको संक्रमण देखिएको कुरा पुष्टी भएको छ । जसमध्ये एकजना उपचारपछि ठीक भएको अवस्था छ । विश्वव्यापी रुपमा देखिएको यो महामारीको कारणले अहिलेसम्म नेपालका कसैको पनि मृत्यु भने भएको छैन । त्यस्तो अवस्था अर्थात भवितव्य नआओस भन्ने सबैको कामना रहेको छ ।

नेपाल सरकारले अहिले कोरोना भाइरसको रोकथामका लागि निकै नै सुझबुझपूर्ण ढंगले नियन्त्रणात्मक कदमहरु अगाडि बढाइरहको छ । कोरोना भाइरस संक्रमित रोगीहरुको उपचारका लागि खटने स्वास्थ्यकर्मी चिकित्सक र नर्सहरुका लागि मेडिकल किट्स, मास्क, ग्लोब, थर्मामिटर, पीपीआईको व्यवस्थापन गर्ने कार्य टुंगोमा पुगिसकेको जनाएको छ । कतिपय यस्ता सामग्रीहरु चीन सरकारले सहयोग उपलब्ध गराएको छ भने कतिपय सामग्रीहरु नेपाल सरकारले किनेको छ । यसैगरी सातैवटा प्रदेशका अस्पतालहरुमा आइसोलेशन वार्डको व्यवस्था भैसकेको छ भने आवश्यकता अनुसार क्वारेण्टाइनको लागि स्थानहरुको जोगाड गर्ने काम पनि भैरहेका छन ।

यसका लागि कति संख्यामा हुन पर्ने हो र अहिले कति भएको छ त्यो आफ्नै ठाउँमा होला । तर, पनि आवश्यकता अनुसार विस्तार गर्दै जानु पर्ने सवाललाई नेपाल सरकार अर्थात त्यसमा पनि तालुकदार निकायको रुपमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूलाई तयारीका साथ राख्नु पर्ने अवस्था आएको छ । त्यसो त अहिलेको अवस्थामा वर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल आफै पनि यसका लागि निकै नै सक्रियताका साथ दिन रात काममा खटिरहेको अवस्था छ । यो सबैले देखिराखेको र अनुभूति गरेको यथार्थ पनि हो । यसैगरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तदारुकताका साथ काम गरेको छ । तथापि, सामाजिक सञ्जालमा मन्त्री ढकाललाई हतोत्साहित गर्ने ढंगबाट टिका टिप्पणीहरु गरिन थालेको छ ।

यतिबेला विश्वभरिकै मानव समुदायका लागि एउटा ज्यादै ठूलो र अकल्पनीय प्रकारको घटना आकश्मिक रुपमा देखापरेको हो । यो अल्कपनीय महामारीको घटनाबाट आफ्नो देशको नागरिकलाई बचाउन दरिलो र बलियो आत्मबल तथा इच्छाशक्तिका साथ निरन्तर रुपमा काममा अगाडि बढनु पर्ने बेला आएको छ । हरेक काम कुराहरु नीतिगत रुपमा चेन अफ कमाण्डको आधारमा संचालन र परिचालन हुने हो । चेन अफ कमाण्डभन्दा बाहिर गएर काम गर्न खोजियो भने त्यसबाट निष्कर्ष निस्कन नसक्ने मात्र होइन त्यसले अराजकता सिर्जना गर्दछ । संकटको बेला यस्ता शक्तिहरु सल्बलाउने गर्दछन । जसले मिलेर काम गरेका व्यक्ति तथा समूदायलाई भडकाइ धमिलो पानीमा माछा मार्ने दाउ हेरिरहेका हुन्छन । यसैगरी निहीत स्वार्थ राख्नेहरुले आफ्नो अयोग्यता र अक्षमतालाई लुकाइ आफूतिर मानिसहरुको ध्यान आकर्षित गर्न राम्रो काम गर्ने अर्को मानिसलाई नियोजित रुपमा आलोचना गर्ने गर्दछन । यसबाट सम्बन्धित व्यक्ति विचलित हुनुहुँदैन र आम नागरिकहरु पनि भ्रममा पर्नु हुँदैन । बरु होशियारी भएर त्यस्ता शक्तिहरुदेखि सावधान हुनु पर्दछ ।

मन्त्री भनेको जनताबाट निर्वाचित भएको जनप्रतिनिधि हो । जनप्रतिनिधि आफैमा विज्ञ हुनु पर्छ भन्ने छैन । प्रमुख कुरा भनेको नियत हो । काम गर्ने सवालमा नियत नै बेठीक भयो भने त्यसलाई सुधार गर्न सकिदैन । काम गर्दा गल्ती नै हुँदैन भन्ने पनि हुँदैन । गल्ती कमजोरी हुन सक्छ । तर, त्यो गल्ती र कमजोरी खराब नियतले भएको छ कि वा नजानेको कारणले भएको छ ? नजानेर वा अभ्यासको कमीले भएको गल्ती र कमजोरीहरु सुधार गर्दै जान सकिन्छ । जहाँसम्म स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सवाल छ यतिबेला उहाँले कोरोना भाइरसको माहामाहीबाट नेपाली जनताको ज्यान बचाउन इमान्दार ढंगले हरसम्भव कोशिस गरिरहनु भएको देखिन्छ । दिनरात खटेर काम गरेको देखिन्छ । आलोचना गरिहाल्नु पर्ने, राजीनामा दिइहाल भन्नुपर्ने– त्यस्तो गम्भीर प्रकारको खोट देखिदैन । संकट र महामारीको समयका काम गर्नपर्दा नेतृत्वमा रहेको व्यक्तिमा निकै ठूलो दबाब पर्ने गर्दछ । तर, पनि उहाँले यो जटिल परिस्थितिलाई सन्तुलित ढंगबाट व्यवस्थापन र सम्पादन गर्दै आउनु भएको छ । त्यसको परिणाम देखिदै आएको पनि छ । अहिले आकश्मिक रुपमा परेको अकल्पीय घटना अर्थात संकटका बेलामा उहाँलाई यसरी लखेटन खोज्नु भनेको परिस्थितिलाई भाँडभैलोमा लैजाने नियत हो ।

कोरोना भाइरस विरुद्ध अहिलेको लडार्इं नेपाल सरकार, वा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मात्रले लडनु पर्ने लडाईं होइन । यसका लागि आम नागरिकहरुको साथ र सहयोग आवश्यक पर्दछ । यसैगरी छिमेकी देशहरुको पनि साथ र सहयोग लिएर अगाडि बढनु पर्ने हुन्छ । यसका लागि नेपाल सरकारले उत्तरको छिमेकी देश चीन र दक्षिणको छिमेकी देश भारतलाई आवश्यक सहयोग उपलब्ध गराउनु आग्रह गरिसकेको छ । त्यतिमात्र होइन अहिले यो सवाल विश्वव्यापी भैसकेको हुनाले सबै देशहरुको साझा सहयोग, सहकार्य र ऐक्यबद्धताको त्यत्तिकै खाँचो पर्दछ । सरकारले त्यसका लागि उपयुक्त वातावरण बनाउँदै जाने कार्यमा विलम्ब गर्नु हुँदैन । कोरोना भाइरसको समस्या आकश्मिक रुपमा आएको हुनाले यसको रोकथामका लागि गरिने प्रयासहरु सबै देशका लागि नयाँ अभ्यास हुन । कतिपय समस्याहरु काम गर्दै जाने क्रममा सिकिदै जाने र त्यसलाई फरक ढंगले व्यवस्थापन गर्न सकिने परिस्थिति पनि आउँछ ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन र संक्रमण देखापरिसकेको हकमा त्यसलाई उपचारको माध्यमबाट व्यवस्थापन गर्न सावधानात्मक, प्रर्वधनात्मक, उपचारात्मक लगायत सबै प्रकारको स्वास्थ्य सेवाका कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने हुन्छ । भाइरसको संक्रमण हुनु भन्दापूर्व जनतालाई सचेत बनाउने र रोगको संक्रमण नै हुन नदिनु भनेको सावधानात्मक सेवा हो । यसका लागि लकडाउनको घोषणा गरिएको छ । यसले धेरै हदसम्म काम गरेको छ । यो अवधिलाई अझै तीन हप्ता बढाउनु बाञ्छनीय हुन्छ । सावधानीको तरिका उपयोग नगर्दा इटली र सपेनले ठूलो क्षती व्यहोर्नु परेको यथार्थलाई हामीले भुल्नु हुँदैन । यसैगरी रोगसंग लडने क्षमताको विकास गराउने सेवा भने प्रर्वधनात्मक सेवा हो । यसको लागि पनि सरकारले नयाँ कार्यक्रमहरु ल्याउनु आवश्यक छ ।

चीनले यस्तो प्रकारको सेवाको अभ्यास गरेको छ । त्यसबाट पनि हामीले सिक्न सकिन्छ । त्यसपछिको सेवा भनेको उपचारात्मक सेवा हो । यसका लागि सरकारले विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलले तयार पारेको गाइड लाइन अनुसारको मेडिकल कीट्स, मास्क, पीपीआई र ग्लोवको प्रर्याप्त व्यवस्था गर्नु पर्ने हुन्छ । जहाँ आम नागरिकको दायित्वको सवाल छ– नागरिकहरुले सरकारले भनेअनुसार लकडाउनको समयमा अपनाउनु पर्ने संयम, धैर्यता र अनुशासनको पालना गर्नुपर्ने हुन्छ । यसैगरी भाइरसको संक्रमण भएको लक्षण देखापरे अर्थात शंका लागेमा नजिकको स्वास्थ्य केन्द्रमा गई रगतको परीक्षण गराउने पर्ने हुन्छ । यसैगरी शंका लागेका अन्य व्यक्तिहरुलाई अस्पतालसम्म पुराउने सन्दर्भमा सही सूचना दिइ सहयोग गर्नु पर्ने हुन्छ । तसर्थ यो संकटको घडिमा कसैलाई मिशन नै बनाएर आलोचना गर्ने प्रतिआलोचना गर्ने काममा होइन समस्यालाई सही ढंगले व्यवस्थापन गर्ने सवालमा लाग्नु पर्दछ । कोरोना भाइरसले उत्पन्न महासंकटलाई व्यवस्थापन गर्न सकियो भने आलोचना–प्रतिआलोचना गर्ने दिन पछि पनि अवश्य आउने छ ।

लेखकः त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक हुन । 

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार १९:२१