१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोरोनाको सङ्क्रमणसँग जुध्न सरकारले गरेकाे प्रयत्नलाई काँग्रेसले साथ दिएकाे छः महामन्त्री कोइराला


१६ चैत, काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकभरका स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमणको उपचार तथा रोकथाममा उच्च मनोबलका साथ कार्य गर्न अपिल गर्नुभएको छ ।

सरकार र स्वास्थ्यकर्मीका नाममा एक चिकित्साकर्मीका नाताले आज एक अपिल जारी गर्दै उहाँले कुनै पनि स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न निश्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहने उल्लेख गर्नुभएको छ । “चिकित्सकमा रहेको त्यही मानवीय भावना, समर्पण र साहस नै आजको विश्वव्यापी महामारीबाट बाहिर निस्कने मुख्य मार्ग हो । म नेपालभरिका सबै स्वास्थ्यकर्मीमा आजको यो प्रतिकूल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मीसमेतका नाताले अपिल गर्दछु”, उहाँले भन्नुभएको छ ।

महामन्त्री डा कोइरालाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नलाई काँग्रेसले निरन्तर साथ दिँदै आएको र लकडाउनको पालना गरेर जनताले यो सङ्घर्षप्रति ऐक्यबद्धता जनाइरहेको उल्लेख गर्नुभएको छ । उहाँले परिणाममुखी रूपमा कार्य गर्न निर्मित वातावरण उपयोग गर्दै अब स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा सङ्घर्षमा जीत हासिल गर्नुपर्ने बताउनुभएको छ ।

चिकित्सकका रूपमा लामो समय सेवा र प्राध्यापनसमेत गरेको नाताले उहाँले आजको स्थितिलाई निकै दिनदेखि नजिकबाट नियालिरहेको उल्लेख गर्दै नेपाल सरकार र नेपालभरका स्वास्थकर्मीका नाममा यो अपिल सार्वजनिक गर्नुभएको जनाउनुभएको छ । स्वास्थ्यकर्मीका लागि अनिवार्य व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को प्रबन्ध समयमै गर्न नसक्नु सरकारको कमजोरी भएको टिप्पणी गर्र्दै महामन्त्री कोइरालाले यथाशीघ्र देशव्यापी रूपमा पिपिई पुर्याएर सम्भावित सङ्क्रमितको परीक्षण एवं सङ्क्रमितको उपचारमा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारसँग अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार १३:४१