१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

आज मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता हुँदैछन् निर्णय


१६ चैत, काठमाडाैँ । आज मन्त्रिपरिषद बैठक बस्दैछ। बैठकले कोरोना भाइरसको महामारीबारे विशेष निर्णय गर्ने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित बैठकअन्तर्गत आज साँझ ४ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। यसअघि चैत ९ गते मन्त्रिपरिषद् बैठक बसेको थियो ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन चैत ११ देखि १८ गते बिहान ६ बजेसम्मका लागि पूरै देशलाई लकडाउन गरिरहेकाे छ। तर नेपालमा पनि एकपछि अर्काे काेराेना संक्रमित व्यक्ति थपिइरहेकाले थप लकडाउनकाे अवधि थप गर्नुपर्ने देखिएकाे छ। शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगिसकेको छ।

यस्तै सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । अहिले सबै परिस्थितिको आँकलन भइनसकेकाले समग्र आर्थिक राहत प्याकेज घोषणाभन्दा दैनिक गुजरा चलाउन समस्या हुनेहरुको हकमा केही व्यवस्था गर्न लागिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नेताका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठन गरिएको कोरोना रोकथाम तथा नियन्त्रण उच्च समन्वय समितिले लकडाउनलगायत विषयमा निर्णय गर्ने गरेको छ। आज बस्ने मन्त्रिपरिषद बैठकले उक्त समितिले गरेका कामको समीक्षा र थप तयारीका विषयमा समेत निर्णय गर्ने बताइएको छ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार ११:४४