१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नर्सिङ लाइसेन्स पास गर्न तीन लाख घुस, राजिस्ट्रारको नाममा यसरी मागिन्छ पैसा (प्रमाणसहित)


२९ फागुन, काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै काउन्सिलकी एक सदस्यले विद्यार्थीसँग घुस मागेको च्याट बाहिरिएको छ । दैनिकीले प्राप्त गरेको फेसबुक म्यासेन्जरको च्याट हेर्दा केही महिना अघिमात्र काउन्सिलको सदस्यमा निर्वाचित जिता बरालले एक जना विद्यार्थीसँग लाइसेन्स परीक्षामा उतीर्ण गराउन घुस मागेको देखिन्छ ।

जिता बरालकै म्यासेन्जरमा घुसको बार्गेनिङ भएको छ । जहाँ रजिष्ट्रार विन्दा घिमिरको नाम समेत जोडिएको छ । जिताले नै विन्दासँगको सम्बन्ध राम्रो भएको भन्दै ती विद्यार्थीसँग बार्गेनिङ गरेको च्याट हिस्ट्रीमा पढ्न सकिन्छ । अहिले समाजिक सञ्जालमा जिता बरालसँगको उक्त कुराकानीको च्याट भाइरल बनेको छ ।

च्याटमा जिताले कुरा गरेकी विद्यार्थीले काउन्सिलको २४ औँ  परिक्षाबाट लाइसेन्समा उत्तिर्ण भएकी छिन । च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने बताएकी छिन । उनले तीन लाख मध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दा घिमिरेले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने बताएकी छिन । उनले गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनभन्दा अघि यसरी घुस मागेको च्याट रेकर्डबाट देखिन्छ । उनले चुनावमा उठेको र आफूले सदस्यमा जित्ने भन्दै चुनावी प्रचार सामग्री समेत पोस्ट गरेकी छिन ।

ती विद्यार्थीले जिताको नाममा एकै पटक २ लख ५० हजार रूपैयाँ पठाएको च्याटबाट देखिन्छ । जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आइएमइ गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन । जहाँ २ लाख ५० हजार अहिले नै हालेको र ५० हजार पछि दिने प्रतिवद्धता जनाएकी छन । २४ गते लाइसेन्सको नतिजा सार्वजनिक भएसँगै यो च्याट बाहिरिएका कारण यसमा धेरै सत्यता रहेको पाइन्छ । ती विद्यार्थीसँग जिताले बाँकी ५० हजारका लागि ताकेता गरेपछि यो च्याट सार्वजनिक गरेको सहजै अनुमान गर्न सकिन्छ । यद्यपी यस विषयमा भोलिका दिनमा प्रहरीले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनेछ भन्ने अपेक्षा गरौँ ।

जिताको नाममा देखिएको फेसबुक आइडी फेक हो कि भनेर हामीले उनको गतिबिधि हेर्यौँ, उनलाइ यो च्याट फेसबुकमा राखेर धेरैले प्रश्न गरेको पाइयो र त्यही आइडीबाट जिताले फेसबुक लाइभ गर्दै आफ्नो स्पष्टिकरण दिइरहेकी छिन । उनले आफूलाइ भ्रष्टाचारविरूद्धको अभियन्ता भनेर चिनाउने गरेको देखिएको छ । उनको अभियन्ताहरूले गाली गर्दै कस्तो मान्छेसँग भ्रष्टाचारविरूद्धको अभियानमा लागेको भन्दै पश्चातप पनि गरेका छन । जिता नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी व्यक्ति हुन । स्रोतका अनुसार उनी बीपी स्मृति अस्पतामा कार्यरत रहेकी छिन ।

यसैबीच केही दिनअघि भएको नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा ८८ दशमलब ५ प्रतिशत नर्स उत्तीर्ण भएका थिए । २४ औं लाइसेन्स परीक्षामा ४ हजार ९६० जना सहभागीमध्ये ४ हजार ३९० जना नर्स उत्तीर्ण भएका हुन् । परीक्षामा ५ सय ७० जना नर्स अनुत्तीर्ण भएका थिए ।

ती विद्यार्थी र जिता बरालकोबीचमा च्याटमा भएको कुराकानी पढ्नुहोस् । 

    

(हामीले यो समाचार तयार पार्दा नै रातको १२ बजेका कारण च्याट गर्ने बराल र राजिष्ट्रार घिमिरेसँग कुरा गरेर उहाँहरूको धारणा राख्न पाएका छैनाैँ हामी बिहीबार उहाँहरूसँग पनि कुरा गरेर थप समाचार दिनेछाैँ ।-सम्पादक)

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार ००:०६