१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अफगानिस्तानमा घानी र अब्दुलाह दुवै नेताद्वारा राष्ट्रपतिको सपथग्रहण


२६ फागुन, काबुल । अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाह गरी दुवै जनाले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन् । सोमबार दिउँसो घानीले सपथग्रहण गरेको घोषणा गरेकै बेलामा अब्दुलाहले पनि सपथग्रहण गरेको दाबी गर्नुभएको हो । घानीले राष्ट्रपति कार्यालयमै विशेष समारोहको आयोजना गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारी सम्हालेको घोषणा गर्नुभएको थियो ।

समारोहमा अमेरिकी विशेष प्रतिनिधि जाल्माय खालिल्जाद, अमेरिकी कार्यवाहक राजदूत रोस विल्सन, अमेरिकी, नाटो फौजका कमान्डर जनरल स्कट मिलरसँगै युरोपेली सङ्घ, क्यानडा अस्ट्रेलिया, डेनमार्क, जर्मनी र नर्वेका राजदूतहरु उपस्थित थिए । अर्कोतर्फ प्रमुख कार्यकारी अब्दुलाहले पनि राष्ट्रपतीय निर्वाचनमा आफू विजयी भएको दाबी गर्दै राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गर्नुभएको छ ।

घानीले गत फेब्रुअरीमै आफू दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्नुभएको थियो । गत सेप्टेम्बरमा निर्वाचन भए पनि परिणाम घोषणा हुन नसकेपछि उहाँले पाँच महिनापछि विजयी भएको घोषणा गर्नुभएको हो । गत डिसेम्बरमा घोषणा भएको प्रारम्भिक नतिजाअनुसार घानी झिनो मतअन्तरले अगाडि रहनुभएको थियो ।

दुवै नेताको आ–आफ्नै दाबीका कारण अफगानिस्तानको राजनीति थप सङ्कटमा पर्ने देखिएको छ । सपथग्रहण कार्यक्रम चलिरहेकै बेला राजधानी काबुलमा बम विस्फोटनका घटना पनि भएका छन् ।

लामो समयदेखि गृहयुद्धमा फसेको अफगानिस्तानमा केही दिनअगाडि तालिवान लडाकु र अमेरिकाबीच आंशिक शान्ति सम्झौता भएको थियो । तर पनि हिंसात्मक घटना नरोकिँदा अफगानिस्तानकोे राजनीतिले सकारात्मक मोड लिन सकेको छैन । अमेरिकासँगको सम्झौता अनुसार अबको चरणमा तालीवान समूह र अफगान सरकारबीच शान्तिवार्ता गर्ने सहमति भएको थियो ।

वार्ता सुरू गर्न अफगान तालिवान समूहले कैदीबन्दीको आदान प्रदान गर्नुपर्ने माग राखेको छ । यसमा सरकारले पाँच हजार तालिवान लडाकुलाई रिहा गर्ने र वदलामा तालिवान समूहले एक हजार अफगानी सैन्य अधिकारीलाई रिहा गर्ने शर्त रहेको छ । राष्ट्रपति घानीले शर्तसहितको वार्ता र तालिवानको कैदी आदान प्रदानको मुद्दालाई अस्वीकार गर्नुभएको छ । रासस/एएफपी

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार १९:०२