१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

ईपीएल : ४४ खेलपछि लिभरपुलको अपराजित यात्रामा पूर्णविराम


१८ फागुन, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । शनिबार राति भएको खेलमा रेलिगेसन जोनबाट बच्न संघर्षरत वाटफोर्डले लिभरपुललाई ३-० ले लज्जास्पद हार चखायो ।

इस्माइला सारले २ तथा कप्तान ट्रोय डेनीले १ गोल गरेपछि लिभरपुलको सिजनको अपराजित यात्रामा पूर्णविराम लागेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा घरेलु टोली वाटफोर्डले दोस्रो हाफमा ३ गोल गरेको थियो ।

सारले ५४औं मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६०औं मिनेटमा उनैले घरेलु टोलीको अग्रता दोब्बर बनाए । कप्तान डेनीले ७२ औ मिनेटमा गोल गर्दै वाटफोर्डको सानदार जित प्रस्तुत गरे ।

खेलपछि लिभरपुलका प्रशिक्षक यार्गेन क्लोपले भने, “उनीहरुले जे चाहेका थिए, त्यो गरे, जुन हामीले गर्न सकेनौं। फुटबल यसरी नै चल्छ।” लिभरपुल पछिल्लोपटक सन् २०१९ जनवरीमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आईतवार ०८:३५