१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सन्दीप लामिछानेलाई दुर्लभ अवसर, एसिया-११ मा एक्लो नेपाली खेलाडी


१४ फागुन, एजेन्सी । बंगलादेशमा हुने टी-ट्वान्टी सिरिजका लागि एसिया-११ को टिम सार्वजनिक भएको छ । विश्व-११ विरुद्ध हुने खेलका लागि बंगलादेश क्रिकेट बोर्डले मंगलबार एसिया-११ बाट खेल्ने १४ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

बोर्डले सार्वजनिक गरेको नाममा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले महत्त्वपूर्ण अवसर पाएका छन् । एसिया-११ को टिममा पर्ने सन्दीप एक्लो नेपाली खेलाडी हुन् । एसिया-११ मा भारतका विराट कोहोलीसँगै ६ खेलाडी परेका छन् । कोहलीसँगै टिममा केएल राहुल, शिखर धवन, रिषभ पन्त, मोहम्मद सामी र कुलदीप यादव छन् । राहुलले एक खेल खेल्ने बताइएको छ । कोहलीले खेल्ने विषयमा टुंगो लाग्न बाँकी छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निर्णयपछि मात्र कोहलीका विषयमा टुंगो लाग्ने बताइएको छ । कोहली भारतीय टोलीका कप्तान हुन् ।

प्रतियोगिता बंगलादेशको राजधानी ढाकास्थित शेर ए बंगला रंगशालामा मार्च १८ र २१ तारिखमा हुनेछ । आईसीसीले पनि दुवै टी-ट्वान्टी प्रतियोगितालाई अन्तर्राष्ट्रिय खेलको मान्यता दिएको छ । बंगलादेशका संस्थापक सेख मजिबुर रहमानको एक सयौं जन्मजयन्तीका अवसरमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार ०७:३८