१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाली सेनाले नुवाकोटमा निर्माण गर्यो राष्ट्रियस्तरको खेलमैदान, ठेकेदार मेयरले गरे उद्घाटन


१३ फागुन, नुवाकोट । नुवाकोटस्थित नेपाली सेनाको श्री १ नम्बर गण तालीम केन्द्र मैथली क्याम्पमा राष्ट्रियस्तरको फुटबल मैदान निर्माण भएको छ । क्याम्पभित्र रहेको अव्यवस्थित मैदानलाई गणका गणपति खेमराज शर्माको पहलकदमीबाट विदुर नगरपालिका लगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा राष्ट्रियस्तरको बनाइएको हो ।

तस्बीरः उद्धव पनेरूको फेसबुक वालबाट साभार ।

नगरपालिकाका प्रमुख एवं पण्डित निर्माण सेवाका सञ्चालक सञ्जु पण्डितले मैदान उद्घाटन गर्दै सेनाले नेपाल एकीकरणको प्रारम्भिक थलो नुवाकोटमा जनतासँगको सहकार्यमा सामाजिक कार्य गर्दा सम्बन्ध अझै सुदृढ र सुमधुर हुने बताउनुभयो । गणपति खेमराज शर्माले सेना र नागरिक समाजबीचको सहकार्यको अनुपम नमूनाका रुपमा मैदानलाई लिइएको बताउँदै मैदान आन्तरिक खेलकूद तथा जिल्लाका अन्य प्रतियोगितालाई पनि सहज हुने बताउनुभयो ।

मैदान उद्घाटन अवसरमा सेना र स्थानीय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा श्री १ नम्बर गणको नेपाली सेना टोली २–१ गोल अन्तरले विजयी भएको गणपति शर्माले जानकारी दिनुभयोे । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार २०:५३