१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वामदेवका निम्ति आत्महत्याको बाटोमा नेकपा, जनमतको अपमान गर्दै संविधान संशोधनको तयारी


११ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताको छोटो समयमै गुटबन्दीको चरम चपेटामा रूमलिन पुगेको छ। राम्रो गरे पनि नराम्रो गरे पनि केही पनि नगरी बस्न नसक्ने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पार्टीका सचिवालयका केही सदस्य संविधान संशोधन गरेर प्रतिनिधिसभामा चुनाव हारेका बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने अभियानमा लागेका छन ।

राष्ट्रियसभामा युवराज खतिवडाको नाममा खाली हुने सिटमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित गराएर प्रधानमन्त्री बनाउने कामको जिम्मा पार्टीकै अर्का सचिवालय सदस्य माधवकुमार नेपालले पाएका छन । शनिबार बसेको पार्टीको सचिवालय बैठकले संविधान संशोधन गरेर बामदेवका निम्ति राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री बन्न पाउने बाटो खोल्ने जिम्मा माधवकुमार नेपाललाइ दिइएको हो ।

नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन नेकपाले गरेको छ । कार्यदलमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य तोकिएका छन । उनीहरूले संविधान संशोधनको खाका बनाउने छन । पहिलो कुरा त संविधान संशोधनका लागि नेकपासँग स्पष्ट बहुमत छैन दोस्रो कुरा लामो समयदेखि मधेशी दलहरूले उठाउँदै आएको संविधान संशोधनको एजेन्डामा कुनै छलफल गर्न नचाहने तर बामदेव गौतमको व्यक्तिगत इच्छा पूरा गर्न कार्यदल बनाएर छलफल अघि बढाएको छ । यो नेकपाको सर्वाधिक अलोकप्रिय निर्णय हुनेछ ।

जनमतको अवमूल्यन गर्दै नेकपाले लिएको यो बाटो नेकपा आफ्नै लागि त प्रत्यूत्पादक हुने निश्चित नै छ यसले वर्तमान राज्यप्रणाली माथि सबैभन्दा ठूलो धावा बोल्दै छ । जनताले अस्वीकार गरेका बामदेव गौतमका लागि नेकपाका नेताहरू किन मरिहत्ते गर्दैछन गम्भीर प्रश्न उब्जिएको छ । यो संविधानसंशोधनको प्रयास नेकपाका निम्ति आत्महत्या सरह हुनेछ । आम पार्टी कार्यकर्ता र जनमतको खिल्ली उडाउने नेकपाको यो प्रयासको शायद जनताले आगमी निर्वाचनमा जवाफ दिनेछन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार १८:३४