१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

७ फागुन, कास्की हिमपहिरोले बन्द रहेको अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा एक महिनापछि खुलेको छ । गत माघ ३ मा हिङ्कु केभ र देउरालीको बीचमा हिमपहिरो गएपछि चार कोरियाली पदयात्रीसहित तीन नेपाली बेपत्ता भएपछि सो पदमार्ग बन्द थियो । बेपत्ताको खोजी गरिए पनि हालसम्म फेलापरेका छैनन् ।

फाइल तस्बिर ।

विश्वको उत्कृष्ट १०औँ स्थानमा रहेको अन्नपूर्ण पदमार्ग खुलेसँगै पर्यटकको चहलपहल बढेको खबर गोरखापत्र दैनिकमा छ । पर्यटन व्यवसायी सोम थापाका अनुसार कोरोना भाइरसले पर्यटक आगमनमा कमी भए पनि पोखरा आएका पर्यटक अन्नपूर्ण आधार शिविरतर्फ जान थालेपछि झिनो आशा पलाएको छ ।

पदमार्ग खुलेसँगै अन्नपूर्ण सेन्चुरी पदमार्गका होटलका कामदार काममा फर्किएका छन् । घान्द्रुकबाट छोम्रोङ हुँदै अन्नपूर्ण आधार शिविरका होटल पनि खुल्न थालेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङले बताए । हिमपहिरो आएको ठाउँमा पर्यटकलाई हिँड्न मिल्ने गरी बाटो निर्माण भइसकेको समेत उनले बताए ।

हिमपहिरोपछि १७ पर्यटक, गाइड र सहयोगी एबीसी पुगिसकेको उनको भनाइ छ । पदमार्गको झिँनु, घुर्सुङ, किम्रोङखोला, छोम्रोङ, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छ्रे  बेस क्याम्प (एमबीसी) र एबीसीमा गरी ६० होटल छन् ।

भ्रमण वर्ष सन् २०२० को तयारीस्वरूप होटल थपिने क्रममा सो ठाउँमा जारी छ । भ्रमण वर्ष चलिरहँदा आन्तरिक र बाह्य पर्यटकले पदयात्रा गर्ने अपेक्षा व्यवसायीको रहेको छ । पदयात्रामा आउने पर्यटकले मौसम पूर्वानुमान, स्थानीय व्यवसायी, अनुभवी गाइडसँग समन्वय गर्न जरुरी रहेको व्यवसायी दीपक अधिकारीले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार ०७:०६