१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हजार रुपैयाँको लगानी १० वर्षमा करोडपति


५ फागुन, कास्की । एक दशकअघि हजार रुपैयाँको लगानीबाट व्यवसाय सुरु गरेका व्यक्ति करोडौँ रुपैयाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो, २०५७ मा मकवानपुरबाट पोखरा आएर व्यवसाय थालेका दीपक तिमिल्सिना आफ्नो पसिनाको कमाइबाट करोडौँको मालिक बनेका हुन् ।

पश्चिम नेपालका ग्रामीण क्षेत्रबाट दाल, गेडागुडीलगायतका कृषि उत्पादन ल्याएर जानकी एग्रो प्रोडक्ट उद्योग सञ्चालन गरेका तिमिल्सिनाको अनुभवले कुनै पनि पेसा, व्यवसायमा मिहिनेत र निरन्तरता दिए सफलता सहजै हात पार्न सकिन्छ ।

आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले उनले रुकुम, रोल्पा, सल्यान, दाङ, पर्वतजस्ता जिल्लाबाट कृषि उत्पादनमा ल्याएर बजारसम्म पुर्‍याउने काम गर्छन् । ‘पश्चिम नेपालका दुर्गम ठाउँका किसानसँग उत्पादन थियो तर बजार थिएन, मैले बजार खोज्ने काम गरें, किसानले पनि मूल्य पाए, मैले पनि आर्थिक प्रगति गरेँ,’ उनले भने ।

व्यवसाय सुरु गर्दाको अवस्थाबाट अहिलेको स्थितिमा उनको व्यावसायिक लगानी १८ करोड बराबरको भएको खबर गोरखापत्र दैनिकमा छ । जानकी एग्रोतिर सात करोड र फार्ममा ११ करोड रुपैयाँको लगानी छ । तिमिल्सिना दम्पतीको मिहिनेतले अचेल पोखरामा उनको ब्रान्ड राम्रै ब्रान्ड बन्न सफल भएको छ । उनकी श्रीमती जानकीले भनिन्, ‘पोखरामा टिकेर बसेका कारणले नै सबैले पत्याउने भएका छौँ, गाउँघरमा फल्ने अर्गानिक कृषि उत्पादन सहरमा माग भएकाले यस व्यवसायमा हामीलाई सफलता मिलेको हो ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार ०६:४२