१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तरकारीको मूल्यमा बिचौलियाको राज


२ फागुन, काठमाडौं कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समिति चौबीसै घण्टा जागा हुन्छ । बिहान २ बजेदेखि सुरु भएको चहलपहल ११ बजेसम्म कायम हुन्छ ।

उपत्यका र वरपरका तरकारी तथा फलफूलका ठूला व्यापारीदेखि साइकलमा घुमेर बेच्ने र किराना पसलमा तरकारी बेच्ने साना व्यापारीको बिहानैदेखि घुइँचो हुन्छ । सस्तो तरकारी पाइन्छ भनेर गृहणीहरू आउने गर्छन् तर कालीमाटीका लागि सबैभन्दा ठूलो समस्या भनेको मूल्य नै हो । बिचौलियाले पत्रपत्र गरेर मूल्य बढाउँछन् ।

फाइल तस्बिर ।

छैन मूल्यसूची
त्यहाँको मूल्य कसैको नियन्त्रणमा छैन । खुद्रा व्यापारी त्यहाँ पुग्दासम्म तरकारीको मूल्य के हुन्छ भन्ने थाहा हुँदैन । त्यहाँ ठूला व्यापारीलाई सोधपुछ गरेपछि मात्र थाहा हुन्छ । मूल्य थाहा नहुँदा कतिपय व्यापारी तथा उपभोक्ता ठगिएको देखिएको छ । सरकारले सबै पसल तथा होटलमा देखिने गरी मूल्यसूची राख्न अनिवार्य गरेको छ । तरकारी बजारमा मूल्यसूची नै नरहेको खबर गोरखापत्र दैनिकमा छ ।

कालीमाटीको गेटभित्र छिर्नेबित्तिकै कुन तरकारी कति मूल्यमा पाइन्छ भनेर जान्नै समस्या भएको दुखेसो सानेपाका खुद्रा व्यापारी विपीन केसीले गरे । न समितिले देखिने गरी कहीँ सूची राखेको छ न कुनै स्टलमा मूल्यसूची झुन्डिएको पाइन्छ, त्यसले गर्दा त्यहाँका व्यापारीले भनेकै मूल्यमा तरकारी किन्न बाध्य हुनुपरेको उनी बताउँछन् ।

कालीमाटी तरकारी बजारभित्र समितिको भवन छ । भवनमाथि मूल्यसूची प्रदर्शन हुने ठूलो बोर्ड छ तर त्यो दुई महिनादेखि बन्द छ । मूल्यसूची अद्यावधिक गर्ने बजार सहायक राजेश श्रेष्ठसँग मूल्यसूचीबारे जिज्ञासा राख्दा उनले आफ्नो मोबाइल खोलेर मूल्य देखाए । उनले भने, “फेसबुक, अनलाइनमा मूल्यसूची हेर्न सक्नुहुन्छ ।”

मूल्यसूची कसरी अद्यावधिक हुन्छ भन्ने जिज्ञासामा श्रेष्ठले बजारको अनुगमन गरी व्यापारीसँग सोधेर मूल्य तय हुने बताए । किसानको पहुँच तरकारी बजारसम्म छैन । व्यापारीले किसानकै खेतमा गएर तरकारी किन्छन् । ठूल्ठूला व्यापारीले किसानलाई कालीमाटी बजारको गेटभित्र छिर्नै नदिएको गुनासो छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खेमप्रसाद घिमिरे कालीमाटी तरकारी बजार किसान तथा उपभोक्तामुखी हुन नसकेको स्वीकार्छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार ०६:२२