१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दाजुभाइ हो भन्दैमा ‘जय नेपाल’ भन्नै पर्दैन र ?


१ फागुन, काठमाडौं । हिजो बुधबार माथिको तस्बिरले सामाजिक सञ्जालमा निकै चर्चा पायो । उसो त यो संयोग भए पनि चर्चा भएजति हुनु पर्थ्यो या पर्थेन यो अलग पाटो होला । तर चर्चा भने गज्जबले पायो ।

खासमा यो तस्बिरमा एकजनाले गलाभरि टन्नै माला लगाएर सलाम गरिरहेको देख्न सकिन्छ । अरु लहरै उभिएका छन् । ती लहरमा उभिनेमध्ये एकले एउटा हातमा माला समातेका छन् भने अर्को हातले आफूभन्दा सिनियर पुलिस अफिसरलाई सलाम गरिरहेका छन् ।

कुरो यत्ति हो । खासमा गलाभरि माला पहिरेर सलाम ग्रहण गरिरहेका नेपाल प्रहरीका नवनियुक्त आईजीपी ठाकुरप्रसाद ज्ञवाली हुन् । अनि त्यो माला समातेर सलाम गर्ने चाहिँ उनै ठाकुरका सहोदर भाइ श्याम ज्ञवाली हुन् । दुवै दाजुभाइ प्रहरी सेवामा ।

दाजु ठाकुरलाई सरकारले मंगलबार मात्र २७औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्‍यो । भाइ भने अहिले एसएसपी छन् । संगठनले नयाँ प्रमुख पाएपछि स्वागतका लागि लाममा उभिएका उच्चपदस्थ अधिकारीहरुले सलाम गर्नुलाई अनौठो मान्नुपर्ने कुनै कारण देखिँदैन ।

तस्बीरः गुगल सर्च ।

अनि एउटै संगठनमा दाजुभाइ हुनु हुँदैन भन्ने पनि त छैन । एउटै संगठनमा काम गरेपछि त्यहाँ दाजुभाइको नाता भन्दा पनि व्यावसायिक नाताले धेरै काम गरेको देखिन्छ । यो तस्बिर सार्वजनिक भएसँगै केही सञ्चारमाध्यमहरुले भाइसँग प्रतिक्रिया लिएर समाचार पनि बनाए ।

अनि दाइलाई जुनियर अफिसर भाइले सलाम गरेकोमा अनौठो ठाने । एसएसपी भाइ श्याम आफ्नै सहोदर दाजु संगठनकै नेतृत्वमा आउँदा खुसी हुनु त स्वभाविकै छ । उनले पनि आफूले बाल्यकाल स्मरण गरेको प्रतिक्रिया दिए ।

हुन पनि हो । आफ्नै संगठनको नेतृत्वमा दाइ आउँदा त्यही काम गर्ने भाइले ‘जय नेपाल सर’ त भन्नै पर्‍यो नि । अब घरमा जसरी खुट्टै ढोग्न नि भएन । श्याम र ठाकुर दाजुभाइ भए पनि काबिल अफिसर पनि हुन् । संगठनको नाता त सिनियर, जुनियर हुने नै भयो । घरमा पुगेपछि भने अर्कै कुरा ।

कुरो सामान्य छ : घरमा दाजुले भाइलाई गर्नुपर्ने आदर र कार्यालयमा गर्नुपर्ने आदर स्वभाविक रुपमै फरक हुन्छ नै । तसर्थ भाइले दाइलाई सलाम गरेकोमा भन्दा पनि एक सिनियर अफिसरले आफ्नो संगठनको नेतृत्वलाई सम्मान गरेको भनेर बुझ्दा वाञ्छनीय देखिन्छ ।

मंगलबार आईजीपीमा नियुक्त ठाकुरले बुधबार (हिजो) गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि पदभार सम्हाल्न प्रहरी मुख्यालय पुग्दा आफ्नै संगठनका उच्च अधिकृतबाट सम्मान पाएका हुन् । उसो महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत श्याम पनि भावी आईजीपीका दाबेदार हुन् ।

उता पूर्वआईजीपी सर्वेन्द्र खनालको बिदाइमा भने उनकै संगठनका उच्च अधिकृतहरुले बहिष्कारै गरे । केहीले त सामाजिक सञ्जालमार्फत दलालसम्म भन्न भ्याए । खनालको कार्यकाल निकै आलोचित रह्यो । चर्चामा आउन निकै रुचाउने खनाल राम्राभन्दा पनि विवादास्पद कुराले बढी चर्चामा आए । खासमा उनले न त समाजबाट न आफ्नै संगठनबाट प्रशंसा पाए । जाँदाजाँदै निकै आलोचनाको भारी खेपेर प्रहरी संगठनबाट बिदा भए । उनको अवकाश जीवनप्रति हाम्रो पनि शुभकामना ।

यो पनि छुट्यो कि ?

सर्वेन्द्र खनालको विदाइ बहिष्कार गरेका डिआइजी अधिकारीले भने ‘दलाल साम्राज्य मुर्दावाद’

प्रहरीमा फेरि पनि डीआईजीबाटै आईजीमा बढुवा ! प्रहरी संगठन अझै कमजोर बन्ने संकेत

लोकमानको लयमा प्रहरी प्रमुख सर्वेन्द्र खनाल

आईजीपी खनालको अर्को विदेश भ्रमण पनि सरकारले रोक्यो, चीन भ्रमण रोकिनुको यस्तो छ कारण

कलिला खुट्टामा जब प्रहरीको लाठी बर्सियो… (फोटो फिचर)

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार ०७:५१