१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदै


१ फागुन, काठमाडौं आजदेखि देशैभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु हुँदै छ । यसका लागि सबै तयारी पूरा भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सांकेतिक तस्बिर ।

दादुरा–रुबेलाविरुद्धको खोप ५ वर्षमुनिका हरेक बालबालिकालाई अनिवार्य लगाउनुपर्ने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । मन्त्रालयका अनुसार खोपसँग सम्बन्धित सम्पूर्ण सामग्री सम्बन्धित क्षेत्रमा पुगिसकेको छ । यस्तै खोप दिने स्वास्थ्यकर्मी तथा सबै स्वयंसेवकलाई पनि प्रशिक्षण दिइसकेको मन्त्रालयले जनाएको छ ।

सरकारले पहिलो चरणमा फागुन १ देखि ३० गतेसम्म एक महिना र दोस्रो चरणमा चैत १ देखि ३० गतेसम्म अभियान सञ्चालन गर्न लागेको परिवार कल्याण महाशाखाले जानकारी दिएको हो । महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवाका अनुसार पहिलो चरणमा फागुनभर प्रदेश १, २ र ५ का ३४ जिल्लामा र दोस्रो चरणमा प्रदेश ३, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लामा चैतभर दादुरा रुबेला खोप अभियान सञ्चालन हुनेछ ।

यस्तै तराईका १९ जिल्लामा जन्मेदेखि ५ वर्षमुलिका बालबालिकालाई पोलियो थोपासमेत खुवाइँदै छ । सरकारी योजनाअनुसार दादुरा र रुबेला ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई दिइँदै छ । दुई चरणमा गरी देशभरका ३० लाख बालबालिकामा यो खोप दिइने बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ ।

यस्तै जन्मेदेखि ५ वर्षमुनिका १५ लाख बालबालिकालाई पोलियो थोपा खुवाइँदै छ । खोप अभियानमा ९ हजार स्वास्थ्यकर्मी, १ लाख स्वायंसेवक परिचालन हुँदै छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार ०६:५६