२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

२२ माघ, कास्की सामान्यत: सागपात, तरकारी पकाएर खाने गरिन्छ । कुनै कुनै फलफूल तथा साग तरकारीको अचार पनि बनाउने गरिन्छ तर थोरै मात्रामा । फलफूल तथा सागपातलाई अचार बनाएर स्वेदशमै विदेशको भन्दा बढी आम्दानी गर्नसकिन्छ भन्ने उदाहरण पोखराका एक दम्पती बनेका छन् ।

आँप, करेला, अकबरे खुर्सानी, कोइरालो, तामा, सिप्लिकानका अचार मात्र बनाएर विगत २३ वर्षदेखि पोखरामा एक दम्पतीले नाम मात्र होइन, प्रशस्तै दाम पनि कमाउन थालेको खबर गोरखापत्र दैनिकमा छ । गुड्डु अचारको नामले पोखरामा अचार व्यवसाय गर्दै आएकी रञ्जना गुप्ताले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘मैले अमिलो अचार बेचेर मीठो आम्दानी गरिरहेकी छु । मेरो घर, व्यवहार यसै पेसाबाट राम्ररी चलेको छ ।’

२०५३ सालदेखि अचार व्यवसाय सुरु गरेको जानकारी दिँदै उनले सुरुका दिनमा ठेलाबाट व्यवसाय अहिले पोखराको पृथ्वीचोकमा दुईवटा पसलमा विस्तार गरेकी छन् । आफू र श्रीमान्‌ले तरकारी र फलफूलका अचार बनाउने र बिक्री गर्नमै व्यस्तता हुने गरेको उनले बताइन् ।

दैनिक कम्तीमा २० हजार रुपैयाँको व्यापार हुने गरेको र महिना एकदेखि डेढ लाख रुपैयाँसम्म चोखो कमाउने गरेको गुप्ताले जानकारी दिइन् ।

नवलपरासीको त्रिवेणीबाट आएर सुरुमा होटल गरे पनि होटलमा भन्दा अचार व्यवसायबाटै राम्रो आम्दानी देखेपछि अचार उत्पादनमा लागेको भन्दै उनका पति गणेश भन्छन्, ‘ठेलाबाट सुरु गरेको अचार व्यवसायले तीनवटा छोराछोरी लेखपढ गराए, छोरीको बिहे गरे अनि अहिले पोखरामा दुईवटा घडेरी जोडेको छु । यो अचारको व्यवसायले मलाई लखपति बनाएको छ ।’

पसलमा अचार किन्न आएकी पोखरा २ की सरस्वती अधिकारीले २० वर्षदेखि गुप्ताको पसलबाट अचार लाने गरेको बताइन् । अधिकारी मात्र होइन, पोखरा नयाँ बजार बस्ने जमुना पौडेल पनि गुड्डु अचार उद्योगका अचारका परिकार खाने बानी बसेको बताउँछिन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार ०६:४५