१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सरकारसँग डराएका सम्पादक भेलापारेर ओलीले भने ‘हाम्रो बोल्ने कुराको पनि संरक्षण गरिदिनुस्’


२१ माघ, काठमाडौँ । सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोज्यो भन्दै डराएका सम्पादकहरू भेला पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले  नआत्तिन अनुरोध गरेका छन । देशकै सबैभन्दा ठूलो पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वर्तमान सरकार प्रेसप्रति अनुदार नबनेको प्रष्ट पारे । उनले सरकार असहिष्णु छ भन्ने कुरा नै गलत भएको बताए ।

फाइल फोटो ।

प्रधानमन्त्रीसँगको भेटमा सहभागी भएका एक सम्पादकका अनुसार प्रधानमन्त्रीले सरकार असहिष्णु होइन र हुन सक्दैन भन्ने ठोकुवा गरे । सम्पादकहरूसँग प्रधानमन्त्रीले भने ‘कहिले कहिले मैले पनि भन्छु तपाईंहरु कति साह्रो असहिष्णु ? मैले केही भन्नै नपाउने तपाईंहरूलाई ?अरुलाई सहिष्णु हुनुपर्छ सुन्नुपर्छ सुन्नै नसक्ने भन्ने तपाईंहरुको राम्रो कुराको प्रसंसा गर्ने मुटु छैन भन्दाखेरि उत्पात मच्चाउने ? किन त्यस्तो अहिष्णुता ? अलिअलि तपाईंहरू पनि त सहिष्णु हुनुस् ।’

प्रधानमन्त्रीसँग फोटो खिचाउँदै बालुवाटारमा भेला भएका सम्पादकहरू । तस्बीरः राजधानी दैनिकका कार्यकारी सम्पादक सागर पण्डितको फेसबुक ।

सोहीक्रममा प्रधानमन्त्री ओलीले पत्रकारले चाहिँ जे पनि लेख्न पाउने अनि हामीले चाहिँ केही पनि भन्न नपाउन्ने भन्दै प्रतिप्रश्न गर्दै ओलीले भने ‘तपाईंहरूले लेख्न, छाप्न, भन्न हुने । व्यंगचित्र पनि बनाउन हुने, कविता पनि बनाउन हुने, लेख पनि लेख्न हुने जे पनि छाप्न हुने। अति नै पो गरे हो साथीहरूले भन्यो भने लौ उत्पात भयो भन्ने ! अलिअलि हामीले पनि भन्न पाउनुपर्छ। हाम्रो बोल्ने कुराको पनि संरक्षण गरिदिनुस् ।’ भेलामा सरकारसँग डराएका बाहेकका केही सम्पादहरूको समेत सहभागी रहेको थियो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार २२:३९