१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

‘छाउगोठको ढुंगा छुँदा देउता चढ्यो’


१७ माघ, अछाम सरकारले छाउगोठ भत्काउने अभियान थालेसँगै यतिबेला देशकै ध्यान सुदूरपश्चिमले तानेको छ । यतिबेला धमाधम छाउगोठहरू भत्काइँदै छ । जनप्रतिनिधिको अगुवाइमा स्थानीय प्रशासनसहितको समन्वयमा छाउगोठ भत्काउने अभियान चलिरहेको छ ।

अछाम सदरमुकाम मङ्गलसेनको आडैमा विरालतोली गाउँ छ । टमटा, ढोली, साउदलगायतको बसोबास रहेको यो गाउँका छाउगोठहरू गएको साता नै भत्काइसकिएको खबर गोरखापत्र दैनिकमा छ । वडाध्यक्ष पदमबहादुर भाटसहितको टोली विरालतोलीका धामी तुला ढोलीको घर पुग्दा उनी आँगनमा घाम ताप्दै थिए । आँगनछेउमै भर्खरै भत्काइएको छाउगोठको भग्नावशेष देख्न सकिन्थ्यो ।

भत्काइएको छाउगोठबारे प्रतिक्रिया लिन खोज्दा उनी एकाएक कामे । काम्दै आफूले छाउगोठको ढुङ्गा छुँदा देउता चढेको बताए । उनका परिवारले सोहीबखत केही अक्षता ल्याइदिए ।

‘‘हामी हजुरलाई अपमान गर्दैनौँ । हामी महिलाहरूको स्वास्थ्य र ज्यानको सुरक्षा मात्र गर्न चाहन्छौँ,’’ भनी वडाध्यक्ष भाटले आश्वस्त पारेपछि मन्त्र फलाक्दै वडाध्यक्षलाई सिन्दुरको टीका लगाइदिए । अनि बल्ल ८० वर्षीय ढोली शान्त बने । उनका छोरा हरिका अनुसार छाउगोठ भत्काएदेखि दैनिक उनी यसैगरी काँप्छन् । ‘‘हामीले सरकारको नियम नमान्ने भन्या हैनौँ तर मेरो परिवारलाई केही भए कसले जिम्मा लिन्छ ?’’ २८ वर्षीय हरिले वडाध्यक्ष भाटलाई प्रश्न गरे, ‘‘मेरा ८० वर्षका बुबाको ज्यान गए को जिम्मेवार हुन्छ ?’’

धामी झाँक्रीकै डर
वडाध्यक्ष भाटका अनुसार, महिनावारीका बेला महिलालाई छाउगोठमा राख्ने चलनले निरन्तरता पाउनुमा धामीझाँक्रीमा जनमानसको विश्वास एक महत्त्वपूर्ण कारण रहँदै आएको छ । महिनावारी हुँदा छोइछिटो भए देउता रिसाई अनिष्ट हुने अन्धविश्वासका कारण महिलालाई मूल घरबाहिर छुट्टै राख्ने चलन चलेको उनको भनाइ छ । अझ छाउगोठ भत्काउँदा धामीझाँक्रीको परिवारका सदस्यलाई अनिष्ट हुने विश्वास अछामबासीमा व्याप्त छ ।

छाउपडी शब्दमै हीनता
मङ्गलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय ‘छाउपडी’ शब्द नै परिवर्तन गर्नुपर्ने बताउँछिन् । ‘यो शब्दै कुरीतिको प्रतिबिम्ब जस्तो भयो । यसको सट्टा महिनावारी व्यवस्थापन भन्ने शब्द प्रयोग गर्नुपर्छ ,’’ उनले सुनाइन् ।  हिन्दु संस्कृतिमा महिनावारी हुने बेला महिलाले छोइछिटो गर्ने चलन जताततै छ, मात्र अन्यत्र महिनावारीका लागि छुट्टै घर बनाइँदैन । अछाममा छाउपडी नभई असुरक्षित खालका छाउघरहरू मुख्य समस्या रहेको उनको भनाइ छ ।

खुसी भए महिला
महिनावारी हुँदा महिलाले सफासुग्घर भई पोषिलो खाना खानुपर्ने स्वास्थ्यकर्मीको सल्लाह छ । यस्तो बेला यहाँका महिलाले भने न सुकिला घरमा बस्न पाएका छन्, न त दूध, दहीजस्ता पोषिला वस्तु खान पाएका छन् ।

अझ साँघुरा छाउगोठमा बस्दा सर्पले डस्ने, कठ्याङ्ग्रिने र निसासिएर महिलाको ज्यान नै गइरहेको छ । यस्तो नियतिबाट छुटकारा पाउने आशाले यतिबेला २१ वर्षीय कमला टमटा खुसी छिन् । ‘छाउगोठमा सर्प, जनावरको डर हुन्छ । सरकारले भत्काएपछि अब घरभित्रै बस्न पाउने भयौँ,’ उनले सुनाइन् ।

अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले पुस्तौँदेखि महिनावारी हुँदा असुरक्षित छाउगोठमा बस्दै आएका महिलाको अपार समर्थन पाएको बताए । गत मंसिर १५ गते साँफेबगर ३ की पार्वती रावतको छाउगोठमै ज्यान गएपछि संघीय सरकारले समेत चासो दियो । पुस ८ गते गृह मन्त्रालयले छाउगोठ नष्ट गर्न निर्देशनसहित जिल्लामा परिपत्र गरेको थियो । सोहीअनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको संयन्त्रले सर्वपक्षीय बैठक बसी छाउगोठ भत्काउने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

हालसम्म अछाममा करिब ५ हजार छाउगोठ भत्काइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसमध्ये सात सय जति छाउगोठ स्वस्फूर्त रूपमा भत्काइएको कार्यालयको तथ्यांक छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ०६:१४