१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको २० महिने खास उपलब्धि यस्तो छ


१३ माघ, काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयको नेतृत्व सम्हालेको २० महिना पूरा भयो । यही अवसरमा मन्त्री पोखरेलले गोरखापत्र संवादमा गरेको कुराकानीमा आफ्नो २० महिनाको खास  उपलब्धि बताएका छन । मन्त्री पोखरेलका अनुसार यी हुन उनका खास उपब्लधि ।

मेरो २० महिनाको कुरा गर्दा हामी सरकारमा आउँदा विद्यालय बाहिर तीन लाख १३ हजार बालबच्चा थिए । सबैलाई विद्यालय ल्याउने अभियान सुरु ग¥यौँ । अभिभावकत्व लिने अभियान चलायौँ । पहिलो वर्ष दुई लाख ५४ हजार बच्चा विद्यालय आए । बाँकी विद्यालय छाडेका ९१ हजार थिए । यो वर्ष घरधुरी सर्वेक्षण गरेर स्थानीय सरकारले विद्यालयमा बच्चा ल्याउनुपर्छ भन्यौँ । अहिले १२७ वटा पालिकाले त्यो अभियान चलाएका छन्, बाँकीले पनि चलाउने छन् । बालबच्चाले पढ्न पाउने अधिकारबाट कोही वञ्चित रहन नपरोस् भनेर भर्ना प्रक्रियासँगै विद्यालयमा टिकाउन दिवा खाजाको व्यवस्था गरेका छौँ । भर्ना गर्ने, सिकाउने र टिकाउनेमा हामीले ध्यान दिएका छौँ ।

अर्को उपलब्धि अस्थायी शिक्षाको समस्या समाधान हो । शिक्षक हुन ४० नम्बर ल्याउने व्यवस्था छ, त्यो ल्याउन नसक्नेलाई गोल्डन ह्यान्डसेकमा लग्यौँ । त्यसमा नौ अर्ब रुपियाँ खर्च भएको छ । प्राविधिक शिक्षा पनि उपलब्धि हो । ६०४ पालिकामा पु¥याएका छौँ । ७५३ मा यसै वर्ष पु¥याउने हाम्रो लक्ष्य छ ।

कृषि, बाली, पशुविज्ञान, कम्प्युटर साइन्स, प्राकृतिक चिकित्सा, जडीबुटी, योग पनि थपेर शिक्षा दिने काम भएको छ । योगका लागि अभ्यासपुस्तिका पनि तयार पारेका छौँ । चाँडै यो सार्वजनिक हुन्छ । गुणात्मक शिक्षाका लागि पाठ्यक्रम निर्माणको काम सुरु भएको छ । यो वर्षदेखि जीवनोपयोगी दस शिक्षा थपेका छौँ, यो पनि उपलब्धि हो । एकीकृत पाठ्यक्रम पद्धतिमा हामी गएका छौँ । पाठ्यक्रम मात्र बनाएर पनि हुँदैन ।

बच्चाहरूलाई सिकाउन लर्निङ कार्ड प्रणाली पनि सुरु गर्नुपर्छ । पाठ्यक्रमअनुसार न्यूनतम सिकाइ भयो कि भएन, महìवपूर्ण कुरा हो । गणितलाई १० सम्म अरू देशमा जस्तै अनि कक्षा ११ र १२ मा पुग्दा विद्यार्थीले नेपाल र विश्व बुझ्ने हुनुपर्छ भनेर ऐच्छिक बनाएका छौँ । मेरो अन्य उपलब्धि भनेको शिक्षा नीति र विज्ञान प्रविधि नीति लिएर आएँ ।

शिक्षालाई विज्ञान प्रविधिसँग लग्ने गरी जिम्मेवारीमा आएको छु । २० महिनाभित्रको सबैभन्दा बढी समय यसमै गएको छ मेरो । गत असोजमा विज्ञान, प्रविधि र नवप्रवर्तन नीति आयो । अर्को, नीति आए पनि विज्ञान परिषद्को बैठक बसेको थिएन । मैले त्यो बैठक बसाएर कार्ययोजना बनाएर काम थालेको छु । गणित र विज्ञानको स्तर ५० प्रतिशत माथि छैन । त्यसैले मैले ‘बेन्च मार्किङ’को कुरा उठाएको हुँ । विद्यालय शिक्षाबाटै यो अभियानका साथ अघि बढ्न जरुरी छ ।

नीतिले पनि विज्ञान प्रविधि विद्यालय स्तरबाटै अगाडि बढाउने जोड दिएको छ । कानुनी संरचनामा नीतिको आधारमा प्रवेश गरिरहेका छौँ । प्रामाणिक विधेयक यसैसँग सम्बन्धित छ, यो संसद्मा गएको छ । अनुसन्धान केन्द्र पनि खोल्ने क्रममा छौँ । कीर्तिपुरमा विज्ञान सङ्ग्रहालय पनि अहिले खोलेका छौँ । अनुसन्धानकर्ता विद्यार्थीलाई त्यो राम्रो हुन्छ । नास्टलाई पनि व्यवस्थित ढङ्गले अगाडि बढाएका छौँ । त्यसको पनि पुनर्संरचना गर्ने कि भन्ने बहस अगाडि बढाएका छौँ । हामी आएपछि नानो स्याटेलाइट अन्तरिक्षमा छाड्यौँ । युवा वैज्ञानिक सम्मेलन सम्पन्न गरेका छौँ । हर क्षेत्रलाई हामीले जोड दिएका छौँ ।

मेडिकल शिक्षालाई व्यवस्थित गर्न ऐन ल्यायौँ । त्यो कार्यान्वयनको प्रक्रियामा छ । ७५ प्रतिशत छात्रवृत्ति प्रत्याभूत गरेका छौँ । त्यो कार्यान्वयनको चरणमा छ । स्वास्थ्य शिक्षाका विविध विधालाई समेटेर अगाडि बढाएका छौँ । २०७२ सालमा मेडिकल सेक्टरमा एमबीबीएस र बीडीएसको शुल्क सरकारले निर्धारण ग¥यो तर बढी शुल्क उठाएको गुनासो आएपछि सञ्चालकसँग बैठक बसेर २०७४ पछाडिको बढी लिएको शुल्क फिर्ता गर्ने भन्यौँ, त्यो भएको छ । २०७२ देखि २०७४ अगाडिको शुल्क आयोगले निर्णय गर्ने भनेका छौँ । कलेजहरूले सरकारको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । भर्खर आयोग गठन भएर काम थालेको छ । ऐनले सिर्जना गरेको जटिलता पनि छन् । त्यसलाई पनि सल्टाउनु पर्नेछ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०९:३४