१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पर्यटकीय गन्तव्य बन्दै सहिद स्मारक


१३ माघ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका ११ मा रहेको सहिद स्मारकमा नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने अग्रजको सम्मानमा प्रजातान्त्रिक पार्क बनाइएको छ । पार्कमा प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालासहितका चार अग्रजको पूर्ण कदको सालिक पनि स्थापना गरिएको हो ।

तिनमा सर्वमान्य नेता एवं २०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंह, नेपाल कम्युनिस्ट आन्दोलनका अग्रज एवं संस्थापक पुष्पलाल श्रेष्ठ र पूर्वप्रधानमन्त्री एवं तत्कालीन नेकपा (एमाले) अध्यक्ष मनमोहन अधिकारको पूर्ण कदको सालिक छन् ।

राष्ट्रियता, लोकतन्त्र र जनताको जनजीविकाका लागि भएका आन्दोलनमा अग्रणी एवं नेतृत्वदायी भूमिका निर्माण गरेका चारै जनाको सम्मानमा स्मारक परिसरमा प्रजातान्त्रिक पार्क निर्माण गरिएको सहिद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिए । उनले भने, ‘स्मारक पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै आएको छ ।’

पार्कमा पानीको फोहरा, बगैंचा, विश्रामस्थललगायत संरचना बनाइएको खबर गोरखापत्र दैनिकमा छ । चारैजना प्रजातान्त्रिक आन्दोलनका अग्रणीको पित्तलको सालिक १५-१५ लाख रुपैयाँमा बनाइएको हो । पार्क निर्माणमा सङ्घीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागको ७५ लाख रुपैयाँ र सहिद स्मारकको आन्तरिक स्रोत गरी करिब डेढ करोड रुपियाँ खर्च भएको स्मारक विकास समितिले जनाएको छ ।

पार्कमा कात्तिकदेखि फागुनसम्म वनभोजका लागि आउनेको पनि धेरै रहने गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०६:४५