१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोरोना नियन्त्रणमा सरकारको तयारी, विमानस्थलमा ‘हाई अलर्ट’


१३ माघ, काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ ।

कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पुर्‍याइने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्कलाई सकृय बनाउँदै प्रत्येक नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको खबर राजधानी दैनिकमा छ ।

नेपाल भ्रमण आएका अमेरिकी नागरिकलाई ज्वरो आएपछि आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुर्‍याइएको थियो । ती नागरिक पुरुष रहेको र कोरोना भाइरसको आशंका गरिएको छ ।

हेल्थ डेस्क प्रमुख गोपाल पाण्डेका अनुसार ज्वरो आएपछि उनलाई शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याइएको हो । उनले भने, ‘हामी हाइअलर्टमा छौं । विमानबाट ओर्लेपछि बिदेशबाट आएका प्रत्येक नागरिकको स्वास्थ्य परीक्षण हुन्छ ।’

त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलको हेल्थ डेस्कमा ‘थर्मल स्क्यानर’ जडान गरिएको छ । हेल्थ डेस्कमा रहेको थर्मल स्क्यानरले जहाजबाट ओर्लेर एयरपोर्ट छिर्दै गरेका सबै यात्रुको ज्वरो परीक्षण गर्छ । शंकास्पद बिरामीलाई त्यहीँबाट छुट्टै एम्बुलेसमा राखेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइने गरिएको छ ।

सरकारले चीनबाट आएका र ज्वरो तथा रुघाखोकी देखिएका व्यक्तिलाई सिधै निगरानीका लागि सहिद शुक्रबार ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा लैजान थालेको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमितहरूको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई आवश्यक सबै तयारी गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले मन्त्री ढकाल र सचिव बरालसँग नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितहरूको उपचारको अवस्थाका सम्बन्धमा जानकारीसमेत लिएका छन् ।

वीर, त्रिवि शिक्षण, निजामती अस्पताल (सिभिल) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (सरकारीतर्फ) र निजीतर्फ नर्भिक अस्पताल, काठमाडौं मेडिकल अस्पताल लगायतलाई तयारी अवस्था रहन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०६:३०