१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेपालमा कोरोना भाइरस : संक्रमण पुष्टि नहुँदै डिस्चार्ज


१२ माघ, काठमाडौं । चीनको वुहानमा पीएचडी अध्ययनरत एकजना नेपाली गत पुस २० मा घर आएका थिए । ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि उनी पुस २८ मा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल गए ।

उनमा नोवल कोरोना भाइरसको संक्रमण भएको आशंका गरियो । आइसोलेसन वार्डमा राखेर उनको उपचार गरियो । त्यसपछि रगत र र्‍यालको नमुना परीक्षणका लागि हङकङ्स्थित विश्व स्वास्थ्य संगठनको कोलाबरेटिङ सेन्टरमा पठाइएको खबर कान्तिपुर दैनिकमा छ । नमुना परीक्षणमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो ।

पुष्टि भएको रिपोर्ट शुक्रबार आउँदा ती बिरामी डिस्चार्ज भइसकेका थिए । भाइरस संक्रमित आशंका गरिएका ती विद्यार्थीलाई नमुना परीक्षणकै बेला किन घर पठाइयो भन्ने प्रश्न यतिबेला टड्कारो बनेको छ । डिस्चार्जपछि उनी कहाँ–कहाँ घुमे, को–कोसँग सम्पर्कमा आए, के सरकारले उनको परिवार र उनी सवार विमानमा रहेका अन्य यात्रुको स्क्रिनिङ गर्‍यो जस्ता प्रश्न पनि आम मानिसमा उठेका छन् ।

कतिपयले ती विद्यार्थीलाई उच्च निगरानीमा राखिरहन नसक्नुलाई सम्बन्धित अस्पतालको लापरबाही भनेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७६, आईतवार ०७:५९