१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपालमा पनि कोरोना भाइरसका संक्रमित भेटिए


११ माघ, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको संक्रमण फेला परेको छ । झन्डै दुई साताअघि चीनको वुहान सहरबाट नेपाल आएका एक चिनियाँ नागरिकमा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमा यसबारे जनाएको हो । ‘वुहानबाट करिब दुई साता अघि एक विद्यार्थी नेपाल आएका थिए । उनलाई आफैं संक्रमणको आशंका लागेपछि शुक्रराज ट्रपिकल अस्पताल आइपुगे,’ अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले भने, “चार दिनसम्म निगरानीमा राखेर रगतको नमुना लिएर उनलाई घर पठाएका थियौं, एक सातापछि नमुनाको प्रतिवेदन आउँदा संक्रमणको पुष्टि भएको हो ।”

३१ वर्षीय ती विद्यार्थीको रगतको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । हङकङस्थित राष्ट्रिय प्रयोगशालाले रगत परीक्षणपछि उनमा संक्रमणको पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयले भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको जनाएको छ । बिरामीको सम्पर्कमा आएको हुनसक्ने व्यक्तिहरुको खोजी, पहिचान र परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।

“चीनको वुहान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षण विहीन रहेको र प्रत्येक्ष निगरानीमा रहेको जानकारी गराइन्छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छ । ती विद्यार्थीलाई सामान्य रुघाखोकी लागेर जनवरी ९ मा अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार ०६:०८