१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

ईपीएल : २-१ ले विजयी भएसँगै लिभरपुल उपाधिनजिक


१० माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलअन्तर्गत लिभरपुलले वुल्भ्सलाई २-१ ले पराजित गरेको छ । गएराति भएको खेलमा लिभरपुलले जित हासिल गरेसँगै लिगको उपाधिको नजिक पनि पुगेको छ ।

जितसँगै लिभरपुललाई उपाधितर्फको यात्रालाई थप सहज बनाएको छ । अवे मैदानमा भएको खेलमा लिभरपुलका लागि हेन्डर्सन र रोबर्टो फिरमिनोले गोल गरे । वुल्भ्सका लागि जिमेनेजले एक गोल फर्काए । आठौँ मिनेटमा हेन्डर्सनको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लियो ।

पहिलो हाफमा पछि परेको वुल्भ्सका लागि ५१औँ मिनेटमा जिमेनेजले बराबरी गोल गरे । तर फिमिनोले ८४औँ मिनेटमा गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए । यो जितपछि जर्गेन क्लोप्पको टिम लिभरपुलले १६ अंकको अग्रता कायम गरेको छ ।

शीर्ष स्थानको उसको २३ खेलबाट ६७ अंक भएको छ । एक खेल बढी खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ । यो सिजन लिगका २३ मध्ये २२ खेल जितेर अपराजित रहेको लिभरपुलले ३० वर्षपछि लिग उपाधि हत्याउने तयारीमा छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार ०८:२३