१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

उपत्यकाको सडक माघभित्रै सुधार


९ माघ, काठमाडौं । केही समययता उपत्यकाको सडकको अवस्थामा सुधार आइरहेको छ । सडकमा कालोपत्रे, रङरोगनसहित ट्राफिक चिह्नको निर्माणलगायत काममा सरकारी तीव्रता भइरहेको छ ।

फाइल तस्बिर ।

प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले उपत्यकाको सडकको अवस्थामा सुधारका लागि सरकार प्रयत्नरत रहेको र काममा तीव्रता दिएकाले सुधार हुँदै गएको बताए । अहिले सडकका खाल्डाखुल्डी पुर्ने, मुख्य सडकको कालोपत्रे गर्ने, रङरोगन तथा ट्राफिक चिह्न र लाइटको निर्माणले उपत्यकाको सडकको अवस्थामा देखिने गरी सुधार आएको उनले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँ उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्न र ट्राफिक व्यवस्थापन गर्न ‘टास्क फोर्स’ गठन गरी मंसिर १७ बाट काम सुरु गरेयता सडकको अवस्थामा सुधार आएको हो । कार्यालयका आर्थिक पूर्वाधार महाशाखाका प्रमुख सहसचिव छवि रिजालको संयोजकत्वमा ‘टास्क फोर्स’ गठन गरिएको छ ।

कार्यालयमा मंसिर ९ गते सम्पन्न चालू आव ०७६/७७ को चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ४ महिनामा काठमाडौँ उपत्यकाका सडकहरूको खाल्डाखुल्डी पुर्न भनेका थिए । निर्देशनबमोजिम सम्बन्धित निकायहरूसँग समन्वय गरी काम अगाडि बढाउन सो ‘टास्क फोर्स’ गठन गरिएको हो ।

सडकको खाल्डाखुल्डी पुरिनुका साथै व्यवस्थापनको कामलाई तीव्र साथ अगाडि बढाइएको थपलियाको भनाइ छ । उनले माघ मसान्तसम्म सङ्घीय सडकअन्तर्गत पर्ने उपत्यकाका सबै सडकमा खाल्डाखुल्डी पुरिने काम सम्पन्न हुने जानकारी दिए । “माघभित्र खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भए पनि त्यसपछि पनि यो प्रक्रिया निरन्तर चलिरहन्छ, अबका दिनमा खाल्डाखुल्डी पुर्ने काम निरन्तर प्रक्रियाका रूपमा अगाडि बढ्छ,” उनले थपे, “उपत्यकाका सडकमा अहिले दिनभरि खाल्डाखुल्डी पुरिने, ‘ओभर लेयर’ गर्ने र बेलुका सडक रङरोगन गर्ने काम भइरहेको छ ।”

सडक डिभिजन कार्यालय, काठमाडौँअन्तर्गत रहेका ९३ सडक (४०७ किमि), सडक डिभिजन कार्यालय, ललितपुरमा ३८ सडक (१८९ किमि) र सडक डिभिजन कार्यालय, भक्तपुरमा १९ सडक (१२२ किमि) सडक रहेको खबर गोरखापत्र दैनिकमा छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले काठमाडौँ उपत्यकामा सडक विभागअन्तर्गत रहेका सडकको खाल्डाखुल्डी पुर्ने काम यस महिनाभित्र सम्पन्न हुने गरी काम भइरहेको बताए ।

खानेपानीको पाइप चुहिएको र विभिन्न कारणले खन्नेबाहेकका ठाउँमा खाल्डाखुल्डी पुरिसक्ने उनले स्पष्ट पारे । उनका अनुसार उपत्यकाका सडकको करिब ७० प्रतिशत खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भइसकेको छ । अहिले दैनिक दुई सय वर्गमिटर खाल्डाखुल्डी पुर्ने काम भइरहेको सडक विभागले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार ०७:०४