१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आयोजनालाई पुर्जा बुझाउँदै प्रभावित


२९ पुस, धादिङ । सरकारले तोकेको मुआब्जाप्रति असन्तुष्टि जनाउँदै आएका धादिङ र गोर्खा बूढीगण्डकी डुबान प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा लिन आफ्नो जग्गाधनी पुर्जा आयोजनालाई बुझाउन थालेका छन् । अहिले आफूहरूलाई घाटा भए पनि देश विकासको अभियानमा आफूहरूले अवरोध गर्न नहुने भन्दै स्थानीयले मुआब्जाका लागि धनी पुर्जा दिन सुरु गरेका हुन् ।

मुआब्जा वितरणमा देखिएको समस्या सरकारले मुआब्जा सार्वजनिक गरिसकेपछि लम्ब्याउन नहुने प्रभावितले बताएका छन् । सरकारले मुआब्जा सार्वजनिक गरेसँगै बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणको कामले तीव्रता लिएको खबर गोरखापत्र दैनिकमा छ । गोर्खाको आरुघाट र धादिङको विशालटार, खहरेलगायतका मुख्य व्यापारिक केन्द्रमा पर्ने जमिनको मुआब्जा कम तोकेको प्रति असन्तुष्टि जनाउँदै त्यस क्षेत्रका स्थानीयले विरोध गर्दै आएका थिए ।

बूढीगण्डकी आयोजनासँग स्थानीयले मुआब्जास्वरूप पाएको रकमको पुँजीगत लाभ कर नलिन आग्रह गरेको र सोहीअनुसार केन्द्रमा सिफारिस गरेको आयोजनाका प्रमुख कृष्णबहादुर कार्कीले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजना मानिएको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका क्रममा असन्तुष्टि जनाउँदै आएका गोर्खा र धादिङ जिल्लाका स्थानीयको ३ हजार कित्ता जमिनको मुआब्जा रकम वितरण गर्न बाँकी रहेको थियो ।

मुआब्जा वितरण हुन बाँकीमध्ये गोर्खाका ६० प्रतिशत र धादिङका करिब ३५ प्रतिशत जग्गाधनीले मुआब्जाका लागि जग्गाधनी पुर्जा आयोजनामा बुझाई निवेदन दिएका छन् । धादिङको २ हजार कित्ता र गोर्खाको हजार गरी ३ हजार कित्ता जमिन छ । बूढीगण्डकी जलविद्युत् आयोजनाले ५८ हजार रोपनी जमिन अधिग्रहण गर्नुपर्ने डीपीआरमा उल्लेख छ ।

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार ०६:५६