१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

स्पेनका संस्कृतिमन्त्रीद्वारा पर्यटकीय स्थलको भ्रमण


२६ पुस, पर्वत । स्पेनका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेडोन्डोको नेतृत्वमा लुम्बिनी फाउन्डेसनका पदाधिकारीसहितको टोलीले पर्वतका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाइरहेका बेला राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित स्पेनी मन्त्री नुरियाको टोलीले जिल्लाको सबैभन्दा उचाइमा रहेको कालाञ्जर क्षेत्र र एसियाकै ठूलो महाशिलाको अवलोकन गरेको हो ।

फाइल तस्बिर ।

उनीहरुले यी क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार कालाञ्जर क्षेत्रमा आएको टोलीले केही समय त्यहाँको अवलोकन गरी पुनः महाशिला पुगेको हो । पर्वतको मोदी गाउँपालिका १, डाँडाकमेरेमा हेलिकोप्टरमार्फत आएको टोलीले उक्त क्षेत्रको सुन्दरता अवलोकन गरेको छ । सो अवसरमा स्थानीय मगर, गुरुङ, ब्राह्मण, दर्जी समुदायले आ–आफ्नो संस्कृति झल्कने गरी प्रस्तुतिहरु राखेका थिए । स्पेनका जनप्रतिनिधि र व्यवसायीको टोलीले हिमालको सुन्दर दृश्यको आनन्दसमेत लिएका थिए ।

मोदी गाउँपालिकाले व्यवस्थापन गरेको उक्त अवलोकन भ्रमणका अवसरमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सन् २०२० मा अपेक्षा गरेभन्दा पनि बढी बाह्य पर्यटक भित्र्याउन  अन्तर्राष्ट्रिय समुदायको ठूलो भूमिका रहेको बताए । उनले यस्ता अवलोकन भ्रमणले पर्यटकीयस्थलको अन्तरराष्ट्रियस्तरमा समेत प्रचार हुने बताउँदै संस्कृतिमन्त्री नुरियालाई त्यस देशका नागरिकलाई नेपाल घुम्नका लागि आह्वान गरिदिन आग्रह गरे । –रासस

प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०८:३४