२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

सरकारी अस्पतालमा शौचालयको कन्तविजोग


२६ पुस, काठमाडौं । कुनै पनि सङ्क्रमण र रोग फैलन नदिन अस्पतालका शौचालय सबैभन्दा व्यवस्थित हुनुपर्छ । तर उपत्यकाका सरकारी अस्पतालमा गएर शौच गर्न जाने नै निराश हुन्छन् ।

कतिपय सरकारी अस्पताल यति दुर्गन्धित र फोहोर हुन्छन्, त्यहाँ जाँदा नाक थुन्नुपर्छ । शौचालयमा कतै पानी छैन, कतै चुकुल छैन, बत्तीको व्यवस्था छैन । कतिपय अस्पतालका शौचालयमा प्लास्टिक, पानीका बोतल, खैनी, सुर्ती र चुरोटका खोल र अन्य फोहोरले भरिएका छन् । अस्पतालको शौचालयभित्र पस्दा शौच होइन, वान्ता आउने खालका छन् । अस्पताल आउने सेवाग्राही भन्छन्, ‘‘शौचालय त कन्तविजोगै देखियो ।’’

वीरकै विजोग
नेपालकै सबैभन्दा पुरानो र सरकारको प्राथमिकतामा परेको अस्पताल हो महाबौद्धस्थित वीर अस्पताल । वीरमा देशभरिबाट दैनिक दुई हजार पाँच सय बिरामी उपचारका लागि आउने गर्छन् । तर सरकारको सबैभन्दा जेठो र प्राथमिकतामा रहेको यही वीर अस्पतालमै शौचालयको अवस्था नाजुक रहेको खबर गोरखापत्र दैनिकमा छ ।

वीर अस्पतालमा रहेका शौचालयमा गएर दिसा वा पिसाब गर्न सक्ने अवस्था छैन । विगतमा पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री हुँदा वीर अस्पतालको शौचालयबाट सरकारी अस्पतालको सुधार अभियान थालेकी थिइन् । अहिले त्यही वीर अस्पतालमा रहेको शौचालयमा गएर दिसा, पिसाब गर्न सक्ने अवस्था छैन ।

वीर अस्पतालमै एकतलामाथि रहेको पुरुष शौचालयमाथि फोहोरको थुप्रो छ । शौचालयमा पानी आउँदैन, प्लास्टिक र खैनीका खोल प्रशस्त छन् । यस्तै पिसाब फेर्ने ठाउँभन्दा माथि पान खाएर थुकेको छ । शौचालय दुर्गन्धित छ । वीर अस्पतालमा नेपालभरिबाट उपचार गर्न बिरामीहरू आउने गर्छन् ।

उस्तै कथा-व्यथा
वीर अस्पताल सबैभन्दा ठूलो अस्पताल हो । प्रतिनिधिका रूपमा वीरलाई लिन सकिन्छ । तर वीरजस्तै अन्य सरकारी अस्पतालको दुर्दशा यस्तै छ । नरदेवीस्थित आयुर्वेदिक अस्पतालको शौचालय पनि त्यस्तै दुर्गन्धित छ । त्यहाँ पनि दिसा, सिसाका टुक्रा, प्लास्टिक रहेकाले शौच गर्न सक्ने स्थिति छैन । शौचालयमा पानी आउँदैन ।

भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा रहेको शौचालयको अवस्था पनि त्यस्तै हो । त्यहाँ फोहोरको डङ्गुर छ । शौचालयमा दुर्गन्ध फैलिएको छ । पान, पराग, खैनी, सुर्तीका टुक्राहरू भेटिन्छन् । दूधपाटीस्थित भक्तपुर अस्पतालमा रहेको शौचालय गइनसक्नु छ । पानीका बोतलहरू, प्लास्टिक र अन्य फोहोरले गर्दा दुर्गन्धित छ ।

कान्ति बाल अस्पतालको शौचालय पनि फोहोरले भरिएको छ ।शौच गर्न नगइनहुने व्यक्ति मात्र कान्ति अस्पतालको शौचालयमा पस्ने गर्छन् । कान्तिको शौचालय देख्दैमा घिन लागेर आउने खालको छ । नाक थुनेर पिसाब फेर्नुपर्ने अवस्था छ ।

पैसा तिर्नुपर्ने बाध्यता
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेका सबै शौचालय दुर्गन्धित छन् । गन्हाएर शौच गर्ने अवधिसम्म पनि बस्न सकिँदैन । बालरोग विभाग छेउमा रहेको शौचालयमा शौच गर्न जाने हो भने पिसाबको एक र दिसाको दुई रुपैयाँ लिइन्छ । खुद्रा पैसा छैन भन्दै पाँच रुपैयाँ लिने गर्छन् । त्यो पाँच रुपैयाँले एक दिनभरि पिसाब गर्न आउनुस् न भन्दै पठाइन्छ ।

सुधार शौचालयबाटै : प्रवक्ता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अस्पताल सुधार गर्न सबैभन्दा पहिले शौचालयमा सुधार गर्नुपर्ने बताए । उनले शौचालयबाट दुर्गन्ध फैलने भएकाले त्यहीँबाट रोग फैलन सक्छ । अन्य सङ्क्रमण फैलिई महामारी हुने खतरा भएकाले शौचालय सफा गर्नुपर्ने हुन्छ । तर नेपालका सरकारी अस्पतालहरूको शौचालयको अवस्था साह्रै कहालीलाग्दो छ ।

अस्पताल प्रशासनले जसरी हुन्छ शौचालय सफा गर्नुपर्छ भन्ने सेवाग्राहीको माग छ । अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल सरसफाइ गर्न सरकारी अस्पतालको शौचालयबाटै सुधार गर्नुपर्छ भनेर अभियान थालिने प्रवक्ताको भनाइ छ ।

प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०६:१५