२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

अस्ट्रेलियाका प्रधानमन्त्रीले किन मागे माफी ?


५ पुस, काठमाडौं अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सार्वजनिक रुपमा आफ्ना जनतासँग माफी मागेका छन् । उनले न्यु साउथ वेल्स क्षेत्रमा आगलागी भइरहँदा आफू पारिवारिक भ्रमणका क्रममा रहेको भन्दै एक वक्तव्यमार्फत माफी मागेका हुन् ।

शुक्रबार बिहान जारी वक्तव्यमा क्षमायाचना गर्दै उनले आफू भ्रमण रद्ध गरी स्वदेश फर्किन लागेको समेत उल्लेख गरेका छन् । न्यु साउथव वेल्समा आगलागी भइरहेको र नियन्त्रणको प्रयास विफल भएको भन्दै उनको भ्रमणप्रति सार्वजनिक आलोचना भएपछि प्रधानमन्त्री मोरिसनले माफी मागेका हुन् ।

राजधानी सिड्नीमा रहेको प्रधानमन्त्रीनिवासअघि प्रदर्शनकारीहरुले जलवायु परिवर्तनबारे तत्काल कदम चाल्न प्रधानमन्त्री मोरिसनलाई आग्रह गर्दै बिहीबार प्रदर्शन गरेका थिए ।

अस्ट्रेलियामा प्रधानमन्त्रीले जनवरीमा बिदा लिने चलन रहे पनि उनले यसपटक डिसेम्बरमै बिदा लिएका हुन् । जनवरीमा जापान र भारतको भ्रमण गर्ने तालिका रहेकाले डिसेम्बरमै बिदा लिएको मोरिसननिकट स्रोत उल्लेख गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अस्ट्रेलियाका विभिन्न क्षेत्रमा लागेको आगो निभाउन अग्निनियन्त्रक परिचालित छन् । कम्तीमा सयभन्दा बढी ठाउँमा फैलिएका डढेलो निभाउन उनीहरुले संघर्ष गरिरहेको अधिकारीहरुले जनाएका छन् । सिड्नीको दक्षिण-पश्चिममा डढेलो नियन्त्रणका लागि खटिएका २ अग्निनियन्त्रकको मृत्यु भइसकेको छ ।

सेप्टेम्बरदेखि अहिलेसम्म भएका डढेलोका कारण अस्ट्रेलियामा ८ जनाको मृत्यु भइसकेको छ । ७ सयभन्दा धेरै घर जलेका छन् । –एजेन्सी

प्रकाशित मिति : ५ पुष २०७६, शनिबार ०७:५८