१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रदेश ४ मा १ अर्बको बजेट प्रस्तुत


१९ वैशाख, पोखरा । प्रदेश नं ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आजको प्रदेशसभा बैठकमा चालु आर्थीक बर्ष २०७४÷७५ को बाँकी अवधिका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका छन् ।

प्रदेशसभामा बजेट प्रस्तुत गर्दै मन्त्री गुरुङले बजेटले प्रादेशिक संरचनाको प्रबन्ध मिलाउने, प्रदेशमा लगानीमैत्री वातावरण तयार गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, गरिबी निवारण गर्ने र भौगालिक तथा सामाजिक सन्तुलनसहितको प्रादेशिक विकास गर्ने गरी पाँचवटा उद्देश्य निर्धारण गरेको जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार पर्यटन क्षेत्रको विकास र विस्तार, ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धन, कृषि क्षेत्रको व्यावसायिकीकरण र औद्योगिकीकरण, औद्योगिक क्षेत्रको विकास र विस्तार, भौतिक पूर्वाधारको निर्माणलाई बजेटले प्राथमिकताको रुपमा लिएको छ ।

नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानका रुपमा प्राप्त हुने एक अर्ब दुई करोड पाँच लाख रुपैयाँ बजेटको स्रोत भएको उल्लेख गर्दै उहाँले पूँजीगततर्फ रु ५४ करोड एक लाख ५२ हजार र चालुतर्फ रु ४८ करोड तीन लाख ७५ हजार रहेको बताए ।

बजेटमा तीन गाउँलाई नमूना पर्यटकीय गाउँ बनाउने उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका लागि सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देश पर्यटन वर्ष र सन् २०२२ लाई अन्तर्रा्ष्ट्रियस्तरको पोखरा भ्रमण वर्ष तयारीका लागि बजेट व्यवस्था मिलाइएको उल्लेख छ ।

ढोरपाटन, मनाङ, चुम–नुब्री उपत्यका, कवचेताल कोरी–ठूल्कोट र देउचुली–बरचुली महाभारत शृङ्खलालाई पर्यटकीय क्षेत्रका रुपमा विकासका लागि गुरुयोजना निर्माणको व्यवस्था मिलाइएको छ ।

काठमाडौँ–पोखरा–लुम्बिनीलाई बुद्ध स्वर्णीम त्रिकोणका रुपमा विकास गरी बौद्धमार्गी पर्यटकलाई आकर्षण गर्न छिमेकी प्रदेशसँग समन्वय र सहकार्य गर्ने बजेटमा भनिएको छ ।

उज्यालो प्रदेश अभियानलाई सार्थक बनाउन स्थानीय तह, नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय गरी अबको दुई वर्ष्भित्र बिजुली नपुगेका क्षेत्रमा विद्युतीकरण गर्न रु एक करोड विनियोजन गरिएको छ ।

प्रत्येक गाउँपालिकामा ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ स्थापनाका लागि कार्य्विधि निर्माण गर्ने व्यवस्था मिलाउने, संघ र स्थानीय तहसँगको सहकार्यमा प्रदेशका एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्रामको स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि रु एक करोड विनियोजन गरिएको छ ।

शहीदको स्मृतिमा आधुनिक र कलात्मक शहीद पार्कको गुरुयोजना तयार गरी निर्माण कार्यारम्भ गर्न रु ५० लाख छुट्याइएको छ भने बहुसांस्कृतिक ग्राम निर्माणको गुरुयोजना तयार गर्न रु २० लाख विनियोजन गरिएको छ ।

कोरला–पोखरा र पोखरा–भिमाद–डेढगाउँ हुँदै दुम्कीवास जोड्ने गरी प्रदेश गौरवको आयोजनाका रुपमा सडक निर्माणका लागि अध्ययन तथा विस्तृत आयोजना प्रतिवेदन तयार गर्न रु ४० लाख बजेट विनियोजन गरिएको मन्त्री गुरुङले बताए ।

स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेका फेवाताल–बेगनासताल–रुपाताल ‘कनेक्टिभिटी’का लागि ‘मनोरेल’ सञ्चालनको सम्भाव्यता अध्ययनका लागि रु २० लाख छुट्याइएको छ ।

प्रदेशभित्रका सडक सञ्जालसँग नजोडिएका क्षेत्रलाई जोड्ने पुल निर्माणको सम्भाव्यता अध्ययन तथा विस्तृत आयोजना प्रतिवेदन तयार गर्न रु एक करोड बजेट प्रस्ताव गरिएको छ ।

प्रदेशको मुख्य प्रशासनिक केन्द्र, प्रदेशसभा सचिवालयको अत्याधुनिक र सुविधा सम्पन्न प्लाजा निर्माणका लागि रु छ करोड विनियोजन गरिएको छ । त्यस्तै प्रदेशका सरकारी आवास निर्माणका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।

बजेट तर्जुमा गर्दा बाल, युवा, लैङ्गिक, ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री हुने योजना तथा कार्यक्रमलाई विशेष जोड दिएको बताउँदै मन्त्री गुरुङले प्रदेश विपद् व्यवस्थापन कोष, आकस्मिक कोष र युवा लक्षित चुनौती कोष स्थापनाका लागि रु एक÷एक करोड छुट्याएको जानकारी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०७५, बुधबार २१:०४